बागलुङ/ बागलुङ नगरपालिका क्षेत्रमा हरियाली प्रर्वद्वनका लागि नगरले संस्कारसँग वातावरणलाई जोड्ने अभियान थालेको छ । पितृकार्य (श्राद्ध) गर्दा प्रत्येक व्यक्तिले आफ्ना पितृको सम्झनामा एक जोडी बिरुवा रोप्नुपर्ने संकृतिको विकास गर्न अभियान थालिएको हो ।
आफन्तको सम्झनामा वृक्षारोपण गर्न प्रेरित गर्दा सर्वसाधारणलाई बुझाउन सहज हुने र बिरुवा रोप्ने संस्कारको विकास गर्दा वातावरण जोगाउन सहज हुने भएकाले यो अभियान सुरुवात गर्न थालिएको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताए । ‘हिजो पितृहरुको सम्झनामा रुख रोप्ने, चौतारी पोखरी बनाउने प्रचलन थियो, अहिले त्यो हरायो’ श्रेष्ठले भने ‘हामीले संस्कारलाई वातावरणसँग जोड्न नसकेकाले हिजोको चलन हराएको हो, त्यो वैज्ञानिक चलन थियो भनेर यो कार्यक्रम ल्याएका हौं ।’
सडक तथा पूर्वाधार निर्माणका क्रममा मासिएका रुखहरुको पुनस्थापनाका लागि यो कार्यक्रम प्रभावकारी हुने श्रेष्ठको विश्वास छ । ‘आज सडक बनाउँदा सबैले जंगल, चौतारी र पोखरी खोजी खोजी मासे, तर नयाँ बिरुवा लगाउन कसैको ध्यान गएन’ श्रेष्ठ भन्छन् ‘अब श्राद्ध गर्दा होस् वा स्मृतिसभा गर्दा दान गर्ने साटो रुख रोप्ने अभियान चलाउनु पर्छ ।’
नगरपालिकाले गर्ने हरेक क्रियाकलापमा यो अभियानलाई जोड्ने योजना छ । नगर क्षेत्रभित्रका संघ संस्थालाई समेत वातावरणको संरक्षणमा जोड्ने योजना नगरपालिकाले बनाएको छ । ‘एक संस्था एक पार्क’ निर्माण गर्ने कार्यक्रम ल्याईने छ’ श्रेष्ठ भन्छन् ‘सामान्य प्रयासले मात्रै धेरै काम गर्न सकिन्छ ।’ वन्यजन्तु र वातावरण संरक्षणलाई सँगै लैजाने योजना बनाएको नगरले सामुदायिक वन विकास कार्यक्रमलाई उत्पादन र रोजगारीसंग जोड्न भनेको छ । कृषि बालीमा हानी पु¥याउने बाँदर लगायतका जीवजन्तुलाई प्राकृतिक रुपमा नियन्त्रण गर्न ‘फुड फरेष्ट’ कार्यक्रम संचालन गर्ने योजना नगरले बनाएको छ । बाँदर प्रभावित क्षेत्रहरुमा टिमुर, ओखर, कागती, अदुवा, बेसार, केरा खेती, मौरीपालन र पशुपालनलाई प्रवद्र्धन गरिने नगरप्रमुख श्रेष्ठले बताए ।
नगरक्षेत्र भित्रका महत्वपूर्ण ताल तलैया, कुवा, पोखरी लगायत प्राकृतिक जलाशयहरुको संरक्षण गरी जलाधार संरक्षणमा सहयोग पु¥याउन एक वडा एक पोखरी कार्यक्रम संचालन गरिने उनले जानकारी दिए । वरपिपल, स्वामी लगायतका वृक्षहरु र परम्परागत चौतारी, पोखरीको संरक्षण र सम्वद्र्धन गर्ने योजना रहेको श्रेष्ठले जानकारी दिए ।





