बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

जैमिनीमा बने १२ स्तरीय सडक

जैमिनीमा बने १२ स्तरीय सडक

विरामी हुँदा सवारी साधन पाइयो भने नागरिक खुसी हुँदा रहेछन् ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २ २०७८, सोमबार

बागलुङ/ चार वर्षअघिसम्म नगरपालिका कार्यालयदेखि वडा कार्यालयहरु पुग्न कठीन थियो । स्वास्थ्य चौकी र विद्यालयहरु रहेको स्थानमा पनि जोखिम मोलेर हिँड्नुपर्ने अवस्थालाई जैमिनी नगरपालिकाले चार वर्षमा चिर्न सकेको छ ।
नगरपालिकादेखि सबै वडा कार्यालयहुँदै त्यहाँका विद्यालय र स्वास्थ्य संस्थामा अहिले सवारी साधन चढेर सजिलै पुग्न सकिन्छ । ‘भैपरी आउने समयमाबाहेक अब कुनैपनि वडा र स्वास्थ्य संस्थामा सजिलो बाटो पुगिन्छ’, जैमिनीका योजना अधिकृत प्रेमप्रसाद सापकोटाले भने, ‘जनप्रतिनिधि आएपछिको योजना र लक्ष्यले सफलता मिलेको हो।’ जनप्रतिनिधि आउनुअघि नगरपालिकामा २ सय ४७ किमी कच्ची सडक थियो । चार वर्षमा १ सय ३१ किमी नयाँ ट्रयाक खोलेर झण्डै ३ सय किमी स्तरीयसमेत बनाइएको सापकोटाले जानकारी दिए ।
यी सडकको संजाललाई पालिकाले दीगो सडक योजनाको नाम दिएको छ । ‘नगरपालिकाभित्रका १२ सडक संजाललाई दीगो सडकको नाम दिएका हौं, सबै वडामा एकएक र भूगोलले अप्ठ्यारो परेका दुई वडामा थप एक÷एक सडक छन्’, नगरप्रमुख इन्द्रराज पौडेलले भने,‘कालीगण्डकी लोकमार्गमा पनि सहज पहुँचको व्यवस्थापन पुगेको छ ।’ ग्रामीण सडकबाट लोकमार्गमा पहुँच पुग्दा बर्षात्मा ग्रामीण सडकमा कुनै समस्या भएपनि सहज सदरमुकाम र अन्य सहरी क्षेत्रमा जान सकिने बनाइएको उनले बताए । नगरपालिकाले वडा नंं ७ जैदी र वडा नंं १० राङखानीलाई थप एक÷एक वटा सडक थपेको हो ।

कुश्मीसेरादेखि राङखानी, नाम्दुकहुँदै बरेङ जाने सडक भने रणनीतिक सडकमा सूचिकृत छ । यो सडकलाई कालोपत्रे गरेर गुल्मीसम्म जोड्ने गण्डकी प्रदेश सरकारको बजेट र कार्यक्रममा समेत उल्लेख छ । उक्त खण्डमा भने प्रदेश सरकार सँगको साझेदारीमा नगरपालिकाले पनि केही लगानी गरिसकेको छ । त्यसबाहेक सुन्तलाचौर दमेकहुँदै गाजाको दह जाने सडक, बेलबगरदेखि छिस्तीको वडा कार्यालय, स्वास्थ्यचौकी तथा केवै, जैदिको बोर, जैदी र धुल्लु तर्फका सडक, कुश्मीसेरादेखि बिनामारे अर्जेवा र सर्कुवातर्फका सडक स्तरीय भएका हुन् ।

‘व्याडथलासम्म पुग्ने सडक स्तरीय छ,अहिले सजिलै आउजाउ गर्न सकिएको छ’, इन्जिनियर विवेक सापकोटाले भने, ‘हामीले कामलाई बिदाको दिन,कार्यालयभन्दा बाहिरको समय भनेका छैनौं, नियमित गरेकोले केही सुधार देखिएको हो ।’ ग्रामीण सडकका कतिपय घुम्तीलाई ढलान गरेर बर्षातमा नभत्कने बनाइएको उनले बताए ।

सदरमुकामदेखि कुश्मीसेरा पुग्ने सडककै अवस्थाले ग्रामीण बस्ती झनै अव्यवस्थित रहेकोमा नगरपालिका बनेपछि ग्रामीण सडक सुधारमा केन्द्रीत भएको हो । ‘नगरप्रमुखज्यूले घोषणा गरे अनुसार सबै स्वास्थ्य संस्था र विद्यालयमा सहज सडक लैजाने योजना लगभग पूरा भएको छ’, प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले भने, ‘बिरामी पर्दा उपचारमा आउजाउ भयो भने मानिसले विकास भएको अनुभव गर्ने रहेछ ।’ यी आयोजनालाई नगरले हरेक वर्ष प्राथमिकतामा राखेकै कारण स्तरीय र दीगो सडक बनेको उनले बताए ।
कालीगण्डकी करिडोर र बागलुङ कुश्मीसेरा सडकतर्फ भने विकासे कार्यालयहरुको ध्यानाकर्षण गराएको पौडेलले जानकारी दिए । ‘हाम्रो कार्यक्षेत्र परेन, तरपनि ध्यानाकर्षण गरेर बर्षातमा कुनै यात्रीले दुःख नपाउने बनाउन भनेका छौं’,उनले भने,‘केही स्थानमा काम पनि भएका छन्, अब काम होला ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->