मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

पोखराका जनप्रतिनिधिलाई नेतृत्व विकास तालिम

पोखराका जनप्रतिनिधिलाई नेतृत्व विकास तालिम


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २२ २०७९, आइतबार

पोखरा/ पोखरा महानगरपालिकाले नवनिर्वाचित पदाधिकारी र कर्मचारीका लागि नेतृत्व विकास तालिम आयोजना गरेको छ ।
२ दिने तालिममा महानगरका जनप्रतिनिधि र महाशाखा, शाखा प्रमुखलाई ५ समूहमा विभाजन गरिएको छ । अभिमुखीकरण मात्र नभएर अन्तरघुलनका लागि कार्यक्रम आयोजना गरिएको मेयर धनराज आचार्यले बताए । पूर्वराजदूत महेश दाहाल, अभियन्ता निपेष ढाका, रञ्जित आचार्य, रवीन कटुवाल, खिमलाल सापकोटा तालीमका सहजकर्ता रहेका छन् । सहभागीलाई विभिन्न अतिरिक्त क्रियाकलापमा समेत सहभागी गराइएको गराइने मेयर आचार्यको भनाइ छ ।

कर्यक्रमको उद्घाटन गर्दै गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा प्रदेशको राजधानी मात्र नभएर पर्यटकीय केन्द्र भएकाले विकासका लागि सँगसगै अगाडि बढ्नुपर्ने बताए ।

मुख्यमन्त्री पोखरेलले भने, ‘पोखरा प्रदेशको राजधानी मात्र होइन पर्यटकीय केन्द्र पनि हो । यो सहरलाई कस्तो बनाउने भनेर प्लानिङ गर्ने हामीहरुले नै हो । पोखरालाई राम्रो बनाएर आउने नेतृत्वलाई सुम्पने यही समूहले हो । सोचौं कसरी त्यो लक्ष्यलाई पूरा गर्न सकिन्छ ।’
पोखराको सुन्दरता बचाइ राख्न र पर्यटक आकर्षणका लागि थप पूर्वाधार निर्माण गर्नुपर्ने उनको भनाइ थियो ।

पोखरा र गण्डकी प्रदेश हरेक सूचकांकमा अगाडि रहे पनि आर्थिक गतिविधिका हिसावमा पछि रहेको भन्दै मुख्यमन्त्री पोखरेलले भने, ‘हाम्रा नीति नियम कमजोर हुन् या कहाँनेर कमजोरी छ त्यो पत्ता लगाएर आर्थिक गतिविधि बढाउनुपर्ने छ । पोखरा त अब प्रदेशको मात्र होइन मुलुककै आर्थिक केन्द्र बन्नुपर्छ । पर्यटनमार्फत् त्यो सम्भावना पनि छ ।’

स्टाटेलाइट सहर विस्तारका लागि प्रदेशले पनि गृहकार्य गरिरहेको भन्दै मुख्यमन्त्री पोखरेलले सबै खालका गतिविधिलाई पोखराभित्र मात्र समेट्न सम्भव नभएको जिकिर गरे । पोेखराका पर्यटकीय गन्तव्यहरुमा पूर्वाधार थपेर शुल्क उठाउने विषयमा, बसपार्क, सार्वजनिक शौचालय निर्माणदेखि व्यवस्थित यातायातका लागि प्रदेश सरकार र पोखरा महानगरपालिका बीच समन्वय हुन सक्ने उनको भनाइ थियो ।
फेवातालको मापदण्ड र संरक्षणको विषय जहिल्यै पनि इस्युका रुपमा आइरहेको र यसका लागि सर्वोच्चले प्रष्ट आदेश दिइसकेको भन्दै मुख्यमन्त्री पोखरेलले यसमा पनि महानगर र प्रदेश सरकार मिलेरै अगाडि बढ्न जरुरी रहेको बताए ।

ल्यान्डफिल साइटको विकल्पको खोजी र विमानस्थलसम्मको बाटो विस्तार प्राथमिकतामा राख्न महानगरलाई सुझाए ।
पोखराको सार्वजनिक जग्गा संरक्षणमा पनि महानगर अझै चनाखो हुनुपर्ने सुझाव उनले दिए । उनले भने, ‘महानगर आफै र पोखरा उपत्यका नगर विकास समितिको नाममा धेरै जग्गा छ, त्यसको उपयोगिताका लागि अब योजना बनाउन ढिला गर्नु हुँदैन । फेवाताललाई संरक्षित क्षेत्र त घोषणा गरिएको छ, अब काम कसरी गर्ने चुनौती यसैमा छ ।’

उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस कास्की सभापति किशोरदत्त बराल, माओवादी केन्द्र अध्यक्ष बखानसिंह तमु, नेकपा एकीकृत समाजवादीका कावा अध्यक्ष खड्ग हमाल,उपमेयर मञ्जुदेवी गुरुङलगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->