सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

विभाजन र दुश्परिणामका बाछिटाहरु

विभाजन र दुश्परिणामका बाछिटाहरु


  • ढोरपाटन संबाददाता
  • बैशाख १ २०७९, बिहिबार

पोखरा/ यावत निराशाकाबीच चुनाव आएको छ । सही गर्नेलाई पुरस्कृत र गलत गर्नेलाई दण्डित गर्ने अवसर प्राप्त भएको छ ।
मन त २०७७ फागुनअघि नै फाटेको थियो । सर्वोच्चको फागुन २३ को फैसलाले झन एमाले र माओवादी केन्द्रको अस्तित्व कायम गरिदियो । ३ जेठ २०७५ मा एकीकरणपछि बनेको नेकपाबाट माओवादी अलग हुनुको दोष अदालतको ‘फैसला’ लाई दिन सकिन्थ्यो । तर,एमालेकै सांसदहरुको विद्रोह र विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च गुहार्नु अर्को पाटो थियो । दोस्रो पटक पुनःस्थापित संसदबाट देउवालाई प्रधानमन्त्री बनाउने रिटमा एमालेका २३ सांसदले हस्ताक्ष गरे । त्यही हस्ताक्षरको बलमा २०७८ असार २८ गते नेपाली कांग्रेसका शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त गर्न परामादेश जारी भयो ।

२९ जेठ २०७८ मा देउवा प्रधानमन्त्री नियुक्त भए । माओवादीले छाडेपछि एमाले झन कमजोर भयो, विभाजनलाई बल पुग्यो । हस्ताक्षर गर्नेमध्ये २२ जनाले देउवालाई विश्वासको मत दिए र कारवाहीमा परे । ती सांसदलाई एमालेले स्पष्टीकरण सोध्यो । केही कारवाहीमा परे, केही जोगिए । विद्रोहका मुली एमाले पूर्वमहासचिव तथा पूर्वप्रधानमन्त्री माधव नेपाल पृुरानो घरमा अटाउन नसक्ने निक्र्योलमा पुगेकै थिए । कारवाहीपछि उनले २०७८ भदौ २ मा नेकपा एकीकृत समाजवादी पार्टी दर्ताको निवेदन दिए । भदौ ९ गते पार्टी विविवत् दर्ता भयो । कम्युनिष्ट पार्टी विभाजन नौलो थिएन । तर, यो विभाजन यति पेचिलो थियो कि ,कोभिड संक्रमणको जोखिम मोलेर सर्वोच्चको लाइनमा बसेकाहरुकै कारण केन्द्रमा ओली सरकारमात्रै ढलेन, ६ वटा प्रदेश सरकारहरु परिवर्तन भए ।

विभाजनको तुष मेटिएको छैन । एकले अर्कालाई दोषारोपण गर्ने श्रृंखला अन्त्य भएको छैन । एमालेले वर्तमान सरकारलाई ‘परमादेशी’को आरोप लगाउँदै आएको छ भने एमालेबाट छुट्टिएको माओवादी र एकीकृत समाजवादीले संंविधानको हत्याराको रुपमा एमालेलाई दोषरोपण गरिरहेका छन् । नयाँ वर्ष २०७८ को सुरुदेखिको विग्रह साम्य भएको छैन । सत्तामा भएका सडकमा र सडकमा भएका सत्तामा पुगे पुगे तर जनताको स्थायित्वको चाहना तिरोहित बन्यो । स्थायित्व चाहेर नेकपालाई भोट दिएकाहरुलाई निराश बनायो । सत्ता भागदौडले जनजीविकाका मुद्दाहरु छायाँमा परे ।

‘नेकपा विभाजन आफ्नै अहम्को परिणाम थियो तर त्यसले स्थायित्व चाहने जनतामा निराशा ल्याल्यो, नेकपाले जनमतको कदर गर्न सकेन’,नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी भन्छन्,‘ केन्द्रदेखि प्रदेश र स्थानीय तहसम्म बहुमत भएको सरकारले देश आपसी झगडाको कारण देश समृद्ध बनाउने अवसर गुमायो ।’

