बागलुङ/ जलवायु परिवर्तनका कारण ग्रामीण क्षेत्रको कृषि उत्पादनमा ह्रास आएको सरोकारवालाले बताएका छन् । उनीहरुले जलवायु परिवर्तनले नेपालका अधिकांस क्षेत्रमा असर परेपनि कृषि र पशुपालन क्षेत्र बढी प्रभावित भएको बताए ।
विश्व खाद्य कार्यक्रम र गण्डकी प्रदेशको योजना आयोगले बुधवार बागलुङमा आयोजना गरेको एक अन्तरक्रिया तथा पुनरुत्थानशिलता विश्लेषण तथा जिविकोपार्जन सम्बन्धी विस्तृत अध्ययन कार्यक्रमका सहभागिले खाद्य सुरक्षाको चुनौती बढेको समेत बताए ।
उनीहरुले बेमौषमी वर्षात् बढेको, हिउँदमा वर्षात् नभएको जस्ता कारणले उत्पादनमा ठूलो संख्याको ह्रास आएको बताए । ‘जलवायु परिवर्तनले अति बिपन्न क्षेत्रका किसानहरु बढी मारमा परेका छन्’ भूमि व्यवस्था मन्त्रालयको खाद्य सुरक्षा हेर्ने अधिकारी बिष्णु आचार्यले भने, ‘धेरै चिसो र गर्मी हुनेले जलवायु परिवर्तनको असर हो ।’ जलवायु परिवर्तनले नेपालमा खाद्य सुरक्षा कमजोर भएको उनले बताए ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक महेश खरेलले जलवायु परिवर्तनले नेपालको जिविकोपार्जनमै असर गरेको बताए । उनले खाद्य क्षेत्रमा परेको संकट टार्न नेपालले कार्यक्रम तय गर्न लागेको समेत बताए । केही क्षेत्रमा भएको अध्ययन र केही क्षेत्रमा शुरु भैरहेको अनुसन्धानले पनि नेपालको खाद्य सुरक्षामा असर परेको देखिएको र सो क्षेत्रमा लगानी बढाउनुपर्ने देखिएको बताए ।
अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले किसानको उत्पादन घढ्दो दरमा रहेको, बेसाहा खाने चलन बढेको र युवा पलायन बढेको बताए । उनले गाउँमा रोजगार सिर्जना हुने कार्यक्रम ल्याएर युवा पलायन रोक्न नसके खाद्य सुरक्षाको ठूलो संकट आउने टिप्पणी गरे ।
जिल्ला कृषि सहकारी संघका अध्यक्ष नरबहादुर थापाले समयमा मल र बीउ नपाउने र हाइब्रिड बीउले लोकल उत्पादन विस्थापित गरेको बताए । यो क्रम रोकेर स्थानीय उत्पादन बढाउने र किसानलाई अनुदान दिएर कृषि क्षेत्रबाटै आत्मनिर्भर हुने बाटो रोज्नुपर्ने बताए । सहकारीहरुले कृषि क्षेत्रमा केही लगानी गरेपनि राज्यले लगानी नबढाएको, स्थानीय तहको कृषि र पशुविकास शाखामा कर्मचारी नै नभएको उनको गुनासो थियो ।
कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराइले कृषि क्षेत्रमा अनुदान र अनुसन्धान निरन्तर हुनुपर्नेमा लामो समय खाली हुँदा खाद्य सुरक्षाको चुनौती अझै बढेको बताए । उनले किसानलाई नियमित खाद्यसुरक्षाको ज्ञान दिने र अति बिपन्न परिवारहरुमा अनुदान मार्फत उत्पादन बढाउने कार्यक्रम लयउनुपर्ने धारणा राखे ।
जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाको अध्यक्षता, समन्वय अधिकारी कृष्णराज गौतमको संचालनमा सम्पन्न कार्यक्रममा विश्व खाद्य कार्यक्रमका यज्ञ पुन र मन्त्रालयका बिष्णु आचार्यले कार्यपत्र प्रस्तुती करण गरेका थिए ।
यो अध्ययनबाट भेटिएका समस्या समाधान र खाद्य सुरक्षाकालागि योजना आयोग, मन्त्रालय र विश्व खाद्य कार्यक्रमबाट आवस्यक नीति र कार्यक्रम तय गर्ने लक्ष राखिएको आचार्यले जानकारी दिए ।





