बागलुङ/ सुत्केरी भएर साल अड्किएकी बागलुङको वडिगाड गाउँपालिकाकी एक सुत्केरीको हवाइ उद्धार गरिएको छ । वडिगाड गाउँपालिका वडा नं. ३ सिसाखानीकी २६ बर्षिया सीता सामलको हवाइ उद्धार गरिएको हो ।
सोमबार बिहान १ बजे सुत्केरी भएकी सामलको साल अड्किएपछि दगातुन्डाँडा स्वास्थ्य चौकीमा कार्यरत राधा गिरी र दिपक थापा बिरामीको घरमा पुगेर उपचार गरेका थिए । स्थानीय स्वास्थ्यकर्मीको प्रयास असफल भएपछि उनलाई हेलिकप्टरमार्फत पोखरा पठाईएको हो ।
वडिगाड गाउँपालिकाको समन्वयमा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश, स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रलेले उनको उद्धार गरेको हो । रातको समय सडकमा रहेको हिउँले यातायातमा समस्या भएकोले सुत्केरीलाई घरमै राखी राती सवा चार बजेमात्रै स्वास्थ्यकर्मीलाई खबर गरेको परिवारले जनाएको छ । उनलाई मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।





