बागलुङ/ जिल्लाकै नमूना माविको परिचय बनाएको गणेश माध्यामिक विद्यालय बलेवाले ‘स्कुल बस’ सञ्चालनमा ल्याउने भएको छ । बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित विद्यालयले छिमेकी वडाका विद्यार्थी र विद्यालयभन्दा टाढा बसोबास गर्ने विद्यार्थीको लागि ‘स्कुल बस’ सञ्चालनमा ल्याउने भएको हो ।
बागलुङ नगरभित्र रहेका सामुदायिक विद्यालयहरुमध्ये ‘स्कुल बस’ सञ्चालनमा ल्याउने गणेश मावि दोस्रो विद्यालय हो । यसअघि बागलुङ नगरपालिकाको सहयोगमा लहरेपिपल माविले स्कुल बस सञ्चालनमा ल्याएको थियो ।
सडकको पहुँच हरेक बस्तीमा पुगेकाले सहजै ‘स्कुल बस’ चल्ने देखेर गणेश माविले बस सञ्चालन गर्न थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आनन्द आचार्यले बताए । भारतीय गणतन्त्र दिवसका अवसरमा भारतीय राजदूतावासले विद्यालयलाई बस उपलव्ध गराएको थियो ।
३५ सिट क्षमताको टाटा कम्पनीको बस प्राप्त भएकाले अन्य व्यवस्थापनका काम विद्यालयले गर्ने गरी बस सञ्चालन गर्न थालिएको आचार्यले बताए । २६ जनवरीमा भारतीय गणतन्त्र दिवसका अवसरमा हरेक वर्ष दूतावासले शिक्षा र स्वास्थ्य क्षेत्रका लागि आवश्यक सवारी साधन सहयोग गर्दै आएको छ । यस पटकको गणतन्त्र दिवसका अवसरमा सवारी लिन इच्छुकका लागि खुलाइएको आवेदनमा छनोट भएको अध्यक्ष आचार्यले बताए ।
दूतावासले बागलुङ नगरपालिका–१२ को अमलाचौर स्वास्थ्य चौकीका लागि एम्बुलेन्स पनि सहयोग गरेको छ । माघमा घोषणा भएका दुवै सवारी साधन शनिबार दूतावासले सम्बन्धित संस्थाहरुलाई हस्तान्तरण गरेको छ । ‘यो बस हाम्रो लागि अवसर र चुनौती दुवै हो’, अध्यक्ष आचार्यले भने, ‘७० लाखभन्दा धेरै मुल्यको साधन निःशुल्क प्राप्त भएको छ, यसको उपयोग र सञ्चालनका चुनौती भने बाँकी छन् ।’ बस सञ्चालनका लागि आवश्यक खर्चको व्यवस्थापन सबैभन्दा ठूलो चुनौतीको विषय भएको उनले बताए ।
दूतावासले देशभरका विद्यालयहरुले पाउने बसहरु शिक्षामन्त्री देवेन्द्र पौडेललाई हस्तान्त्रण गरेको थियो । सदरमुकाममा रहेका संस्थागत विद्यालयहरुले ‘स्कुल बस’ सञ्चालन गरेपनि सामुदायीक विद्यालयले भने ‘स्कुल बस’ सञ्चालन गर्न सकेका थिएनन् ।





