बागलुङ/ नेपाल भ्रमण बर्ष सन् २०२० घोषणा हुँदा बागलुङका पर्यटकीय क्षेत्रको व्यापक प्रचारप्रसार भयो । बागलुङमा नेपाल भ्रमण वर्षमा हजारौं पर्यटक भित्राउने लक्ष थियो तर कोरोना महामारीका कारण देश प्रभावित हुँदा बागलुङ पनि स्वभाविक हिसाबले प्रभावित भयो ।
राज्यको पुनःसंरचना पछि पहिलोपटक स्थानीय तहमा आएका जनप्रतिनिधि अधिकांशको मुख्य एजेण्डा बनेको पर्यटन प्रबद्र्धनमा सहयोगी बन्दै गरेको नेपाल भ्रमण बर्षमा कोरोना महामारी बाधक बन्यो । दुई वर्षको अन्तरमा कोरोनाका बिभिन्न भेरियन्टले असर परेको बागलुङको पर्यटन क्षेत्र पुन जुर्मुराउन थालेको छ ।
बागलुङ कालिका, पञ्चकोट, शालग्राम संग्रहालय, गलकोट स्थित मुर्तिकला कार्यशाला, ढोरपाटन शिकार आरक्ष, गाजाको दह र हाँडिकोटको टापुमा भरीभराउ पर्यटक देखिन थालेका छन् । ‘आन्तरिक पर्यटनका लागि गाजाको दहमा यसबर्ष गुराँस महोत्सवनै भयो’, जैमिनी नगरपालिकाका उप–प्रमुख लीला रानाले भने,‘कोरोना मथ्थर भएपछि पर्यटन प्रवद्र्धनको सुरुवात भएको छ ।’
जैमिनीकै हाँडिकोट टापुमा यस वर्षको फागूपूर्णिमा मनाउन सयौं युवा पुगे । गुराँस फुलेर सिंगारिएको हाँडिकोटले लामो समय पछि आन्तरिक पर्यटक पायो । ‘साथीसँग मिलेर होली खेल्न हाम्रो रोजाइ बन्यो हाँडिकोट’, जैमिनी नगरपालिकाका लक्ष्मण पौडेलले भने ‘सहरका पार्टी प्यालेसमा पुगेर गर्ने खर्च बच्यो, आफ्नै ठाउँमा गुराँससँग होली खेलियो ।’
बागलुङ नगरपालिकाले आयोजना गरेको बृहत स्वास्थ्य शिविरको उद्घाटन गर्न बागलुङ आएका राष्ट्रियसभाका अध्यक्ष गाणेश प्रसाद तिमिल्सिनाले पञ्चकोट, शालग्राम संग्रहालय र बागलुङ कालिका भगवती घुमेर फर्किए । लुम्बिनी गार्डेन फाउण्डेसनको सहयोगमा भएको शिविरमा आएका स्पेनका ९ जना चिकित्सकलाई पनि यहाँका पर्यटकीय क्षेत्र घुम्न यस पटक कोरोनाले छेकेन् । संसारकै लामो दावी गरिएको बाङ्गेचौर अदुवारी झोलुंगेपुल पुगेका स्पेनी नागरिक त लामो पुल देखेर दंग परे । पुलमा बिदाको दिन सयौं र अरु दिनहरुमा पनि धेरै पर्यटक पुग्ने गरेका छन् ।
बागलुङका बिभिन्न कार्यक्रममा सहभागी हुन बागलुङ आएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार ढोरपाटन शिकार आरक्ष घुमे । बागलुङ बजारदेखि ढोरपाटनसम्म पुगेका पोखरेलले गलकोट, बडिगाड, काठेखोला र बागलुङ नगरभित्रका अधिकांश पर्यटकीय क्षेत्र घुम्न भ्याए । उनले प्रदेशको समृद्धिसँग ढोरपाटन शिकार आरक्षलाई जोड्नुपर्ने बताए ।
शुक्रबार बाग्लुङका विभिन्न कार्यक्रममा सहभागी हुँदै उनँले नेपालको एकमात्र सिकार आरक्षका रुपमा रहेको ढोरपाटन स्वदेमा मात्रै नभएर विदेशमा पनि चासो र चर्चा पाएको स्थल भएकाले यसलाई प्रदेशको समृद्धिसँग जोड्नुपर्ने बताएका हुन् । तर, कुन कार्यक्रमले समृद्धि आउने भन्ने खुलाएनन् । संघिय सरकारको स्वामित्वको ढोरपाटनमा समृद्धिको योजना ल्याउने अधिकार पनि संघमै छ ।
फागुनको दोस्रो साता यता बागलुङका बिभिन्न पर्यटकीय स्थल र घरबासहरुमा देखिएका पर्यटकहरुले फेरी पर्यटन क्षेत्र जुर्मुराई रहेको संकेत गरेका छन् । ‘लामो समय हामिले हात बाँधेर बस्यौं, अब त्यो दिन नआओस्’, अतिथि सत्कार सामुदायिक होमस्टेका सञ्चालक यामबहादुर थापाले भने ‘कोरोनाले थला परेको व्यवसाय अब फेरी उठ्ने तयारीमा छ ।’ यहाँका सबै स्थानीय तहले पर्यटकीय क्षेत्रको पुनःउत्थानका लागि लगानी र वातावरण तयार गर्नुपर्ने सर्वसाधारणको माग छ ।





