बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

किसानको प्रश्न : अनुदानको अनुगमन हुँदैन र ?

किसानको प्रश्न : अनुदानको अनुगमन हुँदैन र ?

काम गरेका किसानले अनुदान पाएका छैनन्, कागज पु¥याउनेहरु अनुदानको पोको पारेर हिँडे ।


  • ढोरपाटन संवाददाता
  • चैत्र १५ २०७८, मंगलबार

बागलुङ/ जिल्लाको ताराखोला गाउँपालिकाका किसानहरुले सरकारले दिने अनुदानको अनुगमन नहुँदा दुरुपयोग भैरहेको गुनासो गर्न थालेका छन् । कागजी प्रक्रिया पूरा गरेर किसानको नाममा अनुदान लिनेहरुले व्यवसाय गरे नगरेको अनुगमन गर्नुपर्ने उनीहरुको माग छ ।

अनुदान दिएपछि किसानले व्यवसाय गरे नगरेको खोजी सरकारले गर्नुपर्ने किसानहरु बताउँछन् । गाउँपालिकामा स्थानीय तहले दिएको अनुदानभन्दा संघीय र प्रदेशका कार्यक्रमहरुमा दुरुपयोग धेरै भएको किसानहरुको आरोप छ । ‘यहाँ काम गरेका किसानले अनुदान पाएका छैनन्, कागज पु¥याउनेहरु अनुदानको पोको पारेर हिँडे’, ताराखोला गाउँपालिका–५ करीमेलाका तारा कँडेलले भने,‘सरकार अनुगमन हुनुपर्यो, काम नगर्नेको अनुदान फिर्ता गराउनुप¥यो ।’

करीमेलाकै ज्ञानी थापाले पनि किसानको नाममा अनुदान पाएकाहरुले कृषियन्त्र तथा उपकरणहरु घरमा थन्क्याएर बसेको आरोप लगाईन् । उनले सरकारी ढिकुटीबाट अनुदान दिने निकायले नियमित अनुगमन गर्नुपर्ने बताइन् । ताराखोला मिडिया प्रालिले ताराखोला गाउँपालिकाले दोस्रो चौमासिकमा गरेका काम कारवाही बिषयमा आयोजना गरेको सार्वजनिक सुनुवाईमा किसानहरुले गाउँपालिकाको ध्यानाकर्षण गराएका थिए । उनीहरुले दुरुपयोग भएको अनुदान रकम तथा सामग्रीहरु फिर्ता गर्नुपर्ने माग गरे ।

गाउँपालिकाले भने आफ्ना कार्यक्रमहरुमा दुरुपयोग नभएको दावी गरेको छ । निर्धारित कार्याविधिका आधारमा प्रक्रिया पुगेका किसानले मात्रै अनुदान पाउने र स्थलगत अनुगमनपछि मात्रै अनुदान दिने गरेको गाउँपालिकाको कृषि शाखाका प्रमुख कर्णखर भट्टराईले बताए । ‘हामीले निरन्तर अनुगमन गरिरहेकै छौं, विधि नपुगेकाले अनुदान पाएका छैनन्, काम गरेको हेरेर मात्रै अनुदान स्वीकृत हुन्छ’, उनले भने । एकाध किसानले अनुदान पाएपछि पेशा नै परिवर्तन गर्ने गरेका कारण राम्रो काम गर्ने किसानका सवालमा समेत प्रश्नहरु उठ्ने गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको पशु शाखाका प्रमुख चिन्तामणि शर्माले गाउँपालिकाको नीति उत्पादनमा जोड दिने भएकाले अनुदानको सदुपयोग नगरेकालाई समेत कामका लागि प्रोत्साहन गरिने बताए । अनुदान फिर्ता हुनुपर्ने किसानको मागअनुसार फिर्ता गर्न सकिने कानुन नरहेको भन्दै उनले अनुदान दुरुपयोग भएमा कारवाही प्रक्रियामा जानुपर्ने बताए ।

सार्वजनिक सुनुवाइमा सर्वसाधारणले वन पैदावारको उपयोगका लागि गाउँपालिकाको वन नीतिको विषयमा समेत प्रश्न गरेका थिए । कृषि र पशु शाखाका काममा सबैभन्दा धेरै गुनासो गरेका सर्वसाधारणले वडा नं. ३ को भवन नबनेको, केही सडक बन्न नसकेको, महिलाहरु लक्षित कार्यक्रम नभएको, खानेपानी मर्मत नभएको, स्टमेट अनुसार काम गर्दा पनि उपभोक्ता समितिले अनावश्यक दुख पाउने गरेको लगायतका प्रश्नहरु राखेका थिए । भवन र सडकका काममा स्थानीयको विवाद रहेका कारण तत्काल काम थाल्न नसकिएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए । विवाद रहेका ठाउँहरुमा समस्याको निकास खोजी भैरहेको दावी घर्तीले गरे ।

गाउँपालिका उपाध्यक्ष दिलकुमारी पुनले सर्वसाधारणको हित हुनेगरी गाउँपालिकाका काम भैरहेको बताइन् । प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर बिकले प्रशानिक झण्झट नहुनेगरी ताराखोलाबासीको हितमा काम भइरहेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->