बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सुरक्षा संवेदनशिलता र मदिरा नियन्त्रण

सुरक्षा संवेदनशिलता र मदिरा नियन्त्रण

बागलुङमा ३० करोड बढीको बियर मात्रै आयात भइरहेको तथ्यांक छ ।


  • ढोरपाटन संवाददाता
  • बैशाख २९ २०७९, बिहिबार

बागलुङ/ निर्वाचन सुरक्षा संवेदनशिलता अन्य गर्न प्रशासनले मौन अवधिभर मदिरा बिक्री वितरणमा रोक लगाएको छ । मतदान केन्द्र आसपासमा स्थानीय तथा ब्राण्ड गरिएका मदिरा बिक्री बितरणमा प्रशासनले रोक लगाएको हो ।
मौन अवधि शुरु हुनुअघि पनि जथाभावी बिक्री गर्ने र रातिसम्म होटल तथा रेस्टुरेन्ट खोल्न रोक लगाइसकिएको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले बताए । विशेषगरी होटल र रेस्टुरेन्टमा हुने बिक्रीमा रोक लगाएपछि त्यसबाट हुने संवेदनशिलता कम हुने ढकालले बताए ।

जिल्लामा के कति मात्रामा मदिरा बिक्री वितरण हुने गरेको छ भन्ने तथ्यांक भने अहिले सम्म भेटिएको छैन । ‘निर्वाचन सुरक्षामा दुवै प्रकारको मदिरा कारक हुनसक्छ, त्यसैले बिक्री वितरणमा रोक लगाइएको हो,’ सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले भने, ‘झैझगडा हुने अवस्था हुन नदिन यो व्यवस्था गरिएको हो ।’ झैझगडा हुने अबस्था नआओस भनेर मदिरामा रोक लगाइएको उनले बताए ।

मदिरा बिक्री हुने स्थान र राजनीतिक गतिविधि बढी हुने स्थानलाई निर्वाचन संवेदनशिलतामा राखिएको ढकालको भनाइ छ । ती क्षेत्रमा अझै बढी कडाइ गरेर मदिरा बिक्रीमा रोक लगाइएको उनले बताए । ‘लगभग ४० बढी स्थान संवेदनशिल छन्, ती स्थानमा त अझैबढी चासो राखिएको छ,’ ढकालले भने, ‘मदिरामात्रै सुरक्षा समस्या होइन, तर संवेदनशील क्षेत्रमा त्यो कारक बन्छ ।’

निर्वाचन आयोगले पनि कम्तिमा ३ सय मिटर वरपर मदिरा बिक्रीवितरणमा रोक लगाउनुपर्ने सुझाव दिएपछि प्रशासनले पनि सोही अनुसार गरेको हो । निर्वाचनमा मदिरा सेवन गरेर होहल्ला हुने प्रकारका क्रियाकलाप हुन नदिने ढकालले बताए ।

‘मौन अवधिमा बिक्रीमा रोक लगाउने र सडकमा मदिरा सेवन गरेर हिँड्नेलाई कारवाही गर्ने तयारी छ,’ ढकालले भने, ‘मदिरा विक्रेताहरुस“ग पनि छलफल गरिसकेका छौं ।’ यहा“का बजारमा स्थानीय रक्सी समेत पाइन्छ । प्रशासनले ती मदिरालाई अवैध मानेपनि ग्रामीण क्षेत्रमा बनाएर बिक्री गर्ने चलन छ । ग्रामीण क्षेत्रमा ब्राण्ड मदिरा भन्दा स्थानीय मदिरा नै प्रयोग गर्दै आएका छन् ।

बागलुङमा विदेशी मदिराको बिक्री घटेपनि स्वदेशी कम्पनीको रक्सी भने बर्सेनि करोडौंको भित्रिने गरेको व्यवसायीले बताए । यसको आधिकारिक तथ्यांक भने छैन । तर, विभिन्न ब्राण्ड बेच्ने डिलर, होलसेल तथा खुद्रा व्यवसायीका अनुसार करोडौंको रक्सी बिक्री भइरहेको हो ।

अहिले बजारका अधिकांस पसलमा रेडलेबल र ब्लयाकलेबल मदिरा पाइँदैन । तर, अन्य ब्राण्डका रक्सी भने प्रशस्त छ । बागलुङमा सबैभन्दा बढी रोयल स्टेग, खुकुरी रम र ८८४८ नामक रक्सी बिक्री हुने गरेको व्यवसायी कृष्ण शर्माले बताए । बियरतर्फ टुबोर्ग र अर्ना जस्ता ब्राण्ड धेरै बिक्री हुने गरेको भगवती ट्रेडर्सकी सञ्चालक दुर्गा कार्कीले बताइन् ।

बागलुङमा सबैभन्दा बढी टुबोर्ग बियर बिक्री हुने गरेको छ । मासिक २ करोड सम्मको टुबोर्ग र झण्डै एक करोडको अन्य बियर गरी मासिक ३ करोड बढीको बिक्री हुने गरेको व्यवसायीले बताए । हरेक महिना झण्डै तीन करोडको मदिरा बियर मात्रै भित्रिने गरेको व्यवसायी सिद्दार्थ मिलन श्रेष्ठले बताए ।

‘कोरोना महामारीपछि यो अंक घटेको हो’ उनले भने, ‘त्यस अघि अभैm बढी थियो ।’ अन्य ब्राण्डका समेत गरी वर्षमा बागलुङमा ३० करोड बढीको बियर मात्रै आयात भइरहेको तथ्यांक छ ।
‘रक्सी खाएका व्यक्तिलाई मतदान केन्द्रमा निषेध’

निर्वाचन आयोगले मदिरा सेवन गरेका व्यक्तिहरूलाई मतदाता भए पनि मतदान केन्द्रमा प्रवेश नदिन निर्देशन दिएको छ । बुधबार सहसचिव एंव प्रवक्ता शालिग्राम शर्मा पौडेलले एक विज्ञप्ति जारी गर्दै मतदान केन्द्रमा मदिरा सेवन गरी आएका व्यक्तिलाई प्रवेश नदिन भनेको हो ।

शुक्रबार हुने स्थानीय हत निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न आयोगले मतदान केन्द्रमा जाँदा ध्यान दिनुपर्ने भन्दै विज्ञप्ति जारी गरेको हो । ‘मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार वा उनका एक निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि, आयोगबाट अनुमतिप्राप्त पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति, महिला मतदाताको साथमा रहेको बढीमा पाँच वर्षको नाबालक एवं दृष्टिविहीन वा
शारीरिक रूपले अशक्त मतदाताको सहयोगको लागि साथमा आएको एकाघरको परिवारको सदस्यलाई मात्र प्रवेश गर्न दिने व्यवस्था छ,’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएका मतदाता वा अरू कुनै व्यक्तिले मोबाइल, क्यामरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटर जस्ता सामग्री लग्न नपाइने आयोगले जनाएको छ ।

‘प्रज्वलनशील एसिड पदार्थ, कुनै प्रकारको हातहतियार, नमूना मतपत्र लगायतका कागजातहरू, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह भएको वा संकेत जनिने कुनै वस्तु लैजान नपाइने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ आयोगको निर्देशन छ । त्यस्तै, त्यसविपरीत कुनै कार्य कहींकतैबाट भएमा कारबाही गर्ने आयोगले चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->