पोखरा/ भूमि अधिकार मञ्च कास्कीले पोखरा महानगरपालिकाका ३३ वटै वडाका वडाध्यक्षहरुलाई आफ्नो माग पत्र पेश गर्ने अभियान सुरु गरेको छ ।
पोखराका मेयर धनराज आचार्यलाई आफ्ना समस्या र मागप्रति ध्यानाकर्षन गराएको मञ्चले अब हरेक वडाका वडाध्यक्षलाई पनि भेटेर आ–आफ्नो वडाका समस्या समाधान गर्न दबाव दिने अभियान चलाएको हो । अभियानअन्तर्गत सबै वडाध्यक्षलाई ३ बँुदे माग पत्र पेश गर्ने मञ्चका कास्की जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङले बताए । पोखरा वडा नं. ९ का वडा अध्यक्ष दीपेन्द्र मरासिनीलाई माग पत्र हस्तान्तरण गरेर अभियानको सुरु भएको र हालसम्म ९ वडामा पुगिसकेको मञ्च कास्कीका सस्थापक अध्यक्ष एवं प्रदेश सदस्य रामबहादुर लामिछानेले बताए ।
पत्रमा पोखरा महानगरपालिका र ३३ वटै वडाहरुमा राष्ट्रिय भूमि आयोगको सहजीकरण समितिमा मञ्चको तर्फबाट १ महिला र १ पुरुषलाई मनोनित गर्नुपर्ने उल्लेख छ । त्यसैगरी भूमिहीन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थीत वसोवासीहरुलाई भोगाधिकारको आधारमा सोही स्थानमा जग्गाको नाप नक्सा गरी निस्सा उपलब्ध गराई पूर्जासहितको व्यवस्था गर्न भनिएको छ ।
विगत २०६८ सालमा नेपाल सरकारले गठन गरेको सुकुम्बासी समस्या समाधान आयोगले भूमिहिन सुकुम्बासीहरुलाई छानविन गरी उक्त वस्तीहरुमा जग्गा नाप नक्सा समेत तयार गरी सुकुम्बासी परिचयपत्र वितरण गरेको हुनाले सो प्रमाणलाई आधारमानी निजहरुलाई सोही स्थानमा श्रेस्ता कायम गरी पूर्जा वितरण गरियोस् भन्ने माग राखिएको छ ।




