पोखरा/ वर्षाको कारण मतदान प्रभाव पर्न सक्ने सम्भावना रहेपछि कास्कीका अधिकांश मतदान केन्द्र विद्यालय भवनमा मतदान गरिने भएको छ । कास्कीमा एक समाज भवनमा मतदान केन्द्र रहेको छ भने अन्य मतदान केन्द्र वडा र विद्यालय नै छन् ।
निर्वाचन सामग्री भिज्ने र विग्रिन सक्ने भएपछि आयोगले उक्त सामग्री सुरक्षित गर्न पालदेखी विद्यालयहरुका भवनको प्रयोग गर्ने भएको छ । मौसम विभागले निर्वाचनका दिन पानी पर्नसक्ने भन्दै निर्वाचन आयोगलाई पत्र पठाएसंगै उक्त सचेतना अपनाइएको हो ।
निर्वाचनमा यस अघि सरकारी कार्यालय तथा विद्यालयको चौरको प्रयोग हुँदै आइरहेको थियो अहिले भने विद्यालयको भवनको पिँढिको प्रयोग गरिएको छ । आयोगले यो पटक भने अपांगहरुका लागि समेत व्यवस्थापन गर्ने गरी मतदान केन्द्रको तयारी पुरा गरिसकेको छ । विभिन्न मतदान केन्द्रमा अपांगका लागि छुट्टै व्यवस्था गरिएको छ ।
पोखरा ९ नयाँबजारमा रहेको मतदान केन्द्रमा खटिएका सहायक मतदान अधिकृत प्रकाश सुवेदीले वर्षाको सम्भावना भएकाले मतदान प्रक्रिया विद्यालयको बरन्डामा गराउने गरी तयारी गरिरहेको जानकारी दिए । उनले लाइनको व्यवस्थापन गर्न लाइन बनाइएको र अपांगहरुका लागि अपांगमैत्री बाटो नै प्रयोग गर्ने अशक्तका लागि छुट्टै व्यवस्थापन गरेको बताए । पोखरा ३ कन्या मा.विको मतदान केन्द्र मतदान अधिकृत मिनकुमार अर्यालले भौतिक रुपमा बासँ गाडेर चौरमा डोरी टाँगी मतदान गर्ने ठाउँसम्म बार लगाउने काम सम्पन्न गरेको जानकारी दिए ।
उनले बहिबारसम्म मतदाता परिचयपत्र वितरणको काम समेत भइरहेको बताए । उनले अब मतदान हुनुपुर्व उम्मेदावरहरु सहित सबै बसेर प्रक्रियागत रुपमा मतपेटिका खोल्ने लगायतका काम सर्वदलीय रुपमा नियमसंगत ढंगले गर्न मात्रै बाकिँ रहेको सुनाए । उनले मतदान केन्द्रको भूगोल अनुसार र मौसमलाई समेत मध्यनजर गर्दै महिला पुरुषका लागि सबै भएको र अपांग, अशक्त, सुत्केरी, वृद्धवृद्धालाई गेट २ बाट सिधैँ मतपेटिका सम्म लाने व्यवस्थापन गरेको बताए ।
पोखरा १ बगरस्थित संस्कृत माविको मतदान अधिकृत दिपा गौतमले तयारी सबै पुरा गरिसकेको सुनाइन् । उनले अब मतपेटिका राख्ने स्थान बनाउन मात्रै बाकीँ रहेको बताइन् । उनले अपांगको हकमा सिधैँ मत संकेट खाली हुनासाथ मतदान गराउने व्यवस्था गरिएको बताइन् । उनले अपांगहरुलाई मतदान गर्न आउँदा कहाँ राख्ने कसरी लैजाने भन्ने योजना समेत बनाएको सुनाइन् ।
पोखरा १६ विन्द्यवासीनि माविका मतदान अधिकृत लक्ष्मण बरालले ३ मतदान केन्द्र रहेको र त्यहाँ तयारी पुरा गरिसकेको जानकारी दिए । उनले वर्षाको सम्भावना रहेकाले सोहि अनुसार तयारी गरिएको जानकारी दिए । उनले विद्यालयको परिसर अपांग मैत्री रहेका कारणले पनि सहजता भएको जानकारी दिए । उनले बार बनाउँदा समेत ह्विलचियर छिर्ने गरी बनाइएको जानकारी दिए ।
कास्कीमा ३९ हजार नयाँ मतदाता रहेका छन् भने कुल मतदाता संख्या २ लाख ६४ हजार ४ सय ५६ रहेका छन् । कास्की १ सय ५० वटा मतदान स्थल रहेका छन् जसमा ३ सय ३६ मतदान केन्द्र छन् ।
बागलुङमा समस्या !
