पोखरा/ श्रीपति कोइराला गुठी पोखराले यसै वर्ष स्थापना गरेको श्रीपति सामाजिक पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार कृष्णप्रसाद बास्तोलालाई सम्मानित हुने भएका छन् । उनी पोखराबाट प्रकाशित हुने आदर्श समाज राष्ट्रिय दैनिकका प्रधानसम्पादक पनि हुन् ।
गुठीले ११५ औं श्रीपति जयन्ती अवसरमा सोमबार आयोजित कार्यक्रममा उक्त घोषणा गरेको हो । पुरस्कार घोषणा गर्दै गुठीका अध्यक्ष लक्ष्मण कोइरालाले पुरस्कार गुठीको ३० औं वार्षिक साधारणसभामा प्रदान गरिने जानकारी दिए । श्रीपति सामाजिक पत्रकारिता पुरस्कारको राशि २२ हजार २ सय २२ र सम्मानपत्र छ ।
गुठीबाट संचालित श्रीपति समाजसेवा पुरस्कार–२०७९ सर्लाहीको लालबन्दी नगरपालिका–२ जुटपानीस्थित पदम भुवनेश्वरी नमुना वृद्ध सेवाश्रमलाई प्रदान गरिने भएको छ । श्रीपति समाजसेवा पुरस्कारको राशि २ लाख २२ हजार २ सय २२ र सम्मानपत्र रहेको छ । यसअघि उक्त पुरस्कारबाट अनुराधा कोइरालाद्वारा स्थापित माइती नेपाल र महावीर पुनबाट स्थापित राष्ट्रिय आविष्कार केन्द्र काठमाडौं सम्मानित भैसकेका छन् ।
सर्लाहीको पद्म भुवनेश्वरी नमुना वृद्ध सेवाश्रम लामो समयदेखि ज्येष्ठ नागरिक तथा अशक्त, असहाय एवं वेवारिसे नागरिकको सेवामा समर्पित छ । १९९० सालको आसपासमा विभिन्न स्थानमा पाटी पौवा स्थापना गरी सामाजिक क्षेत्रमा अतुलनीय योगदान पु¥याएका श्रीपति कोइरालाको स्मृतिमा २०४९ सालमा स्थापित श्रीपति कोइराला गुठी पोखराले पुरस्कार तथा छात्रवृत्ति लगायत विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ ।





