बागलुङ/ वर्खा लाग्यो, बाढी पहिरोको समय सुरु भएको छ । विगतका वर्खाहरुलाई फर्केर हेर्दा बागलुङमा मनसुनजन्य विपद्का कारण धेरै क्षति भएका तथ्यांकहरु सरोकारवालासँग छन् । हिउँदमा हुने आगलागी, रोगहरुको महामारी, चट्याङ, भुकम्प जस्ता विपत्हरुको सामना सर्वसाधारणले गरिरहेकै छन् ।
‘विपत् बाजा बजाएर आउँदैन्’, भन्ने भनाई सबैलाई थाहा छ । सरोकारवाला निकायले त्यहिं बुझेकाले होला विपत् पछिको उद्धार, राहत र पुनःस्थापनाका लागि आफ्ना योजना बनाईरहेकै हुन्छन् । विपत् पछिको उद्धारका लागि बागलुङमा जनशक्तिको अभाव त छैन् तर तयारी अवस्थामा रहने निकायहरु औजार, उपकरण तथा महत्वपूर्ण सामग्रीहरको अभाव झेलिरहेका छन् ।
बागलुङ नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा वन वातावरण र विपत् व्यवस्थापनका विषयमा सरोकारवालासँग गरेको छलफलमा सहभागीले विपत् व्यवस्थापनमा बजेट अभवानै प्रमुख चुनौती रहेको औंल्याए ।
‘उद्धारका लागि खटिने प्रहरीसँग औजार पनि छन् तर ती औजारमा धार छैनन्, डोरी टुटेफुटेका छन्’, राष्ट्रिय अनुसन्धान कार्यालय बागलुङका प्रमुख बिनय चतुर्वेदीले भने ‘कम्तिमा औजारमा धार लगाउने बजेटको व्यवस्था गरिदिनुस्, तालिम प्राप्त जनशक्ति तयार छ, विपत् पछिको उद्धारमा सहयोग हुनेहोभने क्षति कम गर्न सकिन्छ ।’
विपत्का सम्भावित घटनाको बारेमा सम्बन्धित सबैलाई पूर्व जानकारी गराउन आवश्यकता रहेको सरोकारवालाले औल्याए । तत्काल सूचना संकलन, विश्लषेण तथा सम्प्रेषण गर्ने र खोज, उद्धार तथा राहत सम्बन्धी कार्यको समन्वय तथा परिचालन गर्न आपत्कालिन काम कार्वाही अघि बढाउन सबैले आआफ्नो क्षेत्रबाट भुमिका खेल्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलले बताए ।
विपद्को समयमा खोज, उद्धार तथा राहत कार्यका लागि तत्काल परिचालन गर्ने स्वयंसेवक ब्यूरो गठन गर्ने, विपद् प्रभावित क्षेत्रका नागरिकहरुलाई अस्थायी पुनर्थापना तथा सिकाइ केन्द्रको निर्माणमा स्थानीय समुदाय एवं स्वयंसेवकहरू परिचालन गर्ने गर्नुपर्ने विषयमा सरोकारवालाको जोड थियो ।
विपत् प्रतिकार्यमा निजी तथा गैरसरकारी संस्था, स्थानीय समुदाय तथा अन्य सरोकारवालालाई समन्वयात्मक रूपमा परिचालन गर्ने, गराउने, विपत्का लागि आपत्कालीन गोदाम घर सञ्चालन गर्ने तथा प्राप्त राहत सामग्रीको एकद्वार प्राणालीमा व्यवस्थापन गर्ने, विपत्बाट प्रभावित व्यक्तिका लागि मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउने, विपत् व्यवस्थापन सम्बन्धी तोकिए बमोजिमका अन्य कार्य गर्ने, गराउने बिषयमा समेत छलफल भएको थियो ।
बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, उपप्रमुख राजु खड्का, सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख दयानिधी ज्ञवाली, सशस्त्र प्रहरी गणका प्रमुख राकेश गुरूङ, स्वास्थ कार्यालय बागलुङका देवप्रकाश घिमिरे, नेपाल पत्रकार महासंघका सचिव विजय राना, सहसचिव तारानाथ आचार्य, अन्तर पार्टी महिला संजालका अध्यक्ष कुसुम बुढा, सामुदायिक सेवा केन्द्रका अध्यक्ष दुर्गा आचार्य, लिला खड्का, धौलागिरि बहुमुखी क्याम्पसका बिद्यार्थी बिष्णु पौडेल, बैंकर्स संघका अध्यक्ष हेमराज पौडेल गैरसरकारी संस्था महासंघका मुक्तिराम सापकोटालगायतले धारणा राखेका थिए ।





