बागलुङ/ धार्मिक गन्तव्यको रुपमा विकास भएको शालीग्राम संंग्राहलय भारतीय पर्यटकको समेत रोजाइमा पर्न थालेको छ । भक्तजन र पर्यटकले दैनिकजसो संग्राहलयमा भीड लाग्न थालेको हो । भीडमा भारतीय नागरिक समेत प्रसस्त देखिन्छन् । पछिल्लो समय ७ देखि १० दिनको प्याकेज बनाएर नेपाल घुम्न आउनेले मुक्तिनाथपछि शालीग्राम संग्राहलयलाई भ्रमण केन्द्र बनाएका हुन् ।
मुक्तिनाथ पुग्ने हरेक पर्यटक र भक्तजन भित्राउने गरी बनेका संरचना र धार्मिक महत्वका स्थलको प्रचारपछि दैनिक भीड लाग्न थालेको शालीग्राम संग्राहलयका संरक्षक ऋषि प्रपन्नाचार्यले बताए । ‘हामीले पर्यटक भनेका छैनौं, भक्तजनहरु धेरै नै आउनु भएको छ’, उनले भने, ‘आएका भक्तजनलाई सके एकरात राख्ने, नसके प्रसाद वितरण गरेर मात्रै बिदाइ गर्छाँै ।’ बागलुङ नगरपालिका वडा नंं ४ को कुडुले फेदीमा तीन वर्षअघि नै झण्डै २ करोड लागतमा संग्रहालय बनेको छ । मन्दिर र अन्य संरचना समेत गर्दा १० करोडबढी लगानी भएको हो ।
संग्रहालयमा बाघको मुखाकृति पनि बनाइएको छ । उक्त चित्रले धेरैको ध्यान तानेको स्थानीय दिनेश सापकोटाले बताए । ‘बागलुङको पहिचान भएका केही तथ्यमध्ये बाघको पनि इतिहास देखियो, त्यसैले हामीले पनि मुखाकृति बनाएका हौं’, ऋषि प्रपन्नाचार्यले भने, ‘यो साहसको प्रतिक पनि हो ।’ यहाँ रंगविंंकटेश्वर मुक्तिनारायण मन्दिरसहित मुक्तिनाथ वेद विद्याश्रम पाठशाला समेत संचालनमा छ । धार्मिक यात्रीले यहाँ आएर सबै क्षेत्रको अध्ययन र दर्शनसमेत गर्न पाउने उनले बताए ।
भारतको मायापुरबाट आएका माधव हरिदासले शालीग्राम संग्राहलय घुम्दा शान्ति मिलेको बताए । उनले संसारभर घुमेर पनि एकलाख शालीग्राम एकै स्थानमा दर्शन गर्न नपाएको भन्दै यो अवसर यहाँ आएर मिलेको बताए । यहाँ सुरुङ भित्र एकलाख बढी शालिग्राम संग्रह गरेर राखिएको छ । ‘यो स्थानको प्रचार भएको रहेनछ्, हामी त मुक्तिनाथ गएर फर्कंदा थाहा पायौं’, उनले भने, ‘हामीले फर्केर प्रचार गर्छौ ।’ उनको टोलीमा आएका २० जनाले संग्रहालय घुमेर एक दिन बसेपछि मात्रै गन्तव्यमा लागेका छन् । वैशाख र जेठको पहिलो साता यहाँ २ सय बढी भारतीय पर्यटक आएका छन् भने दैनिक दुई सय बढी आन्तरिक पर्यटक आउने गरेको संग्रहालय व्यवस्थापन समितिका सचिव रामप्रसाद शर्माले जानकारी दिए ।
जनकपुृर, लुम्बिनी, पशुपति र मुक्तीनाथको यात्रामा आउने धेरै भक्तजन र पर्यटकले बागलुङको शालिग्राम संग्रहालयलाई प्राथमिकतामा पारेका हुन् । भक्तपुरका बरुणगोपाल श्रेष्ठले पहिलो पटक शालीग्रामको संग्रह देख्न पाएको भन्दै आफ्ना टोल छिमेकीलाई पनि घुृम्न पठाउने बताए । ‘पत्रपत्रिकामा कालिकाको समाचार पढेको थिएँ, यहाँ आएपछि संग्रहालय पनि घुम्ने मौका मिल्यो’, उनले भने, ‘यस्ता क्षेत्रलाई राज्यले पनि संरक्षण गर्नुपर्छ ।’ यहाँ भने केही स्थानीय सरकारको लगानीमा चन्दा थपेर संग्रहालय सहितका संरचना बनेका हुन् ।
यहाँ निर्माणाधिन पञ्चकोट, संसारकोट र कारीकोट लगायतका स्थानमा पनि पर्यटक आउने क्रम बढीरहेको छ । बागलुङमा एक दिन बस्नेगरी आउने पाहुनाले होटल भरिभराउ हुने गरेको व्यवसायी अर्जुन चोखालले बताए । ‘कुनै दिन होटलमा बास दिन नसकेर घरघरमा पाहुना पठाउनु परेको छ’, उनले भने, ‘आएका पाहुनाले धार्मिक स्थल बढी रोजेका छन् ।’





