बागलुङ/ संसदबाट एमसिसी पारित गरेको बिरोधमा नेत्र बिक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र दुई मोर्चाले सोमबार गरेको नेपाल बन्दको प्रभाव बागलुङमा समान्य देखिएको छ । आइतबार नेकपाको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको ६ दल र दुई मोर्चाको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा संसदबाट एमसिसी पारित गरेकाले विरोध स्वरुप नेपाल बन्दको आयोजना गरेको उल्लेख थियो ।
बन्दको प्रभावले बागलुङबाट लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् । ग्रामिण क्षेत्रबाट सदरमुकाम आउजाउ गर्ने सवारी साधनसमेत रोकिएका छन् । बागलुङ बजारमा पैदलयात्रीहरु यत्रतत्र भएपनि पसल भने कम खुलेका छन् । सोमबार बिहानैदेखि नेपाल प्रहरी र ससस्त्र प्रहरीले बजार क्षेत्रमा गस्ति बढाएको छ ।
नेपाली जनताको विरोध र संघर्षको बाबजुद एमसिसी संसदबाट पारित गर्न देउवा सरकार र संसदमा भएका मुख्य राजनैतिक दलहरु लागेको विरोधमा नेपाल बन्दको घोषणा गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा नेपाल कम्युनिष्ट पार्टीका महाचिव विप्लव, नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंह, नेकपा (क्रान्तिकारी माओवादी) का महामन्त्री मोहन वैद्य, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कटटेल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका संयोजक आहुति र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकीले हस्ताक्षर गरेका छन् ।





