पोखरा/ नेपाली कांग्रेसका कार्यकर्ता किर्तिवल्लभ त्रिपाठीले गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र उनका बुवा गोवद्र्धन शर्माको तस्वीर फेसबुकमा पोष्ट गरेर लेखेका छन्‘मुख्यमन्त्रीज्यु, तपाइले आफ्ना स्वर्गीय पिता गोवद्र्धन शर्माको स्मृति कोष बनाउन राज्यकोषबाट बजेट विनियोजन गर्दा तपाइका स्वर्गीय पिताजीको आत्माले पक्कै धिक्कार्ला ।’
गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएपछि विश्वासको मत लिँदै गर्दा निवर्तमान मुख्यमन्त्री एवं एमाले नेता पृथ्वीसुब्बा गुरुङले भनेका थिए,‘गोवद्र्धन शर्माको छोरालाई मैले अविश्वास गर्नुपर्ने कुनै कारण छैन ।’
गण्डकीको राजनीतिक इतिहासमा गोवद्र्धन शर्माको योगदान उनका पार्टी नेपाली कांग्रेसले मात्र होइन, विपक्षीले पनि उत्तिकै श्रद्धा गर्छन् । जसको पुष्टि आफैलाई सरकारबाट हटाएर मुख्यमन्त्री बन्न सफल भएका कृष्णचन्द्रले विश्वासको मत माग्दा संसदमा गुरुङले दिएको अभिव्यक्तिले गर्छ ।
गोवद्र्धन शर्मा २००७ सालमा विपी कोइरालाले आह्वान गरेको सशस्त्र क्रान्तिमा सहभागी योद्धा थिए । पञ्चायतकालमा देश निकाला हुँदासमेत लोकतन्त्रका प्रति गोवद्र्धनका विश्वास डगमगाएन । भारतमा निर्वासित जीवन विताउँदा गोवद्र्धनले माइला छोरा कृष्णचन्द्रलाई पनि सँगै लगेका थिए ।
मुख्यमन्त्री हुनुअघिसम्म कृष्णचन्द्रको स्वाभिमान, इमान र निष्ठा पनि बुवा गोवद्र्धनकै जस्तो रहेको प्रचार गरिएको थियो । बुवाको निष्ठा संझिएरै होला, कांग्रेस कार्यकर्ता त्रिपाठीले फेसबुकमार्फत छोरा कृष्णचन्द्रलाई पिताजीको आत्माले धिक्कार्ला भनेर संझाएका छन् ।
कांग्रेस राजनीतिमा बुवाकै योगदानका कारण कृष्णचन्द्र र उनका परिवारले प्रशस्त अवसर पाएका छन् ।
नेपाली कांग्रेस नवलपरासीको चार कार्यकाल सभापति बनेका कृष्णचन्द्र अहिले दोस्रो पटक पार्टीको केन्द्रिय सदस्य छन् । संविधान सभादेखि २०७४ को प्रदेश सभाको संसदीय निर्वाचनमा टिकट पाएका उनलाई गण्डकी प्रदेश सभा संसदीय दलमा कसैले चुनौती दिएनन् ।
एमाले र माओवादी मिलेर बनेको नेकपाको सरकार हुँदासम्म कांग्रेस नेतृत्वमा सरकार बन्ने संभावना कसैले सोचेका थिएनन् । किनकि, प्रदेश सभामा नेकपाको दुइतिहाई बहुमत थियो, उसलाई अरु दलको समर्थन पनि आवश्यक थिएन ।
नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलमा पार्टी सभापति शेरबहादुर देउवा पक्षको बहुमत अहिले पनि छ । त्यतिबेला बहुमत सांसदले हस्ताक्षर बोकेर सभापति देउवालाई संसदीय दलका नेता परिवर्तन गर्न मागपत्र लिएर गएका थिए । देउवाले गोवद्र्धनका छोरालाई हटाउने यस्ता कुरा लिएर नआउनु भनेर हप्काएको कांग्रेसकै केही सांसदहरु बताउँछन् । कांग्रेस संसदीय दलमा १५ जना छन् जसमा बरिष्ठ नेता रामचन्द्र पौडेल र सशाङ्क कोइराला पक्षमा ४ जना र बाँकी ११ जना देउवा पक्षका छन् ।
बुवाको योगदानकै स्मरणमा कृष्णचन्द्र मात्र होइन, उनका दाजुभाइले पनि यथेष्ट अवसर पाएका छन् । उनका दाजु रामचन्द्र पोखरेल संविधान सभा सदस्य र नेपाली कांग्रेस केन्द्रिय कार्यालयका लामो समय सचिव भए । उनका भाई डा. जगदीशचन्द्र पोखरेल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भए ।
