बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

माछापालनमा किसानको आकर्षण

माछापालनमा किसानको आकर्षण

पाल्नका लागि सजिलो र उत्पादन राम्रो दिने भएकाले माछापालनमा किसानको आकर्षण ।


  • ढोरपाटन संवाददाता
  • चैत्र १० २०७८, बिहिबार

बागलुङ/ दश वर्षदेखि माछापालन गरिरहेका रुद्र पौडेल माछापोखरी बिस्तारको तयारीमा छन् । बागलुङ नगरपालिका–१२ को पात्लेखेतमा उनका चार वटा माछापोखरी छन् । पौडेलले अझै केही पोखरी बिस्तार गरेर व्यावसायिक माछापालन थाल्दै छन् ।
परम्परागत शैलीमा माछा पाल्दै आएका पौडेलले माछापालनसम्बन्धी थप ज्ञानको महशुस गरे । बागलुङ नगरपालिकाले सुरु गरेको तीनदिने माछापालसम्बन्धी सीपमूलक तालिममा पौडेल सहभागी भएका छन् । ‘आजसम्म भनेको आधारमा गरियो, अब ज्ञान लिएर व्यावसायिक हिसाबले माछा पाल्ने सोँच छ’, पौडेल भन्छन् ।

बागलुङ नगरपालिका–३ को तरकारी गाउँमा दश वर्षदेखि माछा पालिरहेका गंगाबहादुर थापाले ट्राउट माछा पाल्ने योजना बनाएका छन् । चिसो पानीमा मात्रै हुने ट्राउट माछाको व्यावसायिक पालनका लागि उपयुक्त ठाउँ भेटेपछि थापाले माछा पालनसम्बन्धी ज्ञानको खोजी गरे । बागलुङ नगरको तालिममा थापा पनि सहभागी भएका छन् ।

बागलुङ नगरपालिकाले आयोजना गरेको तीनदिने तालिममा पौडेल र थापाजस्ता केही पुराना र केही नयाँ व्यवसाय थाल्ने किसानहरुको उत्साहजनक सहभागिता छ । पुराना किसानले सीप खोज्दै छन्भने नयाँ किसान सिप सिकेर व्यवसाय गर्ने तयारीमा छन् । नगरले आयोजना गरेको तालिममा सहभागी झण्डै तीसजना किसानको एउटै लक्ष छ व्यवसायीक माछा पालेर आम्दानी बढाउने ।

बागलुङमा पछिल्लो समय माछापालन व्यवसाय फस्टाउँदो छ । पाल्नका लागि सजिलो र उत्पादन राम्रो दिने भएकाले माछापालनमा किसानको आकर्षण बढेको भेटेरीनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र बागलुङका प्रमुख डा. ऋषि सापकोटाले बताए । उनले पछिल्लो समय माछाको माग बढ्दै गएकाले किसानको आकर्षण माछामा रहेको बताए । सरकारी अनुदान र सिप हस्तान्तरणले किसानलाई सघाएको उनको धारणा थियो ।

बाँझो जग्गाको सदुपयोग गर्ने, स्थानीय दानाको प्रयोग गर्ने र उत्पादन लिनेगरी किसानहरु माछापालनमा आकर्षित भएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । अहिले पनि विदेशबाट माछा आयात हुने गरेको भन्दै पौडेलले माछाको उत्पादन र बजारीकरण बढाउन किसानहरुलाई आग्रह गरे । ‘हामीले उत्पादनमा अनुदान र सीपमूलक तालिममा सहयोग गरेका छौं, किसानहरु मेहेनत गरेर उत्पादन गर्नुहुन्छ’, पौडेल भन्छन्,‘यो पनि एउटा सजिलो व्यवसाय हो ।’

माछाविज्ञ गायत्रीराजा वाग्लेले माछापालन र खाने शैलीमा समेत परिवर्तन आवश्यक रहेको बताए । स्वास्थयका हिसावले समेत माछा खानु उपयुक्त रहेको उदाहरणहरु दिँदै वाग्लेले सीपको अभावमा माछाको उत्पादनमा लागेका किसान निरुत्साहित हुने गरेको बताए । माछा पाल्न र खान दुवै हिसाबले फाइदाजनक रहेको उनले सुनाए । तीन दिनसम्म सञ्चालन हुने तालिमको सहजीकरण वाग्लेले गर्नेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->