सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

निर्वाचनका दिन अत्यावश्यक सेवा सुचारु

निर्वाचनका दिन अत्यावश्यक सेवा सुचारु

दूध, तरकारीसहित अत्यावश्यक सेवाका सवारीले पास लिन नपर्ने प्रशासनले जनाएको छ ।


  • ढोरपाटन संवाददाता
  • बैशाख २९ २०७९, बिहिबार

पोखरा/ शुक्रबार हुने स्थानीय तहको निर्वाचनका दिन अन्य सवारी साधान आवत जावतमा निषेध गरिए पनि दूध,तरकारीलगायत अत्यावश्यक सेवाका सवारी भने सुचारु रहने छन् ।
निर्वाचन आयोगले निर्वाचनसम्बन्धी आचार संहिता लागू गर्दै निर्वाचनका दिन सवारी साधन आवत जावतलाई निषेध गरेको छ । उम्मेदवारका लागि, निर्वाचन पर्यवेक्षक, मानवअधिकार आयोगलगायत सामाजिक सेवाका सवारी साधनले पास लिएर गुड्न पाउने छन् । तर, दूध,तरकारी फलफूल बोक्ने सवारीको हकमा भने पास लिनुपर्ने छैन् । जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारीले अत्यावश्यक सेवाका सवारीका लागि पास नलाग्ने बताए ।
‘स्थानीय तह सदस्य निर्वाचन २०७९ को मतदानको दिन सवारी आगमन व्यवस्थापनसम्बन्धी सवारी मापदण्ड अनुसार अनुमति लिन नपर्ने केही सवारी साधनहरु छन्’, उनले भने,‘ निर्वाचन सम्बन्धी कुनैपनि कार्यमा प्रयोग नहुने गरी खानेपानीको ट्याङ्कर, दुध बोक्ने सवारी साधन, दमकल दूरसंचार, तथा केबल सेवा,शववाहन, अस्पतालका स्वास्थ्यकर्मी आवगमनको लागि प्रयोग हुने साधनलाई पास चाहिँदैन् ।’

त्यो बाहेक अस्पतालको परिचयपत्र प्राप्त चिकित्सकले प्रयोग गर्ने सवारी साधन, फोहोर मैला ओसारपसार गर्ने सवारी साधन, तरकारी, फलपूmल, विद्युत सेवाजस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएका कुटनीतिक नियोगको सवारी साधनको हकमा सवारी अनुमति लिनुपर्ने व्यवस्था नरहेको उनले जानकारी दिए ।

यी बाहेकका अन्य सवारीले भने सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट सवारी संचालनका लागि मतदानका दिन सवारी अनुमति पत्र लिनुपर्नेछ । कास्कीमा ३९ हजार नयाँ मतदाता थपिएका छन् । कास्कीमा कुल मतदाता २ लाख ६४ हजार ४ सय ५६ जना रहेका छन् ।

कास्कीको १ सय ५० वटा मतदान स्थलका ३ सय ३६ मतदान केन्द्र मतदान हुनेछ । निर्वाचन सफल बनाउन सुरक्षा निकायले सुरक्षा रणनीति समेत बनाएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा एकीकृत सुरक्षा योजना बनाइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सुन्दर तिवारी कास्कीको सुरक्षा योजना चुस्त बनाएको बताए । उनले शुुक्रबार हुने निर्वाचन भयरहित बनाउ प्रहरीले विभिन्न संयन्त्र बनाएको बताए ।

उनले भय रहित र शान्त रुपमा निर्वाचन सम्पन्न गर्न ९ सय ४४ जना प्रहरी तथा १ हजार ४ सय ३३ जना म्यादी प्रहरी परिचालन गरिएको हुँदा निर्धक्क रुपमा मतदान गर्नसमेत आग्रह गरे । ‘केन्द्रीकृत एकीकृत सुरक्षा योजना एक छ भने, जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा एकीकृत सुरक्षा योजना संयन्त्र रहेको छ’, उनले भने, ‘ मतदान केन्द्रको सुरक्षा नेपाल प्रहरीका ९ सय ४४ जना प्रहरी परिचाल गरिएको छ भने १ हजार ४ सय ३३ जना म्यादी प्रहरी परिचालन गरी निर्वाचनमा शान्त र भयरहित वातावरणमा हुने विश्वास लिएका छौँ ।’ जिल्लामा केही मतदान केन्द्र अति संवेदननशील क्षेत्र रहेकाले सोही अनुसारको सुरक्षा योजनासमेत बनाइएको छ । निर्वाचनलाई भयरहीत बनाउन सुरक्षा दायरालाई निकै बलियो बनाइएको उनले जिकिर गरे ।

सुरक्षालाई ख्यालमा राख्दै स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ अनुसार मतदान सम्पन्न नभएसम्मका लागि मदिरा बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । मदिरा सेवनबाट झैझगडा तथा मतदातालाई प्रभावित पार्न सक्ने भन्दै निर्वाचन आयोगले मौन अवधिमा मदिराको बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाएको हो । शुक्रबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुँदैछ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->