पोखरा/ तत्कालीन विद्रोही पक्ष माओवादी र सरकारी पक्षबीचको लडाइँका कारण गाउँमा बस्नै नसक्ने स्थिति आएपछि १२ वर्षकै उमेरमा रोल्पाबाट पोखरा आइपुगेका थिए, रमेश विक । पोखरामा निर्माण व्यवसाय गरिरहेका गाउँलेको पछिपछि लागेर पोखरा आएको पनि ठ्याक्कै २८ वर्ष भइसकेको छ ।
तत्कालीन सशस्त्र जनयुद्धमा सबैभन्दा बढी प्रभावित हुने जिल्ला रोल्पा पनि हो । गाउँमा बस्दा कि ‘स्वतन्त्र’ भएर बस्न सक्ने स्थिति थिएन । कि राज्य पक्षमा उभिनुपथ्र्यो कि संघर्षरत माओवादीको पक्षमा । दुवैतिर लाग्न नसक्नेहरु जन्मभूमि छोडेर हिँड्नुपर्ने अवस्था थियो ।
विक साथीहरुसँगै काम र चयन खोज्दै पोखरा त आए तर, पोखरा पनि सोचेजस्तो भएन उनलाई । पोखरामा पनि रोल्पा र रुकुमका मान्छेहरु देख्यो कि छिछिदूरदूर गर्ने अवस्था थियो । ‘कोठा खोज्दा कोठा नपाइने, बल्लबल्ल पाए पनि जानै नसक्ने अवस्था थियो,’ रमेश ५० को दशकमा पुग्छन्, ‘रोल्पाको हो भन्ने थाहा पाएर सुरक्षाकर्मीले पुसमाघको जाडोमा नांगै उभ्याएका छन् । बोकेको खाना फालिदिएका छन् ।’
०००
निर्माण व्यवसायमै संलग्न रोल्पा जेलबाङका प्रसाद बुढामगर ‘सुन्दर’ तत्कालीन दश वर्षे सशस्त्र जनयुद्धमा देब्रे आँखा गुमाए । २०५३ सालमा वर्षमान पुन ‘अनन्त’ र किमबहादुर थापाको कमान्डमा प्युठान लुङचौकी आक्रमण गर्ने क्रममा उनलाई ३ गोली लागेको थियो ।
लगातार आँखा र कुममा ३ गोली लागेपछि उनी ढले । ब्युँझदा पार्टीको उपचार कक्षमा आफूलाई घाइते पाएका थिए । ‘हेड क्वार्टरमा एक महिना बसेर लखनाउ (भारत) उपचार गर्न ले । त्यहाँ पनि नभए पनि दिल्ली गएँ । ९ महिनासम्म विभिन्न ठाउँको अस्पताल चहारियो,’ मगर सम्झन्छन्, ‘तर, पुग्नुपर्ने ठाउँमा पुग्दा धेरै ढिलो भइसकेको रहेछ । एउटा आँखा गयो ।’ ०६१ सालमा उनी माओवादीको रोल्पा १० नम्बर एरिया इन्चार्ज थिए ।
प्रसाद ०६२ सालमा पनि आँखाकै उपचार गर्न पोखरा आएका थिए । तर, यता आइसकेपछि उनी गाउँ फर्कन सकेनन् । मजदुरीतिर लागे । ‘गाउँमा धेरै विस्थापित भइसकेका थिए । गाउँमा बस्नेहरु त विपन्न वर्ग र केही बुढापाकामात्रै भए,’ भन्छन्, ‘आफ्ना लागि भन्दा पनि छोराछोरीको भविष्य सोचेर यतै(पोखरा) बस्ने थानियो । गाउँभन्दा केही सजिलो हुन्थ्यो ।’
