बागलुङ/ जैमिनी संस्कृत आधारभूत पाठशालामा अध्ययनरत बटुकहरुका लागि न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ । जैमिनी नगरपालिका–२ दमेकमा रहेको पाठशालाका विद्यार्थी (बटुक)हरुलाई हिन्दु जागरण युएईले न्यानो कपडा र शैक्षिक सामग्री सहयोग गरेको हो । युएईमा रहेका नेपाली युवाहरुले हिन्दु जागरण अभियान सञ्चालन गरेर संकलित रकमबाट विद्यालयका विद्यार्थीको लागि सहयोग रकम पठाएका थिए ।
तत्काल आवश्यकता रहेको न्यानो कपडा र स्टेशनरी सामग्री उक्त रकमबाट खरिद गरिएको विद्यालयका प्रधानाध्यापक दिपक न्यौपानेले बताए । ‘एक सेट ज्याकेट र कपी कलम वितरण गरियो, यहाँ त ठुलो समस्या छ’, न्यौपानेले भने ‘टाढा टाढाका विद्यार्थी छन्, आवासिय सुविधा दिनुपर्छ स्रोत छैन्, दाताकै भरमा चलिएको छ ।’ हिन्दु जागरण युएईले २५ हजार रुपैयाँ पाठशालाका लागि पठाएको थियो ।
‘हामिले यो वा त्यो भनेर सहयोग गरेका हैनौं, जे आवश्यकता थियो सोही उपलव्ध गराउनु भनेका थियौं’ हिन्दु जागरण युएईका सदस्य काशिराम पौडेलले भने, ‘यो सुरुवात हो, जन्मभुमीको पाठशालालाई हामि थप सहयोग गर्दै जानेछौं ।’ कक्षा तीनसम्म अध्ययन हुने पाठशालामा संकृत, नेपाली र अंग्रेसी भाषामा पठनपाठन हुन्छ । देशभरबाट २३ जना बालकहरु यो विद्यालयमा पठनपाठनका लागि बसेका छन् ।