सत्तामै रहँदा पनि नेकपा आलोचनामुक्त थिएन । ‘समद्ध नेपाल ः सुखी नेपाली’ को नारा दिएको नेकपाको बोली र व्यवहारमा एकरुपता थिएन । आसेपासे पोस्ने,प्रश्नहरुलाई निषेध गर्ने तथा जवाफदेहीताबाट भाग्ने प्रवृत्ति मौलाएको थियो । ओम्नी र यतीजस्ता काण्डहरु सतहमा आएका थिए । चुच्चे–मोनो रेल र पानीजहाजका सपना हावामा उँडेका थिए ।

‘क्रोनो क्यापिटालिज्म (मिलेमतो पूँजीवाद) र नवउदारवादी चिन्तनका कारण तत्कालीन सरकार मुट्ठीभरका व्यक्तिको हितकारी बनेको थियो’,हाल एकीकृत समाजवादीका केन्द्रीय सदस्य रहेका श्रीनाथ बरालले भने,‘पार्टीका निष्ठावान कार्यकर्ताको कुरा नसुन्ने र पूँजीपतिको हित हेर्न थालेपछि कम्युनिष्ट सरकार छ भन्ने अवस्था नै थिएन ।’

गति ढिला र गन्तव्य झुल्दै थियो तर दृढ इच्छाशक्ति भएको भए दुई तिहाइको सरकारसँग अवसर नै अवसर थिए । २००७ सालदेखिको अस्थिरता अन्त्य हुने सम्भावना थियो । दोषी को ? फरक विषय हो तर नेकपा विभाजनले अस्थिरताको बिजारोपण गरिदियो । वितेको वर्षको बाछिटाहरु यथावत छन् ।

२०७८ नेकपामा आएको विभाजनले समाज नै विभाजित भएको छ । विभाजनले न्यायालयलार्ई सम्म छोएको छ । दलहरु विभाजनको रेखा मोटो बनाउने अभियानमै देखिएका छन् । एक–अर्काप्रति तल्लोस्तरमा झरेर गरिएको टिकाटिप्पणीले कटुता बढाएको छ । संविधानले सहमतिको परिकल्पना गरेको त परन्तु दलहरु विपरीत दिशामा यात्रारत छन् । पार्टी विभाजन हुनु र समाज विभाजनमा फस्नु फरक कुरा हो । नेपाली कांग्रेस नेतृत्वको सरकार छ । बहुलवादमा सरकारमा जानु प्रतिपक्षको हक नै हो । तर,नेकपा विभाजनको वलमा निर्मित यो सरकारले पनि समृद्धिको मार्ग पहिल्याउन सकेको छैन । गठबन्धन जोगाउने ध्याउन्नमा विकासे मुद्दाहरु आझेलमा परेका छन् । अर्थतन्त्रले लिक छाडेको छ । सरकारबाट ती समस्या समाधान गर्ने छाँटकाँट देखिएको छैन ।

सरकार छ भन्नेमात्रै भएको छ । विभाजनको विष तल्लोस्तरसम्म फैलँदो छ । यसले आउँदा दिनहरुमा पनि देश अस्थिर हुने र अन्त्यहीन द्वन्द्वको भूमरीमा फस्ने खतरा बढेको छ ।
स्थानीय चुनावको घोषणा भएको छ । चालु वर्षमा अझै २ वटा चुनाव हुँदैछन् । चुनावमा जनमत विभाजित हुन्छ । इच्छाएको पार्टी र व्यक्तिलाई प्रतिनिधि छान्ने सवालमा हुने विभाजनलाई उचित नै मानिन्छ । गलत गर्नेलाई दण्ड र असल गर्नेलाई पुरस्कृत गर्ने अवसर हो, चुनाव । चुनावलाई जनताले त्यही रुपमा उपयोग गर्नुपर्छ । आफूले चाहेको व्यक्तिलाई चुनेर अस्थिरता र अराजकताको अन्त्य गर्नुपर्छ । जनता जनार्दन सचेत बन्नुपर्छ । गलत पं्रवृत्तिलाई परास्त गर्दै नूतन सपना देख्नुपर्छ । लामो बलिदानबाट प्राप्त उपलब्धीहरु बचाउँदै खुला,उदार,एकतावद्ध र समृद्ध राष्ट्र निर्माणको लागि यही जरुरी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->