संविधानले स्थानीय तथा अन्य निर्वाचनका लागि मतदान स्थल अपांगमैत्री बनाउनुपर्ने भनेको छ । तर, बागलुङका अधिकांश मतदानस्थल अपांगमैत्री छैनन् । व्हिल चियर प्रयोग गर्नेका लागि त अधिकांश मतदान स्थल असम्भव जस्तै छन् । सदरमुकामका केही मतदान स्थलबाहेक अधिकांसमा अपांगलाई बोकेरै लैजानुपर्ने बाध्यता छ ।
‘हाम्रा सबै मतदान केन्द्रहरु विद्यालयमा छन्, त्यसैले जे संरचना छ त्यसैमा चलेका छन्’ मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले भने, ‘दलका प्रतिनिधिलाई मात्रै गाडीको पास देउ भन्ने निर्देशिका छ, अपांग र जेष्ठ नागरिकलाई केही गरौं भन्ने पनि छैन ।’ उनले संविधानमा अधिकार दिने, निर्देशिकामा कुनै सवारीको व्यवस्था समेत नगरेकोले अन्याय भएको बताए ।
निर्वाचन अधिकृतलाई उमेदवारको उपयोग गर्न गाडी र दुइपाङग्रे सवारीको पास दिने अधिकार छ । तर, अपांगता भएका व्यक्तिहरु अर्काको सहारामा पुगेर मतदान गर्नुपर्ने पाटो बिर्सिएको उनले बताए । तरपनि बागलुङका २ सय ३० वटै मतदान केन्द्रमा अपांग, जेष्ठ नागरिक समेतलाई सम्मानपूर्वक लगेर मतदान गराउने तयारी भएको उनले जानकारी दिए ।
संविधान अनुसार अपांगता भएका व्यक्तिले पनि उमेदवार समेत बन्न पाउने भएकोले मतदानस्थल अपांगमैत्री हुनुपर्ने आवाज उठेको हो । अपांग सरोकार केन्द्रका जिल्ला उपाध्यक्ष होमनाथ शर्माले हिल चियर जाने प्रकारको मतदानस्थल हुनुपर्ने, दृष्टीविहिनलाई भरपर्दो साथी चाहिने बताए ।
प्रमुख जिल्ला अधिकारी रमेश ढकालले अपांगमैत्री केन्द्र बनाउन पनि भनेको र भएसम्म बनाएको बताए । भौगोलिक रुपमा अप्ठ्यारो स्थानमा केन्द्र रहेपनि बोकेर भएपनि मतदानको अधिकार दिने गरी व्यवस्थापन भएको उनले बताए ।
अपांग र जेष्ठ नागरिकका लागि बस्ने स्थल, खानेपानीको व्यवस्थापन र प्राथमिकताको आधारमा लाइनमा नबसी मतदान गर्न पाउने व्यवस्था बनाइएको बालमन्दिर मतदान केन्द्रकी अधिकृत गुमादेवी शर्माले बताइन् । ‘चर्को घाम छ, पानी पिउने, आराम गर्ने गरी केही बेन्च र पानीको व्यवस्थापन गरेका छौं’ शर्माले भनिन्, ‘पानी परेमा पनि सुरक्षित रहनका लागि पालको व्यवस्था छ ।’ रेडक्रसको सहयोगमा बालमन्दिरमा पालको व्यवस्थापन भएको हो ।
अन्य मतदान केन्द्रमा पनि आफ्नै आन्तरिक श्रोत र विभिन्न पालिका वा संस्थाबाट सापटी मागेर भएपनि पालको व्यवस्थापन गरिएका छन् । तमानखोला गाउँपालिकाले आफ्नै स्वामित्वमा रहने गरी पाल खरिद गरेर सबै केन्द्रमा पठाएको छ । कतिपय स्थानमा बिद्यालयकै कक्षा कोठामा बाकस राख्ने गरी व्यवस्थान भएको हो ।
अपांग, जेष्ठ नागरिक र असक्त भएकाहरुको मताधिकार र उनीहरुका लागि भएका व्यवस्थाबारे अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, सिबिन र निर्वाचन पर्यवेक्षण समिति नियोकले पनि चासो राखेको छ । ती संस्थाले बागलुङ, पर्वत र म्यग्दीका केही मतदान स्थलपनि अनुगमन गरेर सुझाव समेत दिएको इन्सेकका प्रदेश प्रतिनिधि शिव खकुरेलले बताए ।





