बागलुङ/जिल्लाको निसीखोला गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी कार्यक्रमहरु तयार गर्ने भएको छ । भौगोलिक हिसाबले बिकट रहेको निसीखोलामा स्वास्थ्य क्षेत्रको सुधारका लागि गाउँपालिकाले केही महत्वपुर्ण निर्णयहरु गरेको हो ।
गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्तीले पहिलो गाउँ कार्यपालिकाको बैठकमा राखेका स्वास्थ्य क्षेत्रसँग सम्बन्धित तीन प्रस्तावहरु सर्वसम्मत पारित भएका छन् । निसीखोलाका सबै नागरिकको स्वास्थ्य बिमा निशुल्क गरिदिने, आफ्नै एम्बुलेन्स सञ्चालन गर्ने र जेष्ठ, अपांगता भएका नागरिक तथा गर्भवती महिलाहरुलाई हरेक महिना टोल टोलमै पुगेर स्वास्थ्य परीक्षण गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत इश्वरलाल शाक्याले बताए ।
निसीखोलामा यसअघि अति बिपन्न परिवारको मात्रै गाउँपालिकाले स्वास्थ्य बिमा गरिदिने गरेको थियो । स्वास्थ्य बिमा कार्यक्रममा सबैको सहभागिता बिस्तार गर्ने र स्वास्थ्यमा पहुँच बृद्धि गर्नका लागि सबै नागरिकको निशुल्क स्वास्थ्य बिमा गर्न लागिएको गाउँपालिका अध्यक्ष घर्तीले बताए ।
पश्चिम बागलुङका सर्वसाधारणले एम्बुलेन्सको अभावमा आपतकालिन अबस्थामा सवारी साधनको प्रयोग गर्दा भोगेको सास्ती र तिर्नुपर्ने महंगो मुल्यका कारण सर्वसाधारणमा परेको मार कम गर्न गाउँपालिकाले आफ्नै एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेको हो । यसअघि पश्चिम बागलुङका तीन पालिकामध्ये ढोरपाटन नगरपालिकाले जनप्रतिनिधि आएपछि आफ्नै एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो । निसीखोलामा अहिलेसम्म कुनै संघसंस्था वा सरकारी निकायको एम्बुलेन्स छैन् ।
आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटको संघारमा रहेको गाउँपालिकाले सामाजिक उत्तरदायित्व बोध हुनेगरी जेष्ठ नागरिक, अपांगता भएका र गर्भवती महिलाहरुको स्वास्थ्य परीक्षण गर्ने महत्वपूर्ण निर्णयसमेत गरेको छ ।
गाउँपालिका सबै वडामा रहेका स्वास्थ्य संस्था र गाउँपालिकाको स्वास्थ्य शाखाको सहभागितामा यो कार्यक्रम कार्यान्वयन हुने छ । मातृ शिशु मृत्युदर शुन्यमा पुर्याउने, अपांगता भएकाहरुका लागि आवश्यक उपचार, रेखदेख र औषधि नियमित गराउने तथा जेष्ठ नागरिकको स्वास्थ्यको ख्याल गर्नका लागि यो कार्यक्रम कार्यान्वयनमा ल्याउन लागिएको अध्यक्ष घर्तीले जानकारी दिए ।
गाउँपालिकाले पूर्वाधार विकासको क्षेत्रमा पनि महत्वपूर्ण कार्यक्रम ल्याउने र शिक्षा क्षेत्रको सुधारका लागि समेत कार्यक्रमहरु क्रमश ल्याइने जनाएको छ । निर्वाचित अध्यक्षले पदभार ग्रहरण गर्दै निसीखोलामा रहेको मगर खाम भाषाको संरक्षण र प्रबद्र्धन गर्ने बताएका थिए । मध्यपहाडी लोकमार्गले फेरो हालेको निसीखोला सडक पूर्वाधारभन्दा अन्य विकासका पूर्वाधारमा कमजोर रहेको भन्दै जनप्रतिनिधिहरुले सोही अनुसारका कार्यक्रम बनाउने गरेका छन् ।





