पोखरा – नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शंकर पोखरेलले इतिहासको भारीबाट थिचिएर क्रान्तिकारीहरु अगाडि बढ्न नसक्ने वताएका छन् ।
‘राजनीतिक यात्रामा इतिहासको भारी बोकेर अगाडि बढ्न सकिदैन’, एमाले महासचिव पोखरेलले शनिवार पोखरामा आयोजित एमाले गण्डकी प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै भने, ‘इतिहासको सम्मान गर्ने हो तर कामलाई नयाँ गतिकासाथ अगाडि बढाउनु पर्दछ । क्रान्तिकारीहरु भारीबाट थिचिएर होइन, सिर्जनात्मक रुपमा अगाडि बढ्छन ।’
स्थानीय चुनावमा पहिलो पार्टी भएकोमा गर्व गर्न सक्नुपर्ने वताउदै उनले कार्यकर्तालाई निरास भएर होइन, उत्साह लिएर अगामी संघ र प्रदेशको चुनावको तयारीमा लाग्न निर्देशन दिए ।
एमालेले बैचारिक रुपमा राष्ट्रको नेतृत्व गरेको स्मरण गर्दै त्यो सन्देशलाई आम जनताको विचमा पुराउन जोड दिए ।
वर्तमान सत्ता गठवन्धन विकासका लागि नभएर स्वार्थको गठजोडमा बनेको आरोप लगाउदै एमाले महासचिव पोखरेलले यो एक बर्षको अवधिमा राष्ट्रको सोधानान्तर स्थिति घाटामा गएको सुनाए । उनले एमालेले सत्तामा छदाँ यो अवस्था बचत भएकोले आर्थिक अवस्था सुदृढ रहेको वताए ।
पार्टीबाट माधव नेपाल र झलनाथ खनालहरु वाहिरिए पनि अवसरवाद र अराजकतावाद आफुभित्रै रहेकोले त्यसको अन्त्य गर्नुपर्ने वताए । स्थानीय निर्वाचनमा पार्टी हारको कारण आन्तरिक पनि रहेको सुनाउदै यो प्रवृतिविरुद्ध लड्न नेता कार्यकर्तालाई निर्देशन दिए । कमिटीमा रहेर जिम्मेवारी छैन भन्ने गुनासो गर्न नपाईने वताए ।
गण्डकी प्रदेश कमिटीको ११औं बैठकमा पार्टी उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव पद््मा अर्याल लगायतका केन्द्रिय नेताहरु सहभागी भएर महासचिवको मन्तब्य ध्यानपूर्वक सुने पनि बैठकमा वोल्ने समय उनीहरुले पाएनन् ।
एमाले गण्डकी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको बैठकमा पार्टीका जिल्ला अध्यक्ष र इन्चार्जहरुले रिर्पोटिङ गरेका थिए । उनीहरुले स्थानीय तह निर्वाचनको समिक्षा, पार्टीको अवस्था, जिल्लाको राजनीतिक शक्ति सन्तुलन र आगामी कार्ययोजनाको वारेमा वोलेका थिए । वैठकको सञ्चालन सचिव धनञ्जय दवाडीले र स्वागत उपाध्यक्ष मोहन रेग्मीले गरेका थिए ।
प्रदेश कमिटी वैठकले स्थानीय तहको समिक्षा गर्दै भावी कार्ययोजना निर्माण गरेको गण्डकीका उपसचिव तथा प्रचार विभाग प्रमुख रश्मी आचार्यले वताए । उनका अनुसार साउन ८ गते प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रम, साउन १७ गते जनसंगठनको भेला र साउन २८ गते जनप्रतिनिधीको भेला आयोजना गर्ने निर्णय बैठकले गरेको छ ।




