पोखरा, २८ असार– गण्डकी सरकारले व्यक्तिका नाममा बजेट विनियोजन गरेकामा व्यापक विरोध सुरु भएको छ । पोखरा महानगरले आसेपासेलाई सरकारी जग्गा दिएको विरोधमा नागरिक समाज कास्कीले धर्ना दिएको छ भने एमाले निकट अखिलले व्यक्तिको नाममा पैसा दिइएको विरोधमा एक रुपैयाँ दान अभियान चलाएको छ । नागरिक अभियन्ताले पोखराको शहीदचोकमा धर्ना दिँदै दिँदै अनियमितता र भ्रष्टाचार रोक्न माग गरेका हुन् । अखिलले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठको माक्स लगाउँदै चन्दा अभियान सुरु गरेको हो ।
नागरिक समाजको धर्नामा सहभागीहरुले राज्यकोषको मनपरितन्त्र बन्द गर, सरकारी सम्पत्ति संरक्षण गर, बजेट बाँडफाँडमा भेदभाव अन्त्य गर, राज्यको ढुकुटी दोहन बन्द गर, भ्रष्टाचारमुक्त समाज निर्माणमा योगदान पु¥याऔं, तिम्रा ट्रष्टमा राज्यको बजेट भ्रष्टाचार कि सदाचारलगायत नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।
धर्ना पश्चात बोल्दै नागरिक समाज कास्कीका संयोजक इन्द्रकमल मानन्धरले व्यक्तिका लागि देशको सम्पदा बिक्री गर्ने काम भइरहेको बताइन् । पोखरा महानगरले आसपासेलाई सरकारी सम्पत्ति दिएको भन्दै पटक–पटक ध्यानाकर्षण गराउँदासमेत सुनुवाई नभएको बताइन् ।
‘राजनीति भनेको नागरिकको सेवा गर्न भन्दा पनि व्यापार गर्न आएको देखिएको छ,’ उनले भनिन्, ‘देशको सम्पत्ति आसेपासेलाई बेच्ने र ढुकुटीबाट करोडौं रुपैया व्यक्तिका नाममा छुट्याएको छ, यो एकदम दुखद कुरा हो ।’
राजनीति गर्नेहरुले राष्ट्रको धन व्यक्तिलाई दिने र सरकारी सम्पत्ति आसेपासेलाई विक्री गर्न हुँदैन भन्ने कुरा जान्न जरुरी रहेको उनले बताइन् । उनले भनिन्, ‘गण्डकीका जनता भन्न पनि हामीलाई लाज लाग्ने भइसक्यो, देश सम्पत्ति दुरुपयोग गर्न हुँदैन भनेर उहाँहरुले जान्नुपर्दैन ?’
धर्ना पश्चात बोल्दै वरिष्ठ अधिवक्ता तिलक पराजुलीले राणा शासन र राजा फाल्दासमेत आम नागरिकले सुविधा पाउन नसकेको बताए । ‘अहिले सबैतिर राजा छन्’, उनले भने, ‘जनतालाई रैती संझेका छन् ।’
गण्डकी सरकारले व्यक्तिका नाममा रकम छुट्याएको भन्दै आम नागरिकले विरोध जनाएपछि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्ना बुबा र सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठका बवाआमाका नामम छुट्एको रकम फिर्ता गर्ने बताएका छन् । मुख्यमन्त्री पोखरेलले बुवाका नाममा २ वटा शीर्षकमा ६० लाख र मन्त्री श्रेष्ठले पनि २ वटा शीर्षकमा १ करोड रुपैयाँ बजेट विनियोजन गरेका थिए ।
मुख्यमन्त्री पोखरेलका सचिवालयले आइतबार राती विज्ञप्ती जारी गरेर आप्mना बुबा र मन्त्री श्रेष्ठका बुवाआमाका नाममा विनियोजन बजेट प्राथमिकताका आधारमा विकासका काममा खर्च गर्ने निर्णय गरेको बताएका थिए ।
तर, अन्य नेता र सांसदका आफन्त तथा कार्यकर्ताका नाममा विनियोजन गरिएका बजेटबारे विज्ञप्तीमा उल्लेख छैन । जनमोर्चा सांसद पियारी थापा संरक्षक र उनका श्रीमान हेमराज पुन ‘आश्रम’का नाममा १ करोड ३० लाख लगायतका नाममा विनियोजित बजेट सरकारले अझै फिर्ता गरेको छैन । यस्तै, जनता समाजवादी पार्टीका सांसद धनमाया लामा पोखरेलले जेठाजुका नाममा खोलिएको प्रतिष्ठानका लागि ५० लाख विनियोजन गराएकी छिन् ।
धर्नामा सहभागी युवा अभियन्ता अशोक खड्काले व्यक्तिका नाममा राज्यकोषबाट विनियोजित सबै बजेट फिर्ता हुनुपर्ने बताए । एमाले निकट अनेरास्ववियुले संचालन गरेको १ रुपैयाँ दान अभियान भने निरन्तर चल्नेछ । मंगलबार पोखराको रत्नचोकबाट प्रदेश सरकारलाई बुझाउन भन्दै सुरु भएको एक रुपैया दान अभियानबाट उठेको रकम सरकारका मुख्यमन्त्री तथा मन्त्रीलाई प्रदान गर्ने कार्यक्रम रहेको अनेरास्ववियुका नेता आरके पोखरेलले जानकारी दिए ।