मुख्यमन्त्रीका रुपमा पोखरेलको कार्यकाल आउँदा मंसिरसम्म मात्र छ । उनले बनाएको बजेट र कार्यक्रम यही अन्तिम हुन् । मंसिरमा सांसदको कार्यकाल सकुनुअघि नै निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले सरकारलाई सुझाव दिइसकेको छ ।
प्रदेश सरकारको नेतृत्वमा आएपछि दोस्रो बजेट बनाउन पाएका मुख्यमन्त्री पोखरेलले गण्डकीका लागि अविराम छाप छाड्ने योजना ल्याउन सक्थे । थोरै बजेटले धेरै र दीर्घकालसम्म स्मरण हुने काम गर्न सक्थे । तर उनले यतातिर ध्यान दिएनन् । उनको ध्यान व्यक्तीका नाममा खोलिएका ट्रष्ट र पार्क बनाउनतर्फ सोझियो ।
आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमार्फत कृष्णचन्द्रले बुवा गोवद्र्धन शर्माका तनहुँको व्यास नगरपालिका–१० मा खोलिएको कोषका लागि ५० लाख रूपैयाँ विनियोजन गरे । सामाजिक विकास कार्यालय तनहुँमा गएको बजेटमा सबैभन्दा धेरै रकम नै यही शीर्षकमा राखियो ।
यस्तै, मुख्यमन्त्री पोखरेलकै बुबाको नाममा दमौली अस्पतालमा रहेको ‘गोवद्र्धन शर्मा मेमोरियल आँखा उपचार तथा अनुसन्धान केन्द्र’ स्थापनाको सम्भाव्यता अध्ययन गर्न १० लाख रुपैयाँ विनियोजन गरे । यसले उनको राजनीतिक आस्था र निष्ठामाथि नै प्रश्न उठाएको छ भने पार्टीभित्रकै नेता तथा कार्यकर्ताले व्यापक विरोध गरेका छन् । यसअघि मन्त्रिपरिषदबाट नै सो प्रतिष्ठानको नाममा जग्गा पास गर्दा रजिष्टे«सन शुल्क मिनाहा गरिएको थियो ।
मुख्यमन्त्री पोखरेलले मात्र होइन, अरु मन्त्री र सांसदले पनि यस्तै प्रकृतिका कार्यक्रममा बजेट खन्याएका छन् । सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले बुवाका नाममा खोलिएको २ वटा कोषमा ५०÷५० लाख गरी १ करोड विनियोजन गरेका छन् । मन्त्री श्रेष्ठले आमा बुवा ‘पुननारायण–धनकुमारी श्रेष्ठ परोपकारी ट्रष्ट’लाई ५० लाख र बुवाका नाममा खोलिएको कोषमा ५० लाख बजेट राखेका छन् ।
राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता पियारी थापाले पनि आफ्नै कोषका लागि बजेट विनियोजन गराउन सफल भएकी छिन् । पियारी संरक्षक र उनका श्रीमान हेमराज पुन ‘आश्रम’ अध्यक्ष भएको कोषलाई विगत २ बर्षदेखि लगातार बजेट पाइरहेका छन् । उनीहरुको विवाहमा १० हजार रुपैया राखेर शुरु गरेको उक्त व्यक्तिगत कोषमा गत आर्थिक बर्ष १० लाख, चालु आर्थिक बर्ष ५० लाख र आगामी आर्थिक बर्षका लागि ६० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
यस्तै, कांग्रेसका पूर्व केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीका पिता अमृतप्रसाद जोशीका नाममा स्मृति पार्क बनाउन २० लाख, पर्वतकै कांग्रेस नेता डिल्लीराम लामिछानेको नाममा २० लाख, विपी कोइराला स्मृतिका नाममा १२ ठाउँका लागि १ करोड ३० लाखलगायतका शीर्षकमा बजेट विनियोजन भएका छन् ।
प्रदेश सरकारले वार्षिक कार्यक्रममा छुटेको भन्दै २७ करोड विनियोजन गरेर ल्याएको सेतो किताबमा यस्ता योजना बग्रेल्ती छन् । उक्त पुस्तकमा व्यक्तिका नाममा खोलिएका कोष र पार्कका लागि मात्र १० करोड विनियोजन गरिएको छ । जुन रकम आम नागरिकले अनुभुति गर्न सक्ने गरी योजना कार्यान्वन गर्न पर्याप्त हुने आलोचकहरु बताउँछन् ।
