बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पालिकाहरुमा जनप्रतिनिधिको पदस्थापन तयारी

पालिकाहरुमा जनप्रतिनिधिको पदस्थापन तयारी


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ५ २०७९, बिहिबार

बागलुङ/स्थानीय तह निर्वाचनअन्तर्गत मंगलवार बिहान बागलुङ नगरपालिकाको मत परिणाम आयो । दिनभर विजयी उम्मेदवारहरु जुलुसमा व्यस्त भैरहेको बेला नगरपालिकाका कर्मचारी भने बढी व्यस्त देखिन्थे ।
बुधवार बिजयी जनप्रतिनिधिको सपथ ग्रहणको कार्यक्रम छ । उक्त कार्यक्रमकालागि हल तयार गर्ने, जनप्रतिनिधिकालागि कस्तो खादा मालाले स्वागत गर्ने ? पहिलो दिनको पद बहाली गराउने वा अन्य दिन तोक्ने ? नयाँ जनप्रतिनिधिहरु आउँदा के कसी स्वागत तथा नगरपालिकाको बारेमा जानकारी दिने समेत बिषयमा धेरै चासो र छलफल भएको देखिन्थ्यो ।

स्वागत मात्र नभइ आगामी आर्थिक वर्षको लागि नगरसभा बोलाउने, बजेट बनाउने देखि अधिकांस क्रियाकलापका लागिसमेत नगरपालिकाले तयारी गर्नु छ । ‘अब त छिटै धेरै र लगातार कार्यक्रमहरु बनाउनुपर्नेछ, कार्यपालिकाको निर्वाचन बाँकी नै छ, त्यसैले हामी व्यस्त बन्नैपर्ने भयो’, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले भने, ‘स्थानीय सरकारको अभ्यास बारेपनि जनप्रतिनिधिहरुलाई जानकारी गराउनु पर्छ ।’ तत्काल कानून बनाउनु पर्ने बाध्यता नभएपनि विषयगत समिति निर्माण गर्नेदेखि नगरको हालसम्मका कामको फरफारक गर्ने काम समेत उत्तिकै झन्झटको छ ।

संविधान र कानून अनुसार जेठको ५ गते सम्म जनप्रतिनिधिको समय अवधि छ । तर नयाँ निर्वाचित भएकाहरुले स्वतः उनीहरुलाई प्रतिस्थापन गर्ने भएकोले पदस्थापनमा अप्ठ्यारो नपर्ने सापकोटाले बताए । ‘राजिनामा नदिएका जनप्रतिनिधिको हकमा ५ गते सम्म म्याद भएकोले के गर्ने भन्ने हो, तर नयाँ आएपछि स्वतः प्रतिस्थापन भयो’, सापकोटाले भने, ‘नगरप्रमुख र अधिकांस वडा अध्यक्षहरु समेतले राजिनामा दिइसक्नु भएको छ, त्यसैले समस्या छैन ।’ राजिनामा नदिएका जनप्रतिनिधिले आएर बसेमा ५ गतेलाई अन्याथा लिन नमिल्ने उनले बताए । नगरपालिकाले नयाँ पदाधिकारीको नेमप्लेट बनाएर तयारी गरेको छ । जनप्रतिनिधिलाई स्वागत गर्दा एकएक वटा कलम र डायरी दिने गरी तयारीसमेत भएको हो ।

चालु बर्षका अधिकांस बजेट सकिनै लागेको छ । योजनाहरु धमाधम पुरा हुने क्रममा छन् । त्यसैले उपभोक्ताहरु फाइल बोकेर नगरमा आउने क्रम शुरु हुनेछ । झण्डै एक महिना आचार संहिताको कारणले काम रोकिएको थियो । अब भने आचारसंहिता फुकुवा भएको छ । त्यसैले जेठ र असार महिना उपभोक्ताको भिड समेत हुनेछ । त्यही अवधिमा कार्यपालिकाको निर्वाचन सक्नुपर्ने दायित्व पनि निर्वाचनत अधिकृतको कार्यालयलाई छ । मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले पनि अनिवार्य अबकास पाउने दिन नजिक आएको छ । त्यसैले सपथ ग्रहणदेखि नयाँ निर्वाचन तालिकामा छिटो गएर काम सक्न हतार गरेका छन् । ‘त्यो काम सकेपछि जिम्मेवारी पनि पुरा हुन्छ’ न्यौपानेले भने,
‘अदालतमा पनि धेरै काम बाँकी छन्, अब छिटै पूरा गरेर सक्ने तयारीमा छु ।’ काम छिटो र छरितो बनाउनकैलागि न्यौपानेले मंगलवारै गलकोट नगरका प्रमुख भरत शर्मा गैरेसहित केही गाउँपालिकाका अध्यक्षहरुलाई सपथ ग्रहण गराए ।

कानूनले पालिकको प्रमुख वा अध्यक्षलाई जिल्ला न्यायाधिसले सपथ ग्रहण गराउनुपर्ने प्रावधान राखेको छ । सपथ ग्रहण गरेको प्रमुख वा अध्यक्षले आफ्नो पालिका फर्केर उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्षसहित वडा सदस्यलाई सपथ ग्रहण गराएपछि बल्ल कार्यपालिकको निर्वाचनकालागि उनीहरु मतदाता बन्न पाउनेछन् । उनीहरुले अल्पसंख्यक, दलीत, महिला लगायतको क्षेत्रबाट कार्यपालिकको सदस्य चयन गर्नेछन् ।

मंगलवार सपथ ग्रहण गरेका गैरेले अब नगरको विकासमा फेरि काम गरेर देखाउने बेला आएको बताए । अहिलेसम्म कानून बनाउने, केही पूर्वाधार र शुन्यमा रहेको नगरपालिकालाई कर्मचारी भित्राउने समेतको काम गरेको भन्दै उनले अब दोश्रो कार्यकालमा प्रशासकीय भवन बनाएर सक्ने, बसपार्क, फोहोर व्यवस्थापन र सहरी क्षेत्रको व्यवस्थापनमा ध्यान दिने बताए । ‘ग्रामीण क्षेत्रमा स्तरीय सडक, खानेपानी र स्वास्थ्य सुविधा पनि मेरो प्राथमिकतामा छन्’ उनले भने, ‘समृद्द गलकोटकालागि धेरै योजना छन्, पुरा गर्नेछु ।’ गलकोट नगरपालिकाले पनि नयाँ पदाधिकारी र जनप्रतिनिधिकालागि पदस्थापन लगायतका कामको तयारी गरेको छ । अन्य पालिकाले पनि बुधवार देखि बिहिवार भित्र पदस्थापन गर्ने तयारी थालेका छन् । जिल्ला न्यायाधिस न्यौपानेले पनि समय र पालो मिलाएर सपथ गरेर छिटो कार्यक्षेत्रमा पठाउने र कार्यपालिकाको निर्वाचन सक्ने वातावरण तयार गर्न पहल गरेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->