बागलुङ/चैत्राष्टमी मेलाको अवसरमा आयोजित ‘कालिका कप’ खुल्ला पुरुष भलिवल प्रतियोगिताको उपाधी मोटरहेड नेपाल छन्त्याल संघ बागलुङले जितेको छ । कालिका मन्दिर परिसरमा सोमबार सम्पन्न पाईनल खेलमा गलकोट समाज जापानलाई पराजित गदैं मोटरहेड उपाधी जितेको हो । फाईनलमा गलकोट समाज जापानलाई मोटरहेड छन्त्याल संघले ३–० को सोझो सेटमा पराजित गदैं उपाधी विजेता बनेको हो । संघले खेलमा क्रमशः २५–१७, २५–२२ र २५–१८ को सेटमा जित निकाल्दै उपाधि विजेता बनेको हो ।
गण्डकी प्रदेशबाट खेल्दै आएका खेलाडिलाई आवद्ध गरेको मोटरहेडले उपाधिसँंगैं नगद तीन लाख कालिका कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । गलकोेट नगरपालिकाका खेलाडीहरु आवद्ध गरेको गलकोट समाज जापान उपविजेता बन्दै नगद १ लाख ५० हजार मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । १७ टोलीको सहभागिता रहेको प्रतियोगितामा पर्वत स्पोट्र्स क्लब तृतिय बन्दै नगद ५० हजार प्राप्त गर्दा कालिका युथ क्लब रेशले सान्त्वना पुरस्कार २५ हजार प्राप्त गर्न सफल भएको आयोजकले जनाएको छ ।
त्यस्तै, मेलाको अवसरमा आयोजित खुल्ला राष्ट्रिय लोकदोहोरी प्रतियोगितमा वेष्ट वन रेष्टुरेण्ट प्रथम र राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान बागलुङ द्धितिय भएको छ । प्रतियोगितामा विजेताले तीन लाख र उपविजेताले एक लाख ५० हजार नगद प्राप्त गरेका छन् । प्रतियोगितामा १६ समुह सहभागि थिए ।
कालिका भगवती गुठी व्यवस्थापन समितिले आयोजना गरेको मेला समापन गर्दै गण्डकी प्रदेशका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मणिभद्र शर्मा कँडेलले नेपालकै पुरानो मेलाका रुपमा रहेको चैते दशैं मेलाले पर्यटन प्रर्बद्धनमा टेवा पु¥याएको बताए ।
प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिरमा लाग्ने मेला यस क्षेत्रकै चिनारीको रुपमा रहेको उनले बताए । मेला समापन समारोहमा गुठीका निवर्तमान अध्यक्ष राजु खड्कालाई सम्मान गरिएको थियो । गुठीका अध्यक्ष कुमार खड्काको अध्यक्षता र सल्लाहकार निशान खड्काको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।





