पोखरा – तनहुँ प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहलाई बयानका लागि मंगलबार तनहुँबाट गैँडाकोट लगिएको छ । प्रहरीका अनुसार गैँडाकोटमा पनि शाहविरुद्ध उजुरी परेकाले अनुसन्धानका लागि त्यहाँ लगिएको हो ।
उनलाई एक/दुई दिन गैँडाकोटमा राखिनेछ । अनुसन्धानका लागि शाहविरुद्ध पहिलोपटक सात र दोस्रोपटक १२ दिनको म्याद थप भएको छ । शाहको मुद्दा प्रक्रिया भने तनहुँबाट अगाडि बढिरहेको छ । बयानपछि मिसिलसँगै उनलाई गैडाकोटबाट फेरि तनहुँमै पठाइनेछ ।
नाबालिग गायिकाले एउटा गीतको छायांकनका क्रममा गत वर्ष चैत ७ गते गैँडाकोटको एक होटेलमा पलले आफूमाथि बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैंडाकोटमा उजुरी दिएकी थिइन् । त्यसअघि उनले जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् ।





