बागलुङ/ जिल्लाको बरेङ गाउँपालिकाले आगामी आर्थिक वर्षमा आर्थिक क्षेत्रको विकासका लागि टुक्रे योजनाहरुलाई बिस्थापन गर्ने नीति सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षमा ११ प्राथमिकताका क्षेत्रमा काम गर्ने योजनासहित गाउँपालिकाले टुक्रे तथा साना योजनाको बिस्थापन र ठुला योजनाहरुलाई प्राथमिकतामा राखेको हो ।
गाउँ सभामा गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कृषि र उत्पादनको क्षेत्रलाई प्रथामिकता दिँदै साना र टुक्रे अनुदानमुखी कार्यक्रमलाई निरुत्साहित गरी एकिकृत र सामुहिक कृषि प्रणालीको थालनी गरिने घोषणा गरे । गाउँपालिकाले आर्थिक विकासको क्षेत्रमा पर्यटनलाई महत्वपूर्ण क्षेत्र मानेको छ । गाउँपालिकाले ‘आन्तरिक पर्यटन, बरेङको सान’ कार्यक्रम सञ्चालन गरि आन्तरिक पर्यटन प्रवर्धन र पर्यटन पूर्वाधारको विकास गर्ने योजना अघि सरेको छ ।
विकासको प्रमुख आधारका रुपमा पर्यटन क्षेत्रलाई विकास गर्ने नीति लिईएको अध्यक्ष शर्माले बताए । गाउँपालिकाले शिक्षा क्षेत्रमा ‘शिक्षामा प्रविधि, बरेङमा समृद्धि’ कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ । सामुदायिक विद्यालयप्रति नागरिकहरूको विश्वास वृद्धि गर्नका लागि र शैक्षिक बेरोजगारहरूको संख्या न्यून गर्न सैद्धान्तिक र अव्यवहारिक शिक्षा प्रणालीलाई विस्थापित गरी प्रयोगात्मक, प्राविधिक र जीवन उपयोगी शिक्षा प्रदान गर्न कार्यक्रम ल्याईएको हो ।
स्थानीय पाठ्यक्रम तयार गरेर कक्षा १ देखि ८ सम्मको विकासलाई जोड दिइने नीतिमा उल्लेख छ । ‘बरेङको ध्यान, स्वस्थ्य बरेङबासी अभियान’ मार्फत सबै बरेङबासीलाई पर्याप्त र प्रभावकारी आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
पूर्वाधार विकासलाई विनास बिना नै बिस्तार गर्ने नीति गाउँ पालिकाले अघि सारेको छ । ‘बिना विनाश, वातावरणमैत्री विकास’को अवधारणालाई आत्मसात गर्दै पूर्वाधार विकासअन्र्तगत सडक, विद्युत, खानेपानी, सिंचाई लगायतका क्षेत्रमा लगानी वृद्धि गर्ने र विकास र वातावरण संरक्षणलाई समानान्तर रुपमा लैजानले योजना रहेको नीतिमा उल्लेख छ । बालमैत्री, अपाङ्गमैत्री, जेष्ठ नागरिकमैत्री स्थानीय तहका रुपमा गाउँपालिकालाई स्थापित गर्ने । महिला, बालबालिका, दलित, आदिवासी जनजाती लगायत सबै लक्षित वर्गहरूलाई सम्बोधन गर्ने नीतिमा उल्लेख छ ।
आर्थिक तथा समाजिक रुपले पिछडिएका समुदायको लागि विभिन्न प्याकेजहरूको व्यवस्था गरी राज्यको मूलप्रवाहमा प्रवाहीकरण गर्न राहत र परनिर्भरता हैन सिप र आत्मनिर्भरता विकास गर्ने व्यवस्था नीति तथा कार्यक्रमले गरेको छ । ‘दुखी, असहाय र बेसहारा, बरेङको अभिभारा’ कार्यक्रममार्फत अभिभावकविहीन बालबालिका, बेसहारा, अति विपन्न तथा जोखिम अवस्थामा रहेका जेष्ठ नागरिकहरूको तथ्यांक संकलन गरी शिक्षा, स्वास्थ्य तथा न्यूनतम जीवनयापनका लागि सरोकारवाला निकायसँग सहकार्य गरी विशेष व्यवस्था गर्ने भएको छ ।
अति विपन्न नागरिकहरुका लागि एम्बुलेन्स सेवामा सहुलियत प्रदानका लागि अनुदानको व्यवस्था गर्ने नीति गाउँपालिकाले ल्याएको छ । ‘बरेङको चाहना, सुरक्षित छाना’को नारासहित संघ र प्रदेश सरकारसँग सहकार्य गरी गाउँपालिकाभित्रका सबै खरको छाना भएका घरलाई जस्तापाताद्वारा विस्थापित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
‘बरेङको नारा, एक घर एक धारा’ र सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य गरी नियमित विद्युत सेवा प्रवाहको व्यवस्था गर्न काठेपोल बिस्थापन गर्ने नीतिसमेत गाउँपालिकाले लिएको छ । नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको प्रमुख प्रशासकीय अधिकृत जीत बहादुर रानाले बताए ।





