पोखरा – पोखरा महानगरपालिका वडा नम्बर १८ मा पुन: मत गणना माग गर्दै नेकपा एमालेका प्रतिनिधि बस्न नमानेपछि पोखरा महानगरपालिकाको मत गणना स्थगित भएको छ ।
मुख्य निर्वाचन अधिकृत कार्यालयले अहिले मतगणना रोकिएको जानकारी दिएको छ । पोखराको २२, ३२ र ३३ वडा नम्बरको मत गणना भइरहेको थियो । तर एमाले प्रतिनिधि बस्न नमानेपछि अहिले मत गणना रोकिएको हो ।
नेकपा एमालेले पोखरा १८ र ३१ मा पुनः मत गणना गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृत कार्यालयमा निवेदन दिएको छ । वडा नम्बर १८ मा ९ मत र ३१ मा ३ मत कम भएको भन्दै एमालेले पुनः मत गणना गर्न माग गरेको हो ।
पोखरा १८ मा नेकपा एमाले ३ मतले नेपाली कांग्रेससँग पराजित भएको थियो । उक्त वडामा मुचुल्कामा भन्दा ९ मत कम भेटिएको थियो ।
मेयरमा धनराज र उपमेयरमा मञ्जुको जित सुनिश्चित
महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्य र उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङको जित सुनिश्चित भएको छ। पाँच हजार १५ मत गणना बाँकी रहँदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका आचार्य पाँच हजार २८६ मतले अगाडि छन्। आचार्यले ५६ हजार ४७१ र नेकपा (एमाले) का कृष्ण थापाले ५१ हजार १८५ मत प्राप्त गरेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मंगलबार बिहानसम्म एक लाख ३८ हजार २११ मत गणना भइसकेको छ। पोखरामा एक लाख ४३ हजार २२६ मत खसेको थियो। उपमेयरमा भने एमालेकी मञ्जुदेवी गुरुङले गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाटलाई पछि परेकी छन्। गुरुङले ५८ हजार ५८२ मत र रानाभाटले ५४ हजार ५४७ मत प्राप्त गरेका छन्।





