पोखरा/ पोखराको ड्यामसाइडबाट ४५ लाख ९७ हजार १८० रुपैयाँसहित तीन जना चिनियाँ र एक नेपाली पक्राउ परेका छन् । शंकास्पद गतिविधि भइरहेको सुचनाका आधारमा कास्की प्रहरीले विहिबार छापा मारेर नगदसहित उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ परेका व्यक्तीहरुको साथबाट नियन्त्रणमा लिएको नगदको स्रोत उनीहरुले खुलाउन नसकेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए । उनका अनुसार पक्राउ पर्ने नेपाली ककनी गाउँपालिका– ७ का सुमन तामाङ रहेका छन् भने अन्य तीनजना चिनियाँ नागरिकको पहिचान खुलेको छैन । पक्राउ पर्ने चिनिया नागरिक २ जना पुरुष र एकजना महिला रहेका छन् । उनीहरुले परिचय खुल्ने कागजात देखाएपछि मात्र वास्तविक पहिचान खुल्ने डिएसपी तिवारीले बताए ।
ड्यामसाइडस्थित बज्र इन होटलमा विगत करिब ६ महिनादेखि उनीहरुले कार्यालय संचालन गरेका थिए । तामाङका नाममा खोलिएको डाइमण्ड टेक्नोलोजी कम्पनीले सफ्टवेयर निर्माण गर्ने र व्यवसाय प्रवद्र्धन गर्ने उदेश्य देखिएको डिएसपी तिवारीले बताए । कम्पनीमा काम गर्ने भनिएका चिनिया नागरिक पर्यटक भिसामा नेपाल आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
अध्यागमन ऐनले जुन प्रयोजनका लागि नेपाल आएको हो, त्यसबाहेक अन्य काम गर्न रोक लगाएको छ । अहिलेसम्म उनीहरुले कुनै पनि कागजात देखाउन नसकेको डिएसपी तिवारीले बताए । ‘उहाँहरुले आफ्ना पहिचान खुल्ने कागजात र रकमको स्रोत खुलाउने कागजात मगाउँछौ भन्नुभएको छ,’ उनले भने, ‘यस विषयलाई हेर्ने अन्य निकायसँग सहकार्य गरेर अनुसन्धान अघि बढाउँछौं ।’
कम्पनीमा ८९ जना नेपाली कर्मचारी रहेको देखिएको छ । उनीहरुलाई प्रहरी अनुसन्धानका लागि आवश्यक पर्दा उपस्थित हुने शर्तमा छाडिएको छ । पक्राउ परेका व्यक्तीहरुबाट केही डिभाइसहरु समेत प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुका गतिविधि विस्तृत अनुसन्धान पश्चातमात्र यथार्थ पत्ता लाग्ने डिएसपी तिवारीले बताए ।





