बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

फिर्ताको समय सकियो : ताराखोला, गलकोट र निसीमा पेचिलो बन्दै चुनाव

फिर्ताको समय सकियो : ताराखोला, गलकोट र निसीमा पेचिलो बन्दै चुनाव


  • ढोरपाटन संवाददाता
  • बैशाख १६ २०७९, शुक्रबार

बागलुङ/ उमेदवारी फिर्ता लिने अन्तिम दिन जिल्लाका धेरैजसो बागी उमेदवारले नाम फिर्ता लिएका छन् । तर केही महत्वपूर्ण स्थानमा बागी उमेदवारी कायमै छ ।

सदरमुकामस्थित बागलुङ नगरपालिकामा बागी उमेदवार खासै छैनन् । एमालेका जनक पौडेल, गठबन्धनबाट कांग्रेसका बसन्तकुमार श्रेष्ठ, नेपाली कांग्रेस बीपीकी धना आचार्य, परिवार दलका निलप्रसाद शर्मा, नेपाल दलीत पार्टीका भक्तबहादुर बिक, नेकपा मालेकी मञ्जु क्षेत्री र बिवेकशिल पार्टीका सुरज खड्का उमेदवार छन् । कांग्रेसबाटै बागी हालेका दिनेश पन्तले भने पार्टीको हितका लागि उमेदवारी फिर्ता लिएको बताए ।

उपप्रमुखतर्फ यहाँ माओवादी र नेकपा एसले आफ्ना उमेदवार उठाएका छन् । माओवादीका राजु खड्का, नेकपा एसका जिबन आचार्य उमेदवार छन् । त्यस्तै राप्रपाका संजय खड्का, नेपाल दलीत पार्टीकी शान्ति नेपाली, र स्वतन्त्र ताराकुमारी रिजाल उमेदवार छन् । बागलुङमा कुल १ सय ६८ उमेदवार कायम छन् ।

तराखोला गाउँपालिकाका निर्वतमान अध्यक्ष प्रकाश घर्तीले गठबन्धनबिरुद्ध दिएको बागी फिर्ता लिएनन् । बरु उनले संक्षिप्त प्रतिक्रिया दिंदै पार्टी भित्रको बेथिती बिरुद्ध लड्न उमेदवारी कायम राखेको बताए । ताराखोलामा गठबन्धनले माओवादीका धनबहादुर बिक (हिमाल)लाई अध्यक्षको उमेदवार बनाएको छ । हिमाल र घर्तीसहित एमालेका उमेदवार समेतको प्रतिष्पर्धा रोचक हुने बताइएको छ ।

गलकोट नगरपालिकामा उमेदवारी दिएकी कांग्रेस नेतृ मञ्जु शर्मा चालिसे र माओवादीका नेता तिलक उप्रेतीले पनि उमेदवारी फिर्ता गरेनन् । कांग्रेसका नगर प्रमुख भरत शर्माविरुद्ध चालिसे र माओवादीका उपप्रमुख फमलाल निउरेविरुद्ध उप्रेती बागी उठेका हुन् ।

बागी उठेका ढोरपाटन, जैमिनी नगरपालिका सहितका अन्य क्षेत्रमा भने अधिकांसले फिर्ता लिएका छन् ढोरपाटनमा उमेदवारी दिएका शैलेस घर्ती र दिलमाया पौवीले उमेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत लालसिंह थापाले बताए । ढोरपाटनमा ४ प्रमुख, २ उपप्रमुखसहित ३५ जना उमेदवारले नाम फिर्ता लिएका छन् ।

जैमिनीमा प्रमुख पदमा बागी उठेका कृष्ण संजाल र रुद्राकुमारी क्षेत्रीले उमेदवारी फिर्ता लिएका छन् । जैमिनी राष्ट्रिय जनमोर्चाका नरबहादुर थापा प्रमुख र कांग्रेसका हरिहर शर्मा उपप्रमुख उमेदवार छन् । बडिगाड गाउँपालिकामा बागी उठेका कांग्रेस नेता यामेन्द्र घर्ती सहितले नाम फिर्ता लिएका छन् । काठेखोलामा भने वडा नं. ४ मा अध्यक्षमा बागी उठेका यामदत्त कंडेलले फिर्ता लिएनन् ।

काठेखोलामा वडा तहसम्मपनि बागी उमेदवार थिए । अध्यक्ष पदबाहेक अधिकांसले नाम फिर्ता लिएका हुन् । एमालेले भने जिल्लाभरीनै एकल उमेदवारी दिएको थियो ।
बागलुङ नगरपालिकामा राप्रपासँग तालमेल गरेपछि एमालेबाट उपप्रमुखमा उमेदवारी दिएकी पवित्राकुमारी रोकाले उमेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले बताए । एमालेका आधिकारिक उमेदवारलाईनै फिर्ता गराइएको बागलुङ र ढोरपाटन नगरपालिकामा हो । ढोरपाटनमा पनि उपप्रमुखकी उमेदवार करमती पुन पछि सरेर राजमोको बिद्रोही समूहलाई उपप्रमुखको उमेदवारी दिइएको छ ।

वडाहरुमा अप्ठ्यारो

बागलुङ नगरको वडाहरुमा गठबन्धन तथा एमालेका उमेदवारमा अप्ठ्यारो परिस्थिति आएको छ । गठबन्धनमा भागबण्डामा कुरा नमिलेपछि बानपाको उपप्रमुखमा नेकपा माओवादीका राजु खड्का र नेकपा एसका जीवन आचार्य उमेदवार छन् । एमालेले राप्रपामा तालमेल गरेर संजय खड्कालाई उमेदवार मानेको छ ।

गठबन्धनकै दुइ दलले उपप्रमुखमा उमेदवारी दिएपछि गठबन्धनभित्रै अप्ठ्यारो अवस्था आएको टिप्पणी हुन थालेको छ । यही कारणले वडामा पनि केही फरक अवस्था आउने संकेत देखिन्छ । बानपामा उपप्रमुख नेकपा एसले हालेपछि वडा नंं. ३ मा एसको अध्यक्ष पाउने नपाउने कुराले उमेदवारी फिर्ता नभएको जनाइएको छ । नेकपा एसमा पिंगलराज गौतम अध्यक्षका उमेदवार छन् । उनले आफ्नो कोटामा परेकोले उमेदवारी दिएको बताएका छन् । कांग्रेसले सनी
केसी लक्ष्मणलाई टिकट दिएको छ । अध्यक्षको कारणले गठबन्धनमा टकराव हुनसक्ने कार्यकर्ताले बताए ।

एमालेका कमल खड्का वडा अध्यक्षका उमेदवार छन् । एमालेकै बागी उमेदवारको रुपमा पुनमप्रसाद शर्मासमेत छन् । उमेदवारी फिर्ता नगरी उनीहरु आफ्नो तरिकाले लागेकोले यहाँको निर्वाचन रोचक हुने मतदाताले बताए । वडा नं. ३ मा बाबुलाल शाक्य पनि स्वतन्त्र उमेदवार छन् ।

वडा नं. २ मा पनि एमालेका दुइ उमेदवार छन् । रामबहादुर जिसी वडा अध्यक्षका उमेदवार छन् । उनीबिरुद्ध रामराज गुरुङपनि अध्यक्षमा लडेका छन् । गठबन्धनबाट नेकपा एसका सुरज बोसेल उमेदवार छन् । अन्य वडाहरुमा पनि बागी उमेदवार थिए । कतिपयले शुक्रवार नाम फिर्ता लिएका छन् । वडा नंं २ मा शसिकपुर श्रेष्ठको पनि स्वतन्त्र उमेदवारी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->