बागलुङ/बागलुङको गलकोट नगरपालिकाले नगर प्रहरी भर्ना प्रक्रिया सुरु गरेको छ । नगरका योजना कार्यान्वयनका बेला देखिने सुरक्षा समस्या र सार्वजनिक सम्पत्तिको रेखदेख तथा संरक्षणका लागि नगर प्रहरी गठन गर्न थालिएको हो ।
गतबर्ष नै नगर प्रहरी गठन सम्बन्धि ऐन तयार गरेको नगरले चालु आर्थिक वर्षमा कार्यान्वयनमा ल्याएको हो । बागलुङका दश स्थानीय तहमध्ये नगर प्रहरी भर्ना गर्ने गलकोट तेस्रो नगरपालिका हो । नगरले तत्कालका लागि दुई जना जवान नियुक्त गर्ने सूचना अधिकारी तुलबहादुर बिकले बताए ।
प्रहरी भर्नाका लागि नगरपालिकाले सार्वजनिक सूचना गरेको छ । ऐन अनुसार प्रहरी नियुक्त गर्न सकिने भएपनि नगरको स्रोतका आधारमा तत्कालका लागि सुरुवात मात्रै गर्न लागिएको हो । अहिले नियुक्त भएका प्रहरीले कार्यालय र सार्वजनिक सम्पत्तिको संरक्षणको काममा लाग्ने छन् । ‘कार्यालयमा भीड लाग्दा व्यवस्थापन गर्नेसमेत कोही छैन्, कहिलेकाहीँ अनावश्यक मान्छेले दुःख दिन्छन्’, नगरप्रमुख भरत शर्मा गैरेले भने ‘ठूला समस्या आउँदा नेपाल प्रहरी छ, स–साना समस्या त हाम्रो प्रहरी पनि सक्रिय रहन सक्छ ।’
यसअघि बागलुङ र ढोरपाटन नगरपालिकामा नगर प्रहरी गठन गरिएको थियो । जिल्लाको पुरानो नगरपालिका बागलुङले पहिलेको नगर प्रहरीमा पुनरसंरचना गर्ने भनेको छ । ‘हामीलाई नगर प्रहरी नहुँदा कतिपय नीतिगत निर्णयहरु कार्यान्वयनमा समस्या थियो, कार्यालयकै सुरक्षासमेत कस्ले गर्ने ?’ नगरप्रमुख गैरेले भने, ‘नगरका हरेक काममा सघाउन प्रहरी आवश्यकता रहेछ, त्यसैले हामीले गठन प्रक्रिया थाल्यौं ।’
नेपाल प्रहरीले नगरभित्रको शान्ति सुरक्षामा सहयोग गर्ने भएपनि नगरका कतिपय काममा नेपाल प्रहरीलाई सहयोग माग्न नसकिएको उनले बताए । ‘गत वर्ष हामीले घरको नक्सा पाससम्बन्धी कानून ल्यायौं तर कार्यान्वयनका बेला चुनौती आए, कम्तिमा खोजी गर्न, सचेत गराउन प्रहरी हुँदा सहज हुन्थ्यो’, गैरे भन्छन् ‘सडकमा फोहोर गर्ने, सडकमै व्यापार गर्नेलाई नगरभन्दा कर्मचारीलाई टेरेनन्, आफ्नै प्रहरी भएपछि सहज हुने भो ।’
आफ्नो कार्यकाल सकिने बेला नियुक्त भएका प्रहरीले आउँदो निर्वाचनबाट आउने पदाधिकारी र कर्मचारीलाई सहज हुने गैरेले बताए । ‘हामीले भोगाइबाट पाठ सिकेर यो सबै काम गरिरहेका छौं’, उनले भने ‘कम्तिमा थिति बसाल्न सहयोग पुग्छ ।’ नगरले स्रोत साधन बढाएर प्रहरी संगठनको आकार ठूलो बनाउने उनले बताए ।





