पोखरा/ कोरोना महामारीले दुई वर्ष विश्वलाई नै आक्रान्त बनायो । ०७७ को मध्यबाट केही शिथिल भएको महामारी ०७८ को सुरुआतसँगै चरम रुप लियो । कोरोनाको डेल्टा, ओमिक्रोनसँगै पुनः बजार र बस्ती सबैलाई त्रसित बनायो ।
बैशाखसम्म २ सय ७ जना कोरोना भाइरसबाट मृत्यु भएको थियो । तर, नयाँ वर्षसँगै उकालो लागेको उक्त संख्या साउनसम्म आइपुग्दा भने करिब १४ सय कट्यो । अहिले उक्त संख्या १ हजार ४६६ पुगिसकेको छ ।
कोरोना महामारीको सबैभन्दा चर्को मारमा पर्यटन व्यवसायी परे । कोरोनाको पहिलो वर्ष पर्यटन व्यवसायी चरम निराशामा थिए । व्यवसायी
हतोत्साहीमात्रै भएनन्, आधाभन्दा साना व्यवसायी पलायन नै भए ।
निराशामा सकिएको पर्यटन व्यवसायी हतोत्साहित समेत हुन पुगेका थिए । कोभिडकै कारण ८० प्रतिशत बढि कर्मचारी विस्थापित हुदाँ २५ प्रतिशत व्यवसायी पलायन नै भए । तर, मध्ये भदौदेखि कोरोनामा नियन्त्रण आएसँगै बन्द भएका पर्यटन क्षेत्रमा फेरि चाँदीको घेरा देखिन थाल्यो ।
महामारी केही मत्थर भएसँगै पोखरामा भएका लोकसेवा आयोगको परीक्षा, विभिन्न राजनीतिक पार्टी, संघसंस्थाहरुको सभा सम्मेलन, मेलामहोत्सवले पर्यटन क्षेत्र चलायमान हुदाँ अहिले व्यवसायीमा खुसी देखिएको छ । रोकिएका पदमार्ग खुल्दै गए, पर्यटकीय स्थलहरु चलायनमान भए । बुधबारबाट मात्रै होटल एसोसियन (हान)ले गर्दै आएको सडक महोत्सव सुरु भएको छ ।





