बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङ नगरका सबै वडामा बाल सञ्जाल

बागलुङ नगरका सबै वडामा बाल सञ्जाल


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २६ २०७९, बिहिबार

बागलुङ/ तीन वर्षभित्र बालमैत्री नगर बनाउने घोषणा गरेको बागलुङ नगरपालिकाले आवश्यक सूचकहरु पूरा गर्नका लागि प्रकृया थालेको छ । बुधबार बागलुङ नगरपालिकाका १४ वटै वडामा बालसञ्जाल गठन गरेर नगरपालिकाले बालमैत्री स्थानीय सासनका लागि प्रकृया सुरु गरेको हो ।

वडास्तरीय बाल सञ्जाल गठन कार्यक्रमको नगरकार्यपालिकाको कार्यालयबाटै भर्चुअल माध्यमबाट उद्घाटन गर्दै नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बालमैत्री नगर बनाउने अभियान टुंगोमा पुगेपछि मात्रै रोकिने बताए । उनले बाल मैत्री नगरका लागि आवश्यक सूचकहरु पूरा गर्न नगरपालिकाले नीति तथा कार्यक्रम र बजेटमा कुनै कसर बाँकी नराख्ने बताए । ‘हामीलाई थाहा छ, यो चुनौती पूर्ण काम हो’, श्रेष्ठले भने ‘तर हामिले गरेको घोषणा पूरा गरेरै छोड्छौं ।’

उनले बालमैत्री नगर घोषणाका लागि पूरा गर्नुपर्ने ५१ सूचकहरुमध्ये १२ सूचक विद्यालयले पूरा गर्नुपर्ने भएकाले सोही अनुसारको काम गर्न बिद्यालयहरुलाई निर्देशनसमेत दिए । हरेक विद्यालयमा बाल क्लव गठन गरेर बलमैत्री नगरका सूचक पुरा गर्न आवश्यक पर्ने योजनाहरुको तर्जुमा गरेर पठाउन नगरपालिकाले निर्देशन दिएको छ ।

शिक्षा, स्वास्थ्य र सामाजिक विकास क्षेत्रका सूचकहरु पुरा गर्नका लागि आवश्यक सहकार्य गर्ने भन्दै श्रेष्ठले बालमैत्री नगर तयार हुँदा समाज रुपान्तरणको महत्वपूर्ण क्षणमा नगरपालिका प्रबेश गर्ने बताए । नगरपालिकाले आउँदो असार ३ गते नगरस्तरीय बाल सञ्जाल गठन गर्ने कार्यक्रम तय गरेको छ ।

वडा बाल सञ्जाल गठन कार्यक्रममा बालमैत्री नगर घोषणाका लागि आवश्यक पूर्वाधार, नेपाल सरकारले तोकेको सूचकहरु पुरा गर्दा आउने चुनौती र त्यसको सामना गर्नका लागि आवश्यक योजनाको बिषयमा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख कुश्मराज उपाध्याय, स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौ र सामाजिक बिकास कार्यालयका प्रमुख डम्मर जिसीलगायतले बोलेका थिए ।

कार्यक्रमको अध्यक्षता प्रमुख प्रशासकीय अधिकृत पुरुशोत्तम सापकोटा र सञ्चालन सामाजिक विकास शाखाकी अधिकृत सरस्वती रेग्मीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->