बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

न ठेका बिके न मदानी !

न ठेका बिके न मदानी !


  • ढोरपाटन संवाददाता
  • चैत्र २९ २०७८, मंगलबार

भारतबाट आएका प्लास्टिकका भाँडाकुँडाको व्यापार थामिनसक्नु हुँदा ठेका र मदानी राखेका प्रेमले भने दिनभरको ज्याला समेत उठाउन पाएनन् ।

बागलुङ/ चैते दशैं सुरुभएपछि बागलुङ कालिका मन्दिर परिसर कुरेर बसेका बागलुङ नगरपालिका १२, अमलाचौरका प्रेम चुँदाराले सोमबार साँझ अध्यारो अनुहार पार्दै साना ठुला सबै ठेकाहरु बोरामा हाले । लामो समय कोरोना महामारीको असर झेलेको उनको व्यवसाय यसपालि पनि मारमै रह्यो ।

झन्डै एक साता कालिका मन्दिर परिसरमा पर्ने बागलुङ–पोखरा सडकको छेउमा ठेका र मदानीको पसल थापेका प्रेम नत धुलो र धुँवाबाट बचे नत उनको व्यापार नै भयो ।
कालिका मन्दिर परिसरमा चैतको २६ यता दिनभर नाचगान र रमाइलो चलिरहेको थियो । मेला सकिने दिनसम्म पनि प्रेमको मनमा भने उमंग आएन । कालिका मन्दिर परिसरमा त्रिपाल टागेर फरक–फरक स्थानीय उत्पादनदेखि नँयानँया परिकार बिक्रिवितरण भइरहेका थिए । भारतबाट आएका प्लास्टिकका भाँडाकुँडाको व्यापार थामिनसक्नु हुँदा ठेका र मदानी राखेका प्रेमले भने दिनभरको ज्याला समेत उठाउन पाएनन् ।

परिवारसहित मेलामा व्यापारका लागि आएका चुदाराले ठेका, मदानी, रक्सी खाने चुवा बिक्रिका लागि ल्याएका थिए । ‘पहिलेका मेलामा राम्रै व्यापार हुन्थ्यो, हेरेक वर्ष चैते दशैंमा ठेका बेचियो तर यो वर्ष व्यापार भएन,’ उनले भने, ‘साना ठूला कुनै ठेका र मदानीमा यहाँ आउनेको आँखा परेन ।’

उनले साना ठूला एक सय रुपैयाँदेखि ५÷६ हजार रुपैयाँ सम्म पर्ने ठेका मेलामा ल्याएका थिए । तर, बिक्रि नहुँदा सबै ठेका फर्काउनुपर्ने अवस्था आएको उनले बताए । गुल्मी पुगेर गिठे दारको काठ जोहो गरेपछि मात्रै घरमै रहेको घरेलु मेसिनले ठेका बनाउँछ । एक्लैले ठेका बनाउन नमिल्ने भएकाले ठेका बनाउँदा लगाएको कामको ज्याला दिने खर्च समेत प्रेमले यसपालि उठाउन पाएनन् । प्रेम भन्छन्, ‘नखाँउ त दिन भरिको सिकार खाँउ भने कान्छाबाको अनुहार भनेझै भएको छ ।’

विदेशी प्लास्टिक र स्टिलका सामग्रीहरुको प्रयोग बढेका कारण गाउँघरमा समेत काठका सामग्रीको बिक्रि कम हुने गरेको छ । मेलामा बिक्रिका लागि ल्याइएका अधिकांश स्थानीय उत्पादनको अवस्था उस्तै छ । ‘बाउ बाजेका पाला देखिको सीप यही हो, ठेका र मदानी बिक्रि नभए हाम्रो गुजारा चल्दैन,’ उनले भने, ‘स्थानीय उत्पादनलाई प्रोत्साहन र विदेशी सामग्री निरुत्साहित गर्ने योजना स्थानीय सरकारले बनाउनु पर्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->