बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कालिका मन्दिरमा भक्तजनको भीड

कालिका मन्दिरमा भक्तजनको भीड


  • ढोरपाटन संवाददाता
  • चैत्र १९ २०७८, शनिबार

बागलुङ/ चैते दसैँ नजिकिएसँगै गण्डकी प्रदेशकै प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य बागलुङको कालिका मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । अहिले मन्दिर परिसरको पार्किङस्थलमा सवारी साधन पार्किङ गर्ने ठाउँको अभाब हुनाका साथ पूजा सामग्री खरिद गर्ने पसलमा भीड लागेको छ । मन्दिरमा लागेको भीड मूल प्रवेशद्वारसम्म नै पुगेकाले पोखरा–बागलुङ राजमार्गसमेत बेलाबेलामा जाम हुन थालेको छ ।

कोरोनाको महामारीका कारण विगत दुई वर्षको चैते दसैँमा नखुलेको कालिका मन्दिरमा अहिले काठमाडौँ, चितवन, भैरहवा, पोखरालगायत स्थानबाट भक्तजन दर्शनका लागि आएका छन् । उक्त मन्दिरमा वडा दसैँ र चैतेदसैँको नवरात्रमा ठूलो भीड लाग्ने गर्दछ ।

लामो समयपछि खुलेको उक्त मन्दिरमा दर्शन गर्नेको सङ्ख्या अधिक रहेको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए । कोरोनाका कारण लामो समयसम्म मन्दिर बन्द हुँदा भक्तजनले बलिसमेत दिन पाएका थिएनन् । अहिले बलि चढाउने, भाकल गर्ने तथा मन्दिर परिसरमा पूजापाठ लगाउनेको चाप बढेको उनको भनाइ थियो । मन्दिर क्षेत्रमा भीडभाड भएसँगै जिल्ला प्रहरी कार्यालयले सुरक्षा बढाएको छ । चैते दसैँको अवसरमा गुठीले यही चैत २४ देखि २८ गतेसम्म चैते दसैँ मेलासमेत आयोजना गरेको छ ।

मन्दिरमा चैत्राष्टमी र वडादसैँमा विशेष पूजाआजा हुने भएकाले यही समयमा धेरै भक्तजनको भीड लाग्ने गरेको छ । उक्त मन्दिरमा बोका, राँगो, कुखुरालगायतको बलि चढाइनाका साथै शान्तिको प्रतीक परेवा उडाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->