पोखरा/ रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले आफ्नो २१ औं वार्षिकोत्सव मनाएको छ । रेडियो अन्नपूर्ण २०५८ साल वैशाख १२ गते स्थापना भएको हो ।
कार्यक्रममा बोल्दै रेडियोका संस्थापक अध्यक्ष विश्वशंकर पालिखेले स्थापनाकालदेखिको सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यलाई निरन्तरता दिने बताए ।प्रबन्ध निर्देशक सुनयना पालिखेले स्रोता शुभेच्छुकहरुको साथ र सहयोग कारण रेडियोले भिन्न पहिचान बनाउन सफल भएको बताइन् । निर्देशकद्धय विजेश पालिखे र बरदान ताङवे लामाले चुनौती सँगसँगै नयाँ सम्भावनाको खोजी गर्ने बताए । कार्यक्रममा स्टेसन म्यानेजर सञ्जयकुमार मल्ल, बरिष्ठ प्रस्तोता आरजु विष्ट सल्यानी र बासुदेव मिश्रले समय सँगसँगै रेडियोलाई परिमार्जन गर्दै लैजानुपर्ने बताए ।
रेडियोले उत्कृष्ट कार्य गर्ने विभिन्न कर्मचारीहरुलाई सम्मानसमेत गरेको छ । वेस्ट स्टाफ अफ दि इएरबाट मार्केटिङ म्यानेजर नारायण पौडेल सम्मानित भए । उनलाई ११ हजार १ सय ११ रुपैयाँ नगदसहित सम्मानपत्रले सम्मान गरियो ।रेडियोका वरिष्ठ प्रस्तोता आरजु विष्ट सल्यानी, सरिता तिमिल्सिना पंगेनी, कृष्ण देवकोटा र सरु लामिछानेलाई सम्मान पत्रले सम्मान गरिएको छ । शान्ति र विकासका लागि संचार नारासहित स्थापना भएको रेडियो अन्नपूर्णअन्तर्गत पब्लिक एफएम ९९.६ मेगार्हज र अनलाईन अन्नपूर्ण न्यूज पोर्टल भगिनी संस्थाका रुपमा रहेका छन् ।





