
बागलुङ/ आफ्नै पाठ्यक्रम बनाएर पढाइ समेत थालेको बागलुङको तमानाखोला गाउँपालिकाले शिक्षा क्षेत्रमा अन्य धेरै काम थालेको छ ।
पहिलो कार्यकालमा पाठ्यक्रम बनाएर लागू गरेको तमानले दोश्रो कार्यकालमा आफ्नै बाल गृह बनाउने, उत्कृष्ठ बिद्यार्थीलाई एमबिबिएस पढाउने र युवालाई सहुलियत ऋण दिएर रोजगारी बढाउने समेत निर्णय गरेको हो । सोमबार बसेको पहिलो कार्यपालिका बैठकले ती निर्णय गरेर अगाडि बढ्ने तयारी गरेको अध्यक्ष जोकलाल बुढाले बताए ।
आफ्नै लगानीमा उत्कृष्ट बिद्यार्थीलाई एमबिविएस डाक्टर पढाउने निर्णय गरिएको बुढाले जानकारी दिए । ‘हामीले लामो समय सम्म डाक्टर नपाएर सास्ती खेपेका छौं, त्यसैले आफ्नै लगानीमा डाक्टर पढाउने निधो गरेका हौं’ बुढाले भने, ‘पढ्ने बिद्यार्थीको शैक्षिक शुल्क देखि छात्रावासमा बस्ने खानेको व्यवस्थापन पनि गाउँपालिकाले गर्नेछ ।’
बिद्यालयबाट उत्कृष्ठ अंक ल्याएर एमबिविएसमा नाम निकाल्ने मध्ये हरेक बर्ष एकएक जनालाई गाउँपालिकाले लगानी गर्ने निर्णय गरेको हो । एमबिबिएस पास गर्न चार बर्ष लाग्छ । एकजनाकालागि झण्डै ६० लाख रुपैयाँ लगानी गर्नुपर्ने प्रारम्भिक अध्ययन भएको उनले बताए । गाउँपालिकाको लगानीमा पढेको डाक्टरले ५ बर्षसम्म पालिकामा आएर काम गर्नुपर्ने छ । उनले त्यसभन्दा माथिल्लो तहको शिक्षा पढ्न नाम निकालेमा बिद्यार्थीलाई जान दिने बताए । दुइ बर्ष सेवा गरेपछि मात्रै एमडि गर्न छात्रवृत्ति कोटा पाउने कानूनी प्रावधान छ ।
तमानमा काम गर्दा गर्दौ अन्यत्र रोजगारीका लागि जानका लागि भने ५ बर्ष बिताउनु पर्ने प्रावधान सहितको कार्यविधि बनाएको बुढाले जानकारी दिए । पालिका संचालनमा आएको ५ बर्षमा तमानले डाक्टर नपाएको गुनासो छ । आफ्नै साधन श्रोतमा राख्न खोज्दापनि लाखौं तिर्नुपर्ने, अबसर पाउनासाथ अन्यत्र जाने अबस्था भएपछि आफ्नै लगानी गर्नु परेको बुढाको भनाइ छ ।
सरकारी दररेट अनुसार डाक्टरको तलब थोरै भएकोले उनीहरुले बजार क्षेत्र रोज्ने गर्छन् । कोरोना संक्रमणले हैरानी खेपेकै बेला तमानखोलामा डाक्टर नपाएर धेरै समस्या भोगेको स्थानीयले बताए । ‘डाक्टर नभएर यहाँका पीडितले धेरै दुःख पाएका थिए’ स्थानीय अमृता घर्तीले भनिन्, ‘अब केही सहज हुने भयो ।’ तमानमा कोरोना कालमा भने शतप्रतिशत रकम थपेर केही समयकालागि डाक्टर पठाइएको थियो ।
तमानले शिक्षा र स्वास्थ्यमा यस अघि पनि राम्रो लगानी गरेको थियो । हरेक बिद्यालयमा कम्प्युटर शिक्षा लागू गरेको थियो । आफ्नै पाठ्यक्रम बनाएर स्थानीय महत्वका बिषय पढाइ भैसकेको छ । साथै हरेक बिद्यालयमा अंग्रेजी शिक्षक राखेर अतिरिक्त कक्षा संचालन भैरहेको छ । त्यस्तै हरेक वडा वडामा बर्थिङ सेन्टर बनेका छन् । वडा नंं ६ को पात्ले र भित्रिवन, वडा नंं ४ को लामेलामा पनि सामुदायिक स्वास्थ्य इकाइ मार्फत सुरक्षित सुत्केरी सेवा दिन थालिएको हो ।
बाबुआमा नभएका बालबालिका धेरै भेटिएकोले आफ्नै बाल गृह बनाउने निर्णय पनि गरेको बुढाले बताए । बुढाका अनुसार बाबु आमा गुमाएका बालबालिका धेरै भेटिन थालेपछि बालगृह निर्माण गर्न लागिएको हो । बुढाले आफ्नो कमाइको ५ प्रतिशत रकम बालबालिकाको हितमा लगाउने भन्दै यस अघिनै कोष बनाएका थिए । उक्त कोष पनि बालगृहमा खर्चने बताए ।
तमानखोलामा युवा लक्षित कार्यक्रम समेत संचालन हुनेछ । रोजगारी सिर्जना गर्ने गरी कुनै व्यवसाय गर्न चाहनेकालागि तमानखोलाले ऋण उपलब्ध गराउने र त्यसको व्याज मिनाहा गर्ने लक्ष पनि छ । पहिलो निर्णयमा भएको बिषय नीति तथा कार्यक्रममा पनि जोडिएर आउने उनले जानकारी दिए ।





