बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

इन्धन घटाउन बायोमास

इन्धन घटाउन बायोमास

कुकाठ पेलेर बनाइने बायोमास आगो र ग्यासभन्दा पनि चर्को बल्छ ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १० २०७८, मंगलबार

बागलुङ/ बागलुङ नगरपालिका १ मा रहेको मनसुन दालमोठ उद्योगमा चाहिने इनधनको डिजेल र बिद्युत खपतमा केही महिनादेखि कमी आएको छ । उनले काम थोरै गरेर इन्धन खपत घटेको होइन ।

उद्योगले इनधनका लागि जंगलमा पाइने कुकाठहरु संकलन गरेर बनाइने बायोमास प्रयोग गर्न थालेकोले खपत घटेको हो । मासिक साढे तीनलाख रुपैयाँको इनधन प्रयोग गरेको यो उद्योगले अहिले झण्डै डेढ लाखसम्म कम गर्न सकेको छ । मकै भुट्ने, दालमोठको बेसन पकाउनेसहितको सबै काम तीन महिनादेखि बायोमासले गर्न थालिएको संचालक यामप्रसाद कंडेलले बताए ।

यो बनाउन जंगल, खरवारी र घरवरपर पाइने कुकाठहरु संकलन गरेर धुलो बनाइन्छ । फर्निचरहरुमा खेर गएको काठका टुक्रा र धुलो पनि प्रयोग हुन्छ । उक्त कच्चा पदार्थलाई विशेष प्रकारको मेसिन मार्फत टुक्रा बनाएपछि इनधनको रुपमा प्रयोग हुन्छ । ‘धुवाँ पनि नहुने, आगो र ग्यास भन्दा चकिलो बल्ने भएकोले इनधन खपत घटाएको छ’ कंंडेलले भने, ‘यो सबैले प्रयोग गर्दा आयात घटाउन सकिने रहेछ ।’ वनको डढेलो अन्त्य गर्नपनि यो विधि उपयोगी हुनेछ ।
उनले बागलुङमै बायोमास पेल्ने मेसिन ल्याउन सकिने बताए । त्यसकालागि करोड खर्च हुन्छ । संकलनका लागि ट्रयाक्टरजस्तो मेसिन पनि चाहिन्छ । जिल्ला भित्रका अन्य उद्योग, व्यवसायले पनि इन्धनको रुपमा बायोमास चलाउने योजना बनाएमा मेसिन भित्र्याउन सकिने उनले बताए । हाल गैंडाकोटमा रहेको मेसिनमा पेलेर उक्त बायोमास ल्याउने गरिएको छ । केही महिनादेखि कंडेलले यो प्रयोग गर्न थालेपछि इनधनको खपत घटेको हो । यो बायोमास बाल्दा धुँवा कम हुन्छ । साथै आगो र ग्यासभन्दा पनि चर्को बल्ने भएकोले कामसमेत छिटो भएको उनले अनुभव सुनाए ।

बायोमासकालागि बन ऐनहरु बाधक हुन सक्ने उनको कथन छ । कुकाठ भएपनि वनले रोक्ने चलनले यो उद्योग चलाउन कठीन हुने उनले बताए । ‘कुन तहको काठ उपयोग गर्दा ऐन बाधक नहुने भन्ने व्यवस्थापन गर्न सकेमा यो अभियान सफल हुन्छ’, उनले भने, वनजंगलमा कुहिन लागेका काठदेखि खेतबारीमा हुर्केका कुकाठको सदुपयोग गरेर इन्धन बनाउन सकिन्छ ।’यसरी इन्धन बनाउँदा झाडी बढेर खेती नभएको स्थानमा पनि सहज खेतीपाती उब्जाउन सकिन्छ ।

काठेखोला गाउँपालिका र बलेवा क्षेत्रमा अघिल्ला वर्ष सुरु भएको झाडी र अग्लारुख फाड्ने अभियानबाट निस्केका धेरै काठहरु दाउरामा समेत प्रयोग भएनन् । घरघरमा ग्यास बाल्ने चलनले ती दाउरा समेत कुहिएर गएको स्थानीयले बताउ । ‘दाउरा सबै कुहिएर जान थालेका छन्, घर वरिपरिनै जंगल भैसकेको छ’, काठेखोला गाउँपालिका ८ का सूर्यप्रसाद कंडेलले भने, ‘प्रयोग नहुने कारणले जंगल बढ्यो, जंगलले चितुवा र बाँदरको आतंक बढीरहेको छ ।’ ती सबै आतंक कम गर्न अनावश्यक रुख फडानी गर्नुपर्ने उनले बताए । ती रुख फडानी गरेर त्यसै छाड्दा आगोलागिको खतरासमेत हुने गर्छ । बायोमास बनाउन सकेमा आगोलागिको प्रकोप समेत कम गर्न सकिने उनले बताए ।

कंडेलले दालमोठ उद्योगमा दालमोठ भुट्ने, मकै भुट्ने र ठूलो चुल्हो बनाएर काम गर्नुपर्ने सबै स्थानमा बायोमास प्रयोग गर्न थालिसकेका हुन् । उनले होटल क्षेत्रमा यो बढी उपयोगी हुने बताए । ‘धेरै खाना बनाउने स्थान, आगो ताप्ने जस्ता काममापनि यो उपयोगी छ’, उनले भने, ‘अब सबै मिलेर बायोमास भित्राएर वातावरण पनि सफा राख्नुपर्छ ।’

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->