मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

दलहरु दलजस्ता बन्नुपर्छ : सांसद सापकोटा

दलहरु दलजस्ता बन्नुपर्छ : सांसद सापकोटा


  • ढोरपाटन संवाददाता
  • असार ६ २०७९, सोमबार

बागलुङ/ गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले नेपालका राजनीतिक दलहरु दलजस्तै भएमा मात्रै जनताले. विश्वास गर्ने बताएका छन् । पछिल्लो समय दलभन्दा बाहिरका उम्मेद्वारहरुप्रति जनताको आकर्षण बढेको भन्दै सापकोटाले यसले नेपालको राजनीतिमा नयाँ बहस पैदा भएको बताए ।

‘फेरी पनि दलहरुको बिकल्प दलहरु नै हुन्, तर हाम्रो देशका राजनीतिक दलहरु दलजस्तो भएर रहन सकेनन्’, सापकोटाले भने ‘राजनीतिक दलहरु करेक्सन हुनुपर्ने बेला आएको छ ।’ निष्ठा र अनुशासनमा रहने दलका नेताहरुलाई मात्रै जनताले विश्वास गर्ने भन्दै सापकोटाले राजनीतिक दलहरुका बीचमा आएको चुनौती चिर्न दलहरुले सदाचारयुक्त प्रतिनिधिलाई जनताको माझमा लैजानुपर्नेमा जोड दिए ।

आइतबार जननिगरानी साप्ताहिक पत्रिका बागलुङको पाँचौ बार्षिकोत्सव समारोहलाई बागलुङमा सम्बोधन गर्दै सापकोटाले स्वतन्त्रको पक्षमा रहेको जनलहर र युवा आकर्षणलाई पार्टीले बुझ्नुपर्नेमा जोड दिए । ‘जो नेताको चल्ने स्रोत छ, आफ्नो दिन दैनिकी चलाउनकै लागि अनियमितता गर्दैन, उसैलाई जनताले विश्वास गर्छन्’ सापकोटाले भने ‘पछिल्लो पटकका घटना हेर्नुहोस्, नेताहरुका उठबस र दैनिकी हेर्नुहोस्, लाजमर्दो अबस्था छ, यसलाई सुधार गर्नका लागि दलहरु सुध्रिन आवश्यक छ ।’

जनतामा रहेको चाहना र राज्यको स्रोत साधनको तारतम्य नमिलेका कारण राजनीतिप्रति जनविश्वास कम हुँदै गएको उनले बताए । सानो बजेटमा आशा र अपेक्षा धेरै हुने र पुरा नहुँदा जनतामा निराशा पैदा हुने उनको धारणा थियो । ‘निर्वाचनका समयमा सबै पार्टीले उमेद्वारलाई भन्छन्, जनताले जे मागेपनि हुन्न नभन्नुहोस्’ उनले भने ‘जितेपछि जनताका माग पुरा गर्ने स्रोत हुँदैन्, त्यहीँबाट सुरु हुन्छ बितृष्ण ।’
उनले दलका नेता तथा जनप्रतिनिधिहरुले आफुले गरेका काममा आफै समिक्षा गर्ने बेला आएको बताए । आफु आफ्नो समिक्षा आफै गर्ने अवस्थामा आएको भन्दै सापकोटाले सांसद विकासे कार्यकर्ता नभई बिधि बनाउने प्रतिनिधि भएको दाबी गरे ।

कार्यक्रममा काठेखोला गाउँपालिकाका संस्थापक तथा निवर्तमान अध्यक्ष अमर थापाले सञ्चार क्षेत्रको विकासका लागि स्थानीय सरकारले लगानी बढाउनुपर्ने बताए । सञ्चार क्षेत्रमा गरेको लगानी बिना कामको भएको सोँच राख्ने परिपाटी हटाउनुपर्ने भन्दै थापाले सञ्चार विकासको महत्वपूर्ण अंग भएको बताए । काठेखोला गाउँपालिकाका उपाध्यक्ष तिलक पुनले सञ्चारमाध्यामको विकास र सञ्चार क्षेत्रसँग सहकार्य गर्न स्थानीय सरकार सधैं तयार रहेको बताए ।

कार्यक्रममा जिल्ला सहकारी संघका सल्लाहकार दिपक गौतम, पत्रकार महासंघका सचिव बिजय रानालगायतले बोलेका थिए । गुहेली सञ्चार सहकारी संस्थाद्वारा प्रकाशित पत्रिकाले सहकारीका शेयर सदस्यहरुमध्येबाट जनप्रतिनिधि बनेका र बिभिन्न संघ संस्थाको कार्यकारी पदमा पुगेकाहरुलाई सम्मान गरेको थियो । सहकारी अध्यक्ष खिमबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सम्पादक नविन शिशिर बिकले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->