संवैधानिक सिमा अनुसार असार १ मा प्रदेश सभामा सरकारले ३५ अर्ब ९० करोड ९० लाख रुपैयाको बजेट पेश गरेको थियो । उक्त बजेटमा २ अर्ब घाटा छ, जुन नेपाल सरकार र आन्तरिक ऋण लिएर पुरा गर्ने बजेटमा उल्लेख छ । प्रदेश सरकारले ऋण लिएर घाटा बजेट ल्याउने र आफन्तका मुर्ति, कोष र पार्क जस्ता अनुत्पादक क्षेत्रमा विनियोजन गर्नु अराजनीतिक र अनैतिक भएको विष्लेषण हुन थालेका छन् ।
आफन्तका नाममा बजेट दिएपछि कांग्रेस लमजुङका कार्यकर्ता दीपक अधिकारीले पनि प्रदेश सरकारको आलोचना गरेका छन् । उनले मुख्यमन्त्रीलाई संवोधन गरेर भनेका छन्, ‘पूर्वी लमजुङ जोड्ने सबैभन्दा छोटो सडक भोटेवडार– बेलघारी–भारते–गौंडा स्तरोन्नति गर्न प्रदेश सरकारले मात्र १० लाख विनियोजन गरेको देख्न पाइयो । तपाइका मन्त्री र सांसदका आफन्तजनका शालिक बनाउनुछ भने यो बजेट पनि त्यहीं खर्च गर्नुहोला । तपाइका कनिके बजेट हामीलाई चाहिन्न ।’
पोखराका नागरिक अगुवा रामबहादुर पौडेलले प्रदेश सरकारले ल्याएको यस्तो बजेटका विरुद्ध सडक आन्दोलनमा जानुपर्ने धारणा राख्छन् । आफ्ना बाआमाका नाममा ट्रष्ट खोलेर राज्यको ढुकुटीबाट एक करोड रकम जम्मा गर्ने गण्डकीका मन्त्रीहरुले राजिनामा दिनुपर्ने उनले माग गरेका छन् ।
नेपाली कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले व्यक्तिका नाममा खोलिएका कोष र पार्कलाई विनियोजन गरेको बजेट विकासमा खर्च गर्न निर्देशन दिएका छन् । प्रदेश सरकारले ल्याएको बजेटप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै उनले विज्ञप्ति जारी गरेर भनेका छन्, ‘राजनीतिक योद्धा तथा सामाजिक व्यक्तित्वका नाममा गरिने प्रीतष्ठानका कार्य राम्रो भएपनि नागरिकले पिउने पानी, बाटो, बिजुली, बाढी पहिरो नियन्त्रण, सिँचाइ जस्ता संवेदनशील योजना माग भई आउँदा बजेट अभावकै कारण योजना पर्न सकेको छैन । प्रदेश सरकारले उक्त कार्यक्रम अविलम्ब सच्याई आम नागकिको धारणा बमोजिम विकासमा रकम विनियोजन गर्नुहोला ।’
विज्ञप्तिमा देशको आर्थिक अवस्था कमजोर भएका बेला नागरिकले आफुले तिरेको करबाट जो कसैको नाममा सरकारी रकम खर्च गरिनु आमचासोको विषय बन्नु स्वभाविक भएको उल्लेख छ । आम नगरिकको व्यापक असन्तुष्टी तत्काल सच्याउन पनि विज्ञप्तिमार्फत भनिएको छ ।
सरकारमा भएका व्यक्तिले आफ्ना बुवाआमाको नाममा बजेट खर्चनु अख्तियारको दुरुपयोग भएको प्रमुख प्रतिपक्षी एमाले नेता किरण गुरुङले बताए । गण्डकीका पूर्व अर्थमन्त्रीसमेत रहेका गुरुङले भने, ‘हाम्रा बाआमाका नाममा स्मृति प्रतिष्ठिान बनाउने भनेर सरकारी ढुकुटी खर्च गर्न पाइदैन, जनताको रगत र पसिनाबाट जम्मा भएको रकम व्यक्तिगत हितमा खर्चनु अख्तियारको दुरुपयोग हो ।’
उनले आफ्ना आमाबुवाको स्मृति कायम राख्न आप्mनै व्यक्तिगत सम्पत्ति लगाउन सुझाव दिए । अहिलेको आर्थिक संकटमा सरकारले विकासका योजनामा ५० हजारदेखि २, ३ लाखका योजना ल्याउनु तर व्यक्तिगत कोषका लागि लाखौं, करोडौं विनियोजन गरेर सरकारमा बसेकाहरुले अनैतिकता प्रदर्शन गरेको उनको आरोप छ ।
बजेट सच्याउन सरकारले पटक पटक आग्रह गरेपनि अटेरी गरेको भन्दै उनले अब बजेट बहिष्कार गर्ने बताए । प्राकृतिक स्रोत तथा वित्त आयोगले दिएको सिलिङ नाघेर बजेट बनाएको, प्रदेशको कानुन, कार्यविधि, सिद्धान्त र वित्तीय अनुशासन पनि बजेटमा उल्लङ्घन गरिएको उनले आरोप लगाए ।
‘यो बजेट आफैमा बेथिति हो, कुनै कानुनको पालना गरेको छैन,’ उनले भने, ‘हामी अब बजेट बहिष्कार गर्छौ ।’




