बागलुङ/उच्च अदालत पोखरा, बागलुङ इजालसमा आएका मुख्य न्यायाधीश कृष्ण गिरीले फौजदारी न्याय प्रशासनको अनुसन्धानको क्षेत्र व्यापक बनाउनु पर्ने बताएका छन् । उनले परम्परागत अनुसन्धान पद्दतिमा आधुनिकता थप गर्नुपर्नेसमेत बताए ।
उच्च अदालत बार एसोसिएसन बागलुङले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले कानून व्यवसायी, न्ययायाधीश र अनुसन्धान अधिकारीसमेतको साझा पहलबाट जनताले न्याय पाउन सक्ने बताए । उनले अधिवक्ताको निरन्तर सहयोगबाट मात्र अदालतले न्याय दिन सक्ने समेत बताए ।
कार्यक्रममा आइतवारै आइपुगेका जिल्ला अदालत बागलुङका न्यायाधिस दिवकरण भट्टले न्यायाधिस र कानून व्यवसायी सिक्काको दुई पाटा भएको बताए । उनले सिक्काको एउटा पाटोमा मूल्य र अर्को पाटोमा आधिकारिकता देखाएकोजस्तै कानून व्यवसायी मूल्य र न्यायाधीश त्यसको आधिकारिक पाटो भएको बताए ।
उच्च अदालत बार एसोसिएसनका अध्यक्ष अखिलनाथ शर्माको अध्यक्षता, सचिव रमेशबहादुर खड्काको संचालनमा सम्पन्न कार्यक्रममा कानून व्यवसायीहरुले न्यायाधिसको स्वागत गर्दै बार र बेन्च मिलेर समस्या समाधान गर्नुपर्ने धारणा राखे ।
जिल्ला अदालतमा लामो समय न्यायाधीश नभएर मुद्दा फछ्र्यौटमा ढीलाइ भएको थियो । उच्च अदालतमा पनि न्यायाधिसहरु कम थिए । मुख्य न्यायाधीशको रुपमा गिरी आएपछि उच्च अदालतमा पनि न्याय प्रशासन चुस्त हुने विश्वास लिइएको छ ।





