शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

कोरोनाले जिल्ला अदालतमा सेवा कटौती

कोरोनाले जिल्ला अदालतमा सेवा कटौती


  • ढोरपाटन संबाददाता
  • माघ १४ २०७८, शुक्रबार

बागलुङ/ जिल्ला अदालत बागलुङमा न्यायाधीशसहित अधिकांश कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सेवा प्रभावित भएको छ । अधिकांश कर्मचारी बिरामी परेपछि कार्यालय आउनै नसक्ने भएपछि अदालतबाट प्रवाह हुने सेवाहरु कटौती गरिएको हो ।

मुद्दाका पक्षहरु धेरै स्थानबाट आउनुपर्ने भएकोले सेवा कटौती गर्नुपरेको एक कर्मचारीले बताए । सेवा कटौती भएपछि उच्च अदालत बार एसोसिएसन बागलुङले अत्यावश्यक सेवा प्रवाहका लागि सुझाव दिएको थियो । सोही अनुसार अदालतमा थुनछेक, म्याद थप, बन्दी प्रत्यक्षीकरण, मुद्दा दर्ता र चालु मुद्दाको मिलापत्र गराउने तथा पक्राउ पुर्जी जारी गर्ने लगायतका काम भने नियमित गर्न सुझाएको अध्यक्ष अखिलनाथ शर्माले बताए ।

न्यायाधिस उपस्थित नभएपछि सामान्यतया बहसपैरवी नहुने भएकोले कतिपय मुद्दा माघ महिनाभरि रोकिने छन् । ‘अधिकांस कर्मचारी बिरामी भएपछि बारको सल्लाह मागेर सेवा रोकिएको हो,’ शर्माले भने, ‘अत्यावश्यक सेवा भने केही कर्मचारी बसेर चल्नेछन् ।’ त्यसका लागि पनि खोप कार्ड अनिवार्य गरिएको उनले बताए ।

यसअघि बागलुङकै मालपोत कार्यालय पनि बन्द छ । सार्वजनिक सूचना टाँसेर कार्यालय बन्द भएको कार्यालय प्रमुख देवेन्द्र थापाले जानकारी दिएका थिए । मालपोतमा पनि धेरै कर्मचारीमा एकैपटक कोरोना संक्रमण देखिएको थियो ।

कोरोना संक्रमणकै कारण बागलुङ नगरपालिकाका केही कर्मचारी, नेपाल विद्युत प्राधिकरणको वितरण केन्द्रसहितका केही कार्यालयमा पनि केही सेवा प्रभावित भएको छ । अत्यावस्यक सेवालाई भने ती कार्यालयले वैकल्पिक व्यवस्था गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयले पनि सेवा कटौती गरेर दुई दिन दुई पालिकाको सेवा गर्ने प्रबन्ध मिलाएको छ । बुर्तिबाङमा रहेको इलाका प्रशासनबाट पनि चार पालिकामध्ये एक दिन दुइवटा पालिकाको दरले मात्रै सेवा पाउने व्यवथा गरिएको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->