बागलुङ/ नेपालको एकमात्रै शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा हिउँले कठ्याङ्ग्रीएर एक रतुवा (मृग)को मृत्यु भएको छ । शिकार आरक्ष क्षेत्रको माथिल्लो बुकी तथा जंगल क्षेत्रमा बाक्लो हिमपात भएपछि जाडो छल्न ढोरपाटन उपत्यका झरेको रतुवो हिउँमा फसेर मरेको हो ।
ढोरपाटन शिकार आरक्ष कार्यालयको उत्तरतर्फको जंगलमा मृतक रतुवा हिउँले पुरिएको अवस्थामा भेटिएको आरक्ष कार्यालयले जनाएको छ । उद्धार गरेर उपचार गर्ने क्रममा मृग मरेको ढोरपाटन शिकार आरक्ष केन्द्रका रेन्जर सुपुष्प रेग्मीले जानकारी दिए ।
हिउँमा फसेको अवस्थामा कुकुरले मृग फेला परेको थियो । मृत मृगलाई खाडलमा पुरिएको छ । मृत भाले मृग करिब एक बर्षको थियो । शिकार आरक्षको बुकी क्षेत्रमा बाक्लो हिउँ पर्ने हुँदा माथिल्लो क्षेत्रमा रहने जंगली जनावर जाडो छल्न ढोरपाटन उपत्यकामा झर्छन् ।
तल्लो क्षेत्रमा झरेको बेला हिउँ पर्दा जंगली जनावर चिसोको कारण मर्ने गरेका छन् । लामो समय हिउँ नपग्लिए पछि कतिपय जनावर भोकको कारण पनि मर्छन । अत्याधिक हिमपात र चिसोले ढोरपाटन क्षेत्रको जनजीवन प्रभावित बनेको छ । शिकार आरक्ष जाने बुर्तिवाङ–ढोरपाटन शिकार आरक्ष केन्द्र सडक खण्डको सुप्राङदेखि ढोरपाटन उपत्यकासम्मको खण्ड पूर्णरुपले अवरुद्ध बनेको छ ।





