बागलुङ/ बुधबार बिहानै बडिगाड गाउँपालिका–५ पुगेको प्रहरीले स्थानीय श्याम बहादुर रेश्मीलाई हतियारसहित पक्राउ गर्यो । सुराकीका आधारमा रेश्मीको घर पुगेको प्रहरीलाई सुराकीले भनेपछि पहिल्यै जानकारी थियो उनले अबैध हातहतियार चलाईरहेका छन् । बिस्तरामै रहेका ३५ बर्षिय रेश्मीको साथबाट प्रहरीले अमेरिकामा बनेको ऐन १११७ लेखिएको अर्ध स्वचालित पेस्तोल र ४ राउण्ड गोली बरामद गर्यो ।
रेश्मी पक्राउ परे र जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याईएको छ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका रेश्मी अबैध हातहतियारको घटनामा नयाँ होईनन् । उनको पुरानो प्रहरी रिपोर्टहरु खोजतलास गर्दा पत्ता लाग्यो उनले चार बर्ष पहिला सोही घटनामा सजाय भोगीसकेका पात्र हुन् ।
रेश्मी यसभन्दा अघि पनि गोली प्रहार गरी भागेको प्रहरीले जनाएको छ । २०७४ बैशाख १३ गते ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा रहेको न्यू बुटवल थकाली भान्सा घरभित्र गोली प्रहार गरि भागेका थिए । घटनामा के के भएको थियो प्रहरीको खोजीको बिषय हो तर उनी श्रृंखलाबद्ध अबैध हातहतियारको घटनामा संलग्न छन् भन्ने पुष्टि हुन्छ । २०७४ सालमा रेश्मीले मेड इन जर्मनी लेखिएको पेस्तोल र ११ राउण्ड गोलीसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
जिल्ला अदालतको आदेशमा एक वर्ष वर्ष कैद भुक्तान गरेर २०७५ सालमा कारागार मुक्त भएका रेश्मी पुनः हतियारसहित पक्राउ परेका छन् । ‘यसले द्वन्दको समयमा लुकाईएका हतियार भनेको छ तर त्यसको ठोस प्रमाण छैन्, भारत जाने आउने गरेको हिस्ट्री भेटिएको छ, आधुनिक हतियार कसरी गाउँ पुग्यो खोजीको बिषय हो’ बिहिबार रेश्मीलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै प्रहरी निरीक्षक विजय भण्डारीले भने ‘गोलीमा खिया लागेको छैन्, परिवार र छिमेकीलाई सोधपुछ गरेपछि थाहा लाग्छ ।’
एक पटक हातहतियार मुद्धामा नै जेल साजाय भोगेको व्यक्तिको साथबाट पुनः हतियार फेला पर्नु शंकास्पद बिषय भएको उनले बताए । ‘अपराधमा संलग्न भएनभएको बिषयमा खोजी हुन्छ, नभएको भए हतियार किन नबुझाएको भन्ने प्रश्न त छँदैछ’ भण्डारीले भने ‘शान्ति सुरक्षामा चुनौती खडा गर्ने यस्ता घटनाको हामी गहिराईमा पुग्छौं ।’