जनयुद्धको उद्गम भूमि रोल्पाबाट पोखरा आएर मजदुरीमा गरिरहेका रमेश र सुन्दर प्रतिनिधिपात्र मात्रै हुन् । पोखरामा उनीहरुजस्तै ठूलो संख्या अहिले पनि मजदुर क्षेत्रमै कार्यरत छन् । जसमध्ये अधिकांश कुनै न कुनै तरिकाबाट युद्ध प्रभावित छन् । तत्कालीन समयतिर गाउँमा बस्नै नसकेपछि आफूहरु भागेर पोखरा आउनु परेको थबाङका पूर्णबहादुर बुढामगर सुनाउँछन् ।
रोल्पाबाट पहिलो पटक पोखरा आउने श्रंखला ४७÷४८ बाट सुरु भएको उदाहरण भेटिन्छ । तर, ६३ सालदेखि उक्त संख्या एकदमै बढेर आएको बताउँछन्, रोल्पा पोखरा सम्पर्क समाजका संस्थापक अध्यक्ष पूर्णबहादुर बुढामगर । ‘५० सालभन्दा अगाडि थोरै संख्यामा थिए । विस्तारै जनयुद्ध बढ्दै गएपछि पोखरा आउने पनि बढ्दै गए,’ उनी भन्छन् ।
६३ सालदेखि एक्कासि पोखरामा रोल्पालीको आगमन बढ्नुमा समाजका निवर्तमान अध्यक्ष प्रसाद बुढामगर ‘सुन्दर’ मुख्यतः २ कारण देख्छन् । पहिलोः जनयुद्ध कालमा सहरले रोल्पा, रुकुमका नागरिकलाई नस्वीकार्ने प्रवृत्ति र दोस्रोः जनयुद्धपछि सेवासुविधासहितको खोजीमा लाग्नुपर्ने बाध्यता । ‘६३ भन्दा अगाडि यहाँ आएका रोल्पालीहरु न गाउँ फर्कने अवस्था थियो न त यहाँ नै बस्न सक्ने अवस्था,’ उनी सुनाउँछन् ।
०६३ सालमा ११ जनाबाट सुरु गरेको रोल्पापोखरा सम्पर्क समाजमा अहिले ८६ परिवार संलग्न छन् । तर, यो संख्या समाजमा आवद्ध भएकारुको मात्रै हो । समाजसँग नजोडिएका हजारौंको परिवार पोखरामा रहेको समाजका निवर्तमान सुन्दर सुनाउँछन् । ‘थोरैलाई मात्रै एकीकृत गर्न सकेका छौं । पोखरामा कम्तिमा पनि २ हजार २५ सयको हाराहारीमा रोल्पाली छन् । उनीहरु सबैको मुख्य पेशा नै मजदुरी हो,’ उनी भन्छन् ।
व्यवस्था परिवर्तनका लागि भनिएको तत्कालीन विद्रोहको मोर्चा सम्हालेका रोल्पालीको नियति अहिले मजदुरीका लागि कि जिल्ला छोड्नुपर्ने कि खाडी मुलुक जानुपर्ने बाध्यता छ । प्रायः दाङ, बुटवल हुँदै पोखरा, बागलुङ, मुस्ताङ लगायतका गण्डकी क्षेत्रमा मजदुरी गर्न आउने रोल्पालीको ठूलो संख्या छ ।
गण्डकी प्रदेशमा रोल्पालीहरु मजदुरीसँगै दुर्घटनामा ज्यानसमेत गुमाउनु पर्ने बाध्यता छ । ०७५ असार २३ मा मुस्ताङमा टिप्पर दुर्घटना हुँदा २० जनाको एकै चिहान भयो । मुस्ताङको स्याङबोचेमा मजदुरी गर्ने उनीहरुमध्ये ९ जना रोल्पाकामात्रै थिए । मृत्यु हुनेमा रोल्पाको सुनछहरी र थबाङ गाउँपालिकाका युवायुवती थिए ।
