बागलुङ/स्थानीय तह निर्वाचनका लागि मनोनयनको पहिलो दिन बागलुङ जिल्लाका दश वटै स्थानीय तहमा रहेका निर्वाचन अधिकृतका कार्यालय आइतबार सुनसान रहेका छन् ।
आइतबार मनोनयन दर्ता गर्ने दिन भएपनि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताका लागि कुनैपनि राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरु नआएको निर्वाचन अधिकृतहरु बताउँछन् ।
राजनीतिक दल र उम्मेदवारलाई सहज होस् भनेर शनिबार पनि निर्वाचन अधिकृतको कार्यालय खोलेर फारम वितरण गरेको भएपनि हालसम्म उम्मेदवारी दिन कुनै राजनीतिक दलका उम्मेदवार नआएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले बताए ।
सोधपुछ र फारम लैजानका लागि फाटफुट मानिस आएपनि उम्मेदवारी दर्ताका लागि कोही नआएका हुन् । जिल्लाको बडिगाड गाउँपालिकामा नेपाली कांग्रेले उम्मेदवारी दर्ताका लागि १२ गते दिउँसो ३ बजेदेखि ५ बजे सम्मलाई समय माग्दै पत्र पठाएको निर्वाचन अधिकृत सीतादेवी सुवेदीले बताइन् ।
बागलुङमा स्थानीय तहको प्रमुख र उपप्रमुखको भागबण्डामा सहमति गरेको सत्ता गठबन्धनले वडा तहको भागबण्डामा कसरत गरिरहेको छ । प्रतिपक्षी दल एमालेले पनि पालिका र वडाका उमेद्वारको टुंगो लगाईनसकेकाले उमेद्वारी दर्ता नभएको हो ।





