बागलुङ/ हरेक नागरिकलाई उत्पादनसँग जोड्ने भन्दै यहाँको एक वडाले सामुदायिक वनमा फलफुल खेति थालेको छ । काठेखोला गाउँपालिका ७, रेशले स्थानीय सामुदायिक वन उपभोक्ता समितिसँग मिलेर फलफुल खेति थालेको हो ।
बहुवर्षे उत्पादन दिने फलफुलका बिरुवा सामुदायिक वनमा लगाईएको वडा अध्यक्ष प्रेम लामिछानेले बताए । काम नलाग्ने रुख मात्रै हुर्काएर सामुदायीक वनबाट किसानले फाईदा लिन नसक्ने भन्दै वडाले वनमा उत्पादन गर्न सकिने फलफुलका बिरुवा लगाउन सुरु गरेको हो । पहिलो चरणमा वडामा रहेका दुईवटा सामुदायिक वनमा फलफुल लगाइएको छ ।
जापानिज नास्पाती, एभोगाडो, प्लम, टिमुर लगायतका फलफुल र औषधिजन्य जडीबुटीका बिरुवा वनमा लगाइएको लामिछानेले बताए । साङ्खोला सामुदायिक वन उपभोक्ता समितिको सहकार्यमा २ हजार ५ सय विरुवा लगाइएको उनले बताए । डिभिजन वन कार्यालय बागलुङ, कृषि ज्ञान केन्द्र लगायतका संस्थाहरुले वडाको अभियानमा बिरुवा सहयोग गरेका थिए । रेशकै मौवाघारी सामुदायिक वनमा पनि परीक्षणको रुपमा फलफुलका विरुवा लगाउन थालिएको उनले बताए ।
वनमा फलफुलका बिरुवा लगाउँदा सामुदायिक वन उपभोक्ता समुहको आम्दानी बढ्ने र बाँदर नियन्त्रणमा समेत सहयोग पुग्ने वडाको विश्वास छ । ‘चिलौने, उत्तिस, अँगेरी लगायतका बिरुवाको वनले मात्रै उपभोक्तालाई फाइदा दिन सक्दैन,’ लामिछाने भन्छन्, ‘वनको खाली जग्गामा लगाइएको फलफुलले बहुवर्षे उत्पादन दिँदा समूहमा रहेका सबैलाई फाइदा हुन्छ ।’ वन पनि नमाँसिने र फलफुल पनि हुर्किने गरी खाली जमिनमा बिरुवा लगाउन वडाले भनेको छ ।
बाँदरले खान मिल्ने फलफुल वन मै हुँदा घर गाउँमा डुल्ने बाँदर वनमा रोकिने र खेतीपाती जोगिने वडाको विश्वास छ । टिमुर लगायतका औषधिजन्य जडिबुटीबाट सामुदायिक वनले आयआर्जन गर्नसक्ने स्थानीय रामचन्द्र शर्माले बताए । ‘फलफुलकै वन बनाउँदा केही बिग्रिने होइन, भएका रुख नमास्ने र खाली जमिनमा फलफुल लगाउने गरिएको छ,’ उनले भने, ‘बाँझो जमिनमा पनि उत्पादनसँग जोडिने खेती गर्न थालिएको छ ।’
रेशमा ९ वटा सामुदायिक वन छन् । सबै सामुदायिक वनमा क्रमशः फलफुल खेती विस्तार गर्ने योजना रहेको लामिछानेले सुनाए । अघिल्लो आर्थिक वर्षमा पाँच लाख रुपैयाँ खर्चेर फलफुल तथा जडिबुटीका बिरुवा लगाएको वडाले ती विरुवाको संरक्षण र गोडमेलको जिम्मेवारी सामुदायिक वनलाई नै दिएको छ ।
पशुपालन र खेतीपाती धेरै हुने रेशका सामुदायीक वनमा हुने घाँसले किसानलाई सहयोग गर्ने गरेको छ । फलफुल तथा जडिबुटी उत्पादन सुरु हुँदा किसान उपभोक्तालाई आर्थिक रुपमा थप सहयोग पुग्ने वडाध्यक्ष लामिछानेले बताए ।