०७८ साउन ५ गते बागलुङको गलकोट नगरपालिकामा विषादीयुक्त मदिरा सेवन गर्दा ४ जनाको मृत्यु भयो । मृत्यु हुने सबै रोल्पाका थिए र उनीहरु त्यहाँ मजदुरी गर्न पुगेका थिए । फागुन १९ गतेमात्रै पोखरामा भएको ट्याक्टर दुर्घटनामा रोल्पाकै १९ वर्षीय हरि बाँठामगरले ज्यान गुमाए । संस्थासँग एकीन तथ्यांक छैन । तर, बर्सेनि पोखरा लगायतका क्षेत्रमा दुर्घटनामा रोल्पालीहरुले ज्यान गुमाइरहेको अध्यक्ष स्वीकार्छन् ।
दश वर्षे लामो संघर्ष, शान्तिप्रक्रियापछि स्थापना भएको लोकतन्त्रले के परिवर्तनको आभाष गर्न पाइएको छ त ? सुन्दरको जवाफ छ, ‘मुट्ठीभरका लागि लोकतन्त्र आयो । युद्ध लड्यौं । अंगभंग भयौं । तर, हामीलाई बिहान दिउँसो उही पाखुरा ठटाउँदै ठीक छ ।’
कम्युनिस्ट लालकिल्ला भनेर चिनिएको थबाङबाट रोल्पा मजदुरी गर्न आएका पूर्णबहादुर बुढा आफूलाई अहिले ‘बाहिरको माहोल’ बुझ्ने फुर्सदसमेत नहुने बताउँछन् । ‘हामी अहिले पनि त्यही काम गरेर खाने हो । बाहिर के हुँदैछ । के दिवस हो? के हो ? अहिले त वास्तै लाग्न छाड्यो,’ उनी भन्छन् ।
प्रत्यक्ष जनयुद्धमा लागेर पोखरा आइपुगेका कतिपय रोल्पालीलाई त गणतन्त्रको अनुभूति त परै जावोस्, अर्थसमेत थाहा छैन । आफूहरु लडेको भए पनि अहिले केका लागि भन्ने नै बिर्सिसकेको उनीहरु बताउँछन् । रोल्पाबाट पोखरा आएका मजदुरलाई कामकै पीरलो छ । ‘उहिले त्रासमा बाँचियो । लोकतन्त्र पछि पनि हामीलाई कामकै पीरलो, ज्यालाकै पीरलो हुन्छ,’ पोखराको एक दोहोरी साँझमा काम गरिरहेका जेल्बाङका रमेश बुढामगरको गुनासो छ ।
समय अहिले धेरै अगाडि बढिसकेको छ । ६२/६३ को जनआन्दोलन सफल भएर देशमा लोकतन्त्र आएको पनि १५ वर्ष पुग्यो । तर, जनताले भोग्नुपर्ने नियति भने फेरिएको छैन । ‘उहिले पनि कामका लागि साहुहरुलाई ज्यूज्यू गर्नुपथ्र्यो । अहिले पनि त्यही छ । गणतन्त्र आएर पनि के फरक छ र ?’ रमेश विक गुनासो गर्छन्, ‘महंगी बढ्याबढ्यै छ । छरछिमेकमा विभेद उस्तै छ ।’ तर, विभेदका लागि भने बोल्न सिकाएको उनी सुनाउँछन् ।
तर, गणतन्त्र स्थापनापछि केही नभएको भने होइन । सुन्दरको बुझाइमा व्यवस्थामा ठूलो परिर्वतन आइसकेको र नीतिगत तह भ्रष्ट हुँदामात्रै व्यवस्थामाथि प्रश्न उठेको हो । ‘पहिले कहाँ बोल्न पाइन्थ्यो र ? अहिले पाइन्छ । संघीयता आयो । विकास पनि थुप्रै भयो । सहि बेलाको क्रान्ति थियो त्यो,’ उनी भन्छन्, ‘केही नेताहरु बिग्रिए भन्दामै व्यवस्थाप्रति नै प्रश्न उठाउनु पनि गलत हो ।’





