मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

कर्मचारीलाई आजित बनाउने खेलकुद मन्त्री मनाङे

कर्मचारीलाई आजित बनाउने खेलकुद मन्त्री मनाङे


  • ढोरपाटन संवाददाता
  • चैत्र २४ २०७८, बिहिबार

पोखरा/ गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दिपक मनाङे पटकपटक चर्चामा आइरहने मन्त्रीमध्येमा पर्छन्, त्यो पनि गलत क्रियाकलापका कारण । कहिले स्वकीय सचिवलाई कार्यवाहक मन्त्री बनाउँछन्, त कहिले सार्वजनिक स्थानमै कसैलाई झापु हान्छन् । कहिले रातारात राजनीतिक क्याम्प परिवर्तन गरेर चर्चामा आउँछन् ।

विवादास्पद विगत भएका मन्त्री मनाङेले एकाताका आफ्ना स्वकीय सचित रोनित गुरुङलाई कार्यवाहक मन्त्री नै बनाएर समेत हिँडे । तर, उनको उक्त निर्णयप्रति सर्वत्र विरोध भएपछि स्वकीय सचिवलाई नै दोष थुपारेर आफू उम्किन सफल भए । उनकै जगमा गठबन्धन सरकार उभिएकाले पनि थप प्रश्न गर्न प्रदेश सरकार निरिह बन्यो ।

यसअघि सांसद हुँदासमेत सार्वजानिक स्थानमा कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङलाई झापड हानेपछि उनी चौकी नै पुग्नुप¥यो । अहिले फेरि उनी चर्चामा छन् । कारण हो, आफ्नै मन्त्रालयका कर्मचारीमाथि कुटपिट ।
मंगलबार मन्त्रालयका सुचना अधिकारी समेत रहेका शाखा अधिकृत प्रकाश ओझा माथि हातपात नै गरे । उनले हातपात गरेको कुरा सम्बन्धित निकायमा खबर गरेपछि अहिले सूचना अधिकारी सम्पर्कविहिन भएर बसेका छन् ।
मंगलबार फाइल बोकेर मन्त्रीको कार्यकक्षमा पुगेका ओझालाई हातपात तथा दुव्र्यवहार गरेका हुन् । मन्त्री निकट एक कर्मचारीले मन्त्रीले कुटेकै नभएपनि काम ढिला गरेको भन्दै झपारेको दाबी गरे । ‘हिजो म थिइनँ । मैले पनि बुझ्दा कुटपिट नगरेको तर, काम ढिला गरेको भन्दै सम्झाउनुभएको हो’ उनले भने, ‘काम स्प्रिट नभएकोमा झपार्नु भएको हो ।’

मन्त्रालयका कर्मचारीसमेत मन्त्रीको दादागिरि प्रवृत्तिका कारण आजित छन् । उनकै त्रासका कारण कर्मचारीहरु उनीविरुद्ध बोलिहाल्न पनि सक्दैनन् । ‘मन्त्री आफ्नै मुडमा हुने हुदाँ कति बेला के कसरी गर्छन् पत्तो हुँदैन । त्यसको जिम्मेवारी कर्मचारीले भोग्नुपरिरहेको छ,’ मन्त्रालयका एक कर्मचारी दुखेसो पोख्छन् ।

मन्त्री मनाङे भन्छन्ः कुटेको होइन, सम्झाएको

कर्मचारीमाथि कुटपिट गरेको आरोप लागेको मन्त्री मनाङले भने आफूले कुटपिट नभई ‘सम्झाएको’ जिकिर गरेका छन् । ‘मैले कुटपिट गरेको होइन, सम्झाएको हुँ,’ उनले भने, ‘त्यस्ता कर्मचारीलाई कस्ले झाप्पु हान्छ, मैले त अलि ठुल्ठूला मान्छेलाई हान्छु नि !’
मन्त्रालयको युवा स्वरोजगार कार्यक्रममा आफूले दिएको सुझाव भन्दा उल्टो लेखेकाले सम्झाउनुपरेको उनले बताए । ‘मेरो मन्त्रालयमा ३ करोड २४ लाखको युवा स्वरोजगारको प्रोजेक्ट आएथ्यो, त्यसले ३४ करोड लेखेछ,’ उनले भने, ‘अर्थ र कानुन मन्त्रालयबाट पास भयो, क्याबिनेटमा लैजाँदा पो थाहा भयो उल्टो लेखेको कुरा ।’

युवा स्वरोजगारको योजना आफूले अध्यन नगरी स्वीकृतिका लागि अर्थ र कानुन मन्त्रालय पठाएको उनले बताए । ती दुवै मन्त्रालयबाट पनि अध्यन नै नगरी पास भएको उनको भनाइ छ । गण्डकीका भौतिक पूर्वाधारमन्त्री एवं प्रवक्ता कुमार खड्काले अध्यन गरेपछि मात्र आफूले उल्टो लेखेको थाहा पाएको मनाङेले बताए । ‘मन्त्री कुमार खड्काले पढेछन्, क्याबिनेटमा हामी सबै मन्त्री जेल जानुपर्ला यस्तो पर्पोजलले भन्यो,’ उनले भने, ‘त्यहाँ मेरो कत्रो बेइज्जत भयो ।’

यसबारे शाखा अधिकृत ओझासँग कुरा मिस्टेक भएर एउटा शून्य बढी भएको बताएको मनाङेले बताए । त्यसपछि आफूले प्रस्ताव पढ्दा अक्षरमा लेखिएकोमा पनि ३ करोड २४ लाख हुनुपर्नेमा ३४ करोड लेखिएको मनाङेको दाबी छ ।
यसअघि पनि ओझाले युवा स्वरोजगारका कार्यक्रम वितरण गर्दा बाहिर डिल गर्ने र घुस खान खोजेको सूचना आफूले पाएको मन्त्री मनाङले आरोप लगाए । ‘युवा छ, किन करियर खत्तम गरिदिने भनेर बसेको थिएँ, अब ५ जनाको आयोग बनाएर छानविन गर्छु,’ उनले भने, ‘३
जना मन्त्रालयको राख्छु, २ जना बाहिरको मान्छे राखेर त्यसलाई जेल हाल्छु ।’

ओझाले आफुलाई फसाउन डिजाइन गरेको समेत मनाङेले आरोप लगाए । मंगलबार भएको कुराकानी आज कुटपिट भनेर बाहिर ल्याएको भन्दै उनले कर्मचारी युनियनसँग मिलेर आफू विरुद्ध डिजाइन गरेको आरोप लगाए ।
युवा स्वरोजगार कार्यक्रमको प्रस्तावमा अनुदान पाउने व्यक्तीको समुह ५१ प्रतिशत ४० बर्ष भन्दा कम उमेरको मात्र भनेर लेखेकोमा पनि मनाङेले आपत्ती जनाए । ‘मनाङ, मुस्ताङमा ५० बर्ष नाघेका कृषिमा लागेका छन्, उनीहरुले २, ४ लाख भए पनि पाउँथे नि,’ उनले भने,
‘पैसा दिनै नमिल्ने गरी लेखेछ ।’

आउँदो स्थानीय निर्वाचन आचारसंहिता लागु हुनुअघि नै आफुले अनुदान वितरण गर्न चाहेको उनले बताए । ‘अब आचारसंहिता लाग्छ, यो पैसा समयमा दिन पाउँदैन,’ उनले भने, ‘यसलाई जेल नहाली भएन ।’

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->