बागलुङ/सदरमुकाम बागलुङ बजारदेखि प्रसिद्ध कालभैरव मन्दिर बलेवा जाने सडक कालोपत्रे सुरु भएको छ । बागलुङ नगरपालिका वडा नम्बर १३ को काभ्राबोटदेखि जलुकेनीसम्मको साढे तीन किलोमिटर सडक कालोपत्रे सुरु भएको हो ।
सडक कालोपत्रे गर्ने कामको सोमबार प्रतिनिधिसभा सदस्य डा. सूर्य पाठक र बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले शुभारम्भ गरे । नेपाल सरकारको समपुरक अनुदान र बागलुङ नगरपालिकाको साझेदारीमा तीन बर्षअघिदेखि स्तरोन्नती सुरु भएको सडक कालोपत्रे हुने भएको हो ।
तीन किलोमिटर एक सय ६१ मिटर सडक साढे पाँच मिटर लामो सडक कालोपत्रे गर्न लागिएको हो । सडक स्तरोन्नतीको जिम्मेबारी पाएको रौताहा कन्ट्रक्सन प्रालिले चैतको अन्तिम सातासम्म सबै काम सकेर सडक हस्तान्तरण गर्ने जनाएको छ ।
‘अघिल्लो बर्ष नै हामीले यो सडक कालोपत्रेका लागि आवश्यक पूर्वाधार तयार गरेका थियौं, पहिले कोरोना र बाढीका कारण काम गर्न सकेनौं’ कम्पनीका साईड इन्चार्ज सुशिल लामिछानेले भने ‘चैत मसान्तसम्मको समय छ, हामीले काम सकेर हस्तान्तरण गछौं ।’ ६०÷४० को साझेदारीमा निर्माण भैरहेको सडकका लागि तीन बर्षमा क्रमागत रुपमा ९ करोड रुपैयाँ बजेट बिनियोजन भएको थियो । निर्माण कम्पनीले ६ करोड ९ लाख रुपैयाँमा काम गरिरहेको छ ।
‘निर्माण कम्पनीको काम गर्ने तरिका हेर्दा तोकिएको समयमा काम सकिन्छ, गत बर्ष कोभिड र बाढीका कारणले समय थप भएको हो, यो बर्ष थप गर्न नपर्ला’ बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेल भन्छन् ‘एकै पटक नगरको समेत साझेदारीमा एकै ठाउँमा तीन किलोमिटर लामो सडक कालोपत्रे हुन थालेको यो पहिलो सडक हो ।’
धार्मिक पर्यटकीय क्षेत्र भैवस्थानलाई बागलुङ बजारसँग कालोपत्र सडकले जोड्ने योजनाअन्र्तगत यो सडकको स्तरोन्नतीको काम भैरहेको हो । ‘दैलोको बाटो कालोपत्रे हुँदै छ, यो बलेवाबासीका लागि खुसीको कुरा हो’ स्थानीय उमानाथ शर्माले भने ‘समयमा काम सके निर्माण कम्पनीलाई हामी सम्मान गछौं ।’
गत बर्ष तयार भएको ग्राभेल सडक र आसपासमा लगाईएको पर्खाल असार १ गतेको भीषण बाढीले कालीगण्डकीमा मिसाईदिएको थियो । यो खण्डमा झरेको पहिरोका कारण लामो समय सडक अबरुद्ध भएको थियो । सडक मर्मत गरेर कालोपत्रे गर्न थालिएको निर्माण कम्पनीका प्रतिनिधि लामिछानेले बताए ।
सडक कालोपत्रे भएपछि भैरवस्थान, मुलाबारी, भकुण्डे भ्यूटावर लगायतका पर्यटकीय क्षेत्रमा पुग्न सहज हुनेछ । पाग्जादेखि भैरवस्थानसम्म बिभिन्न खण्डहरुमा स्तरोन्नतीको काम भैरहेकाले बाँकी सडक क्रमशः कालोपत्रे गर्न दबाव दिईने नेकपा एमाले नेता कृष्ण पाठकले बताए ।





