बागलुङ/ बालविवाह गरेका युवालाई प्रहरीले कारवाही प्रकृया अगाडि नबढाइ छाडेको भन्दै मानव अधिकार संगठन जिल्ला शाखा बागलुङले प्रशासनको ध्यानाकर्षण गरेको छ ।
संगठनका अध्यक्ष लक्ष्मीदेवी जिसीले प्रमुख जिल्ला अधिकारी रमेश ढकाललाई ध्यानाकर्षण पत्र बुझाइन् । बडिगाड गाउँपालिका ५ का २७ वर्षीय यामबहादुर थापाले १५ वर्षकी बालिका विवाह गरेको र पछि कारवाही बिनै घर पठाइको घटनाको संगठनले विरोधसमेत गरेको छ ।
यस अघि अर्कै युवतीसँग लिभिङ टुगेदरमा बसेको र ती युवती विदेश गएपछि बालिका विवाह गरेको घटना सार्वजनिक भएपछि प्रहरीले थापालाई पक्राउ गरेको थियो । दुइ दिनमै उनलाई प्रहरीले घर पठाइदिएको हो । थापासँगै पक्राउ परेकी ती बालिकालाई पनि प्रहरीले हिरासतमै राखेको थियो । ‘बालिकालाई हिरासतमा राख्न मिल्दैन, तर प्रहरीले राखेर अभिभावकको जिम्मा भन्दै घर पठाइदियो’,जिसीले भनिन्, ‘कारवाही नगरि ती युवा घर फर्कन पाउने कुरा राम्रो भएन ।’ कानूनतः २० वर्ष नपुगी विवा गर्न पाइदैन । गरेमा गर्ने गराउनेलाई कारवाही हुन्छ ।
विदेशमा रोजगारीकालागि गएकी युवतीका आफन्तले सू्रचना दिएपछि गत साता थापा पक्राउ परेका थिए । ‘बहुविवाह गरेकोलाई त कानूनी सजाय छ, बालविवाह गरेकोलाई केही नहुनु दुर्भाग्य हो’, जिसीले भनिन्, ‘प्रशासनको ध्यानाकर्षण गरेका छौं, अब केही हुन्छ कि ?’ प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले भने ती युवा र बालिका दुवैलाई घरपरिवारको जिम्मा लगाएको दावी गरे । ‘उनीहरुले विवाह गरेको भन्ने आयो, बालिका कम उमेरको भएकोले अभिभावकको जिम्मा लगायौं’, पल्लीमगरले भने, ‘कानूनी उपचारकालागि अदालत जान्छौं भनेकोले प्रहरीमा राख्नु परेन ।’ अधिकारकर्मीले भने बालविवाह गरेकोले पहिला थुनेर मात्रै कुरा सुन्नुपर्ने प्रावधान प्रहरीले नमानेको टिप्पणी गरे ।
थापाले विवाह गरेको प्रमाण नभएकोले दोश्रो विवाह भएको भन्न नसकिने पल्लीमगरले दावी गरे । ‘ती महिला पनि छोराछोरी भएकी विधवा रहिछन्, सँगै बस्थे भन्नेमात्रै थाहा भयो, प्रमाण भेटिएन’, उनले भने,‘प्रहरीले अनुसन्धान गरिरहेको छ, प्रमाणबिना कसैलाइ थुन्ने कुरा भएन ।’ बालविवाहको विषयमा पनि प्रमाण नभेटिएको उनले दावी गरे । हाल विदेशमा रहेकोले उनको सम्बन्ध समेत के हो भन्ने अन्यौल भएको पल्लीमगरले बताए ।
‘प्रमाण भेटेपछि कारवाही गर्न सकिन्छ, नत्र केही गर्न नसकिने देखेरै छाडेका हौं’, उनले भने, ‘कानून विपरीत भएका कामको निगरानी र कारवाहीमा भने हामी प्रतिवद्ध छौं ।’ बालिकालाई संरक्षण गरेर राख्ने अधिकारकर्मीको योजनासमेत असफल भएको छ । ती बालिकालाई अभिभावकले लगेपछि काउन्सिलिङको पाटोसमेत बन्द भएको जिसीले जानकारी दिइन् । बालिकालाई प्रभावित गरेर परिवारका सदस्यसमेतले प्रमाण नष्ट गर्ने प्रयन्त भएको अधिकारकर्मीको टिप्पणी छ ।





