पोखरा/ नेपाल लेखक संघको अध्यक्षमा साहित्यकार तीर्थ श्रेष्ठ चयन भएका छन् । शुक्रबारदेखि पोखरामा सुरु भएको सातौं राष्ट्रिय अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत चयन गरेको हो ।
पोखरामा रहेर साहित्यकर्म गरिरहेका श्रेष्ठ संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक सदस्य सचिव हुन् । उनी २ कार्यकाल अघि नेपाल लेखक संघकै उपाध्यक्ष पदमा जिम्मेवारी निभाइसकेका छन् ।
अध्यक्षमा निर्वाचित श्रेष्ठले लेखक संघ कुनै पार्टीको भातृ संस्था तथा सुभेच्छुक संस्था नभएर प्रजातान्त्रिक आस्था राख्ने लेखकहरुको साझा थलो भएको बताए । २००८ सालमा स्थापना भएको लेखक संघलाई संघका माध्यमबाट प्राज्ञिक हस्तक्षेप गर्ने बताए ।
‘लेखकीय स्वतन्त्रता, लेखकहरुको मर्यादाका निम्ति अगाडि बढ्न सकिन्छ भन्ने मान्यताका साथ मैले आफूलाई एकप्रकारको यज्ञमा होमेको छु,’ नवनिर्वाचित अध्यक्ष श्रेष्ठले भने, ‘अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षेप हुँदा त्यसका विरुद्धमा मत जाहेर गर्न म पछाडि पर्ने छैन ।’
अधिवेशनले कोषाध्यक्षको जिम्मा रोल्पाका दामु मर्सिफुललाई दिएको छ । पदाधिकारी पदमा अध्यक्ष र कोषाध्यक्ष पदमा सर्वसम्मत जुटे पनि बाँकी पदका लागि भने शनिबार चुनाव हुने निर्वाचन समिति संयोजक डा ईश्वरमणि अधिकारीले जानकारी दिए ।
संघको उपाध्यक्षमा साहित्यका रामलाल जोशी र रत्नमणि नेपाल, उपाध्यक्ष (खुला)मा डा शैलेन्द्रप्रकाश नेपाल र रामेश्वर राउत ‘मातृदास’, उपाध्यक्ष (महिला)मा डा रेनु थापा ‘सालु’ र सन्ध्या पहाडीबीच प्रतिस्पर्धा हुने भएको छ ।
महासचिवका लागि ३ जना चुनावी मैदानमा छन् । साहित्यकार घनेन्द्र ओझा, सोझो गाउँले र मनोज न्यौपानेबीच महासचिवका लागि प्रतिस्पर्धामा छन् । त्यस्तै, उपमहासचिवमा बलराम दाहाल र श्रीबाबु कार्की ‘उदास’ र सचिव (महिला)तर्फ शशी थापा पण्डित र अनुपमा रेग्मीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । सचिव खुलातर्फ भने हेम प्रभास, मुरारी दुलाल र गणेश शर्माले उम्मेदवारी दिएका छन् ।
खुला सदस्य १० जना, सदस्य (भूगोल) प्रत्येक प्रदेशबाट ७ जना, महिला सदस्य ५ जना, सदस्य (आरक्षित) ५ जना गरी कुल ३६ सदस्यीय कार्यसमिति हुने निर्वाचन समिति संयोजक डा ईश्वरमणि अधिकारीले जानकारी दिए ।
जसमध्ये आरक्षित सदस्य र भूगोलतर्फ ६ प्रदेशबाट निर्विरोध भएका छन् । निर्वाचन समितिका अनुसार, आदिवासी जनजातिमा सज्जाकुमारी दनवार, मधेशी (थारु) गोपाल अस्बु, दलित गणेशबहादुर नेपाली, मुस्लिम÷अपांगबाट जीवन आचार्य ‘निश्चल’ पिछडिएको क्षेत्रबाट निर्विरोध चयन भएका छन् ।
भूगोलतर्फ प्रदेश १ बाट भीष्म काफ्ले, मधेश प्रदेशबाट कुमार दाहाल ‘कुशुम’, बाग्मती प्रदेशबाट भगवती खनाल, गण्डकी प्रदेशबाट अञ्जना पौडेल, लुम्बिनी प्रदेशबाट बासुदेव जमरकट्टेल र सुदूरपश्चिम प्रदेशबाट विष्णुबहादुर दोल्याल सर्वसम्मत निर्वाचित भएको डा अधिकारीले जानकारी दिए ।
‘कर्णाली प्रदेशबाट भने महेन्द्र चन्द ‘महासागर’ र डा कृष्णराज डिसीबीच प्रतिस्पर्धा हुने भएको छ,’ डा अधिकारीले भने, ‘बाँकी पदका लागि चुनाव शनिबार गरिने र उम्मेदवारी फिर्ताको समय बिहान ९ बजेसम्म तोकिएको छ ।